Saturday, November 20, 2010
सूचना
Thursday, November 18, 2010
गजलको गरिमा
-नदीश
सामान्यतया शेरहरुमा रदीफ र काफियाको समिश्रणलाई गजल भनिन्छ र यसको गलत व्याख्या गरिन्छ । अन्त्यानुप्रयास मिलाएकै भरमा यदि सुन्दर कविता निर्माण हुन सक्छ भने यो मान्यतालाई पनि सही भन्न सकिएला । हो पक्कै पनि रदीफ र काफिया गजलको आत्मा हो तर यसले मात्रै गजलको मर्मलाई पूरा गर्न सक्दैन । गजलका केही मापदण्डहरु छन् जुन गजलकारले पुरा गर्नु आवश्यक छ ।
संरचनात्मक स्वतन्त्रता अर्थगत अधीनता :
प्रत्येक मिसराहरु व्याकरणीय दृष्टिकोणबाट स्वतन्त्र हुनु जरुरी छ । नेपालका कैयन गजल हस्तीहरुपनि यो मान्यताबाट टाढै देखिन्छन् । एउटै वाक्यजस्ता लाग्ने शेरहरुले गजलको मान्यतालाई उल्लङ्घन गरिरहेको हुन्छ । शेरको माथिल्लो भाग (मिसरा ए उला) एउटा स्वतन्त्र वाक्यजस्तो सुनिनुपर्छ जसले केही कुरा मागिरहेको हुन्छ र त्यसलाई शेरको तल्लो भाग (मिसरा ए सानी)ले पूरा गरिदिनुपर्छ । संरचनात्मक दृष्टिकोणमा स्वतन्त्र वाक्यजस्तो तर अर्थगत रुपमा एक अर्काको अधीनमा हुने गजलको द्वन्द्वात्मक प्रकृतिलाई हामी संरचनात्मक स्वतन्त्रता अर्थगत अधीनता भन्छौँ ।
साङ्गीतिक चेतना वैचारिक गहनता :
गजल मुख्यतयः ग्येय विधा हो । गजल श्रृजनाको क्रममा गजलकारभित्र साङ्गीतिक चेतना हुनु जरुरी छ । कुनैपनि पाठकले पढ्दा शेरहरु बिनाअवरोध बग्नुसक्नुपर्छ । अफ्ठ्यारा शब्दहरुको प्रयोगले गजलमा अबरोध उत्पन्न गर्छ । गजलको पहिलो शेर जुन किसिमको साङ्गीतिक कल्पनाबाट लेखिएको छ त्यसलाई सम्पूर्ण शेरहरुमा निरन्तरता दिनुसक्नुपर्छ फलतः कुनै पनि शेरहरुमा शब्दहरुको कमी या बढी महसुस नहोस् । अर्को कुरा गजलले उठान गर्ने विषयबस्तु हल्का हुनु हुँदैन । सरल शब्दमा सरल विम्व र प्रतीकको प्रयोगबाट गहन अर्थ दिन सक्नुपर्छ गजलले र यो मानेमा गजल कवितासँग मिल्दोजुल्दो हुनुपर्छ ।
उपयुक्त रदीफ र काफियाको छनौट :
काफिया मिलाउने नाममा गजलकारले आफ्नै किसिमका बिनाअर्थका शब्दहरु श्रृजना गर्नु आफ्नै गजलको हत्या गर्नु हो । प्रयोग भइरहने तथा हल्का काफियाबाटपनि गजलकार मुक्त हुनुपर्छ । नयाँ रदीफ र काफियाको प्रयोगले गजलमा मीठासता ल्याउनुको साथै गजलमा नयाँपन आउँछ ।
यसको अलवा गजलले प्रेम प्रणयका कुराहरुलाई मात्रै समेट्नुपर्छ भन्ने रुढीबादी मान्यतालाईपनि तोड्नु आजको आवश्यकता हो । साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ र गजल साहित्यको एउटा महत्वपूर्ण अङ्ग हो । गजलमा खाली कोरा प्रेम-प्रणयका कुरा मात्र ओकल्नुभन्दा परिवर्तनका आवाजहरु पस्केर अझै सुन्दर र शक्तिशाली बनाउन आजैदेखि पाइला चाल्ने कि ?
Wednesday, November 17, 2010
सङ्घर्षका कथाहरु
नचढ भन्छौ चढिरहन्छौँ राता सगरमाथाहरु
थाक्दैनौँ हामी यात्रामा लक्ष नभेटुन्जेल
नहिँड भन्छौ हिँडिरन्छौँ पन्छाउँदै बाधाहरु
छुट्दैनौँ एक-आपसमा गन्तव्य हो परिवर्तन
नजुट भन्छौ जुटिरहन्छौँ अनगिन्ति साथहरु
जेल-नेल हत्कडी तोडेर अघि-अघि
नबढ भन्छौ बढिरहन्छौँ बोकेर आस्थाहरु
Monday, November 8, 2010
गदार भयो शहरमा
Saturday, November 6, 2010
रश्मि झुल्केका रातहरु प्रकाशित
सङ्ग्रहमा समाविष्ट अधिकांश गजलहरु उत्पीडित वर्ग, लिङ्ग, जाति र क्षेत्रको पक्षमा उभिएका छन् । सुदीप सुवालको अर्थपूर्ण आवरण र मिडिया प्लसको आकर्षक डिजाइनले सङ्ग्रहलाई थप ओजपूर्ण बनाएको छ ।
Sunday, October 31, 2010
छिरिबुङ
मेरो सपनाको बिहान
ओ छिरिबुङ !
घाउ थियो मनमा, जो बल्झिरहन्थ्यो
जीवन थियो भीरमा, त्यो अल्झिरहन्थ्यो
मुटुको टुक्रा मान्थ्यौ
जिउने आधार ठान्थ्यौ
ओ छिरिबुङ !
खालि रहेछ जन्म, जीवन भरिदियौ
फूल त रहेछ जीवन, आखिर झरिदियौ
तिम्रो स्नेहले डोर्याइरहेछ
तिम्रो बास्नाले पछ्याइरहेछ
ओ छिरिबुङ !
*सुनाखरी फूल
Tuesday, October 26, 2010
बैश बेचियों !
रहरै रहरमा बैश बेचियों
राराको कुवामा अन्जुली भरेर
खाडीको नहरमा बैश बेचियों
जीवनको मधुरस राखेर धितो
आश्चर्य ! जहरमा बैश बेचियों
जीन्दगी उतै छ,हाउगुजी हाउ
अल्लारे ठहरमा बैश बेचियों
यो पल्ट, शहरमा बैश बेचियों
रहरै रहरमा बैश बेचियों
Sunday, October 17, 2010
ज्यूँदैछु
ढक्ढक्याऊ, ज्यूँदैछु बन्द कोठाभित्र
उज्यालोको आविष्कारमा निदाएछन् आँखा
झक्झक्याऊ, ज्यूँदैछु बन्द कोठाभित्र
छालाहरु उप्क्याइँदैमा लाश बन्दैन क्वै
सुम्सुम्याऊ, ज्यूँदैछु बन्द कोठाभित्र
आँधी यात्रा गर्नेहरु मर्याछैन कैलै
नसुर्ताऊ, ज्यूँदैछु बन्द कोठाभित्र
'नदीश'सँगै पर्खालभित्र कैद भा'छ समय
भत्काइदेऊ, ज्यूँदैछु बन्द कोठाभित्र
Friday, October 15, 2010
झरी पर्यो एकोहोरो
झरी पर्यो एकोहोरो चुहिएको छाना हेर्छु
के-के कोर्यौ दैव मेरो जिन्दगीको पाना हेर्छु
सिस्नु छ तरकारीमा दाल कहाँ पाउनु हजुर
कराइमा तैरिएको सिन्कीको चाना हेर्छु
सिकसिकाउँदै आई छोरी धानै रोपी पराइको
बर्षौँदेखि पखालिएर रङ उडेको नाना हेर्छु
मेरी प्यारी जहानले मनभरिको प्रेम दिन्छे
भकारी त कैले भर्नु रित्तिएको माना हेर्छु
Monday, October 4, 2010
गीत अन्तरकि्रयासँगै छलफल
प्रभासको पहिलो गजलसंग्रहको तयारीको लागी नदिशको संयोजकत्वमा विशद र तारा थुलुङ अथाह सदस्य रहने एउटा टिमको पनि घोषणा गरिएको थियो । साथै www.salambihani.com र वार्षिक विशेष गीत अन्तरकि्रयाबारे पनि गम्भीर छलफल चलेको थियो ।
Friday, October 1, 2010
शब्दशिखामा सिर्जना सागर
Monday, September 27, 2010
२४औँ शृङ्खलामा सिर्जना सागर
Sunday, September 26, 2010
भनेर गएथ्यो
हेर्नु दुःखको सागरबाट
उज्यालो छर्छु भनेर गएथ्यो
तिम्रो सपना पुरा गर्नुछ
एक्लै लड्छु भनेर गएथ्यो
फर्केन छोरो आजसम्म
नजिक पर्छु भनेर गएथ्यो
Sunday, September 12, 2010
मेरी दिदी
आफ्ना दुब्ला-चेप्टा हातका औलाहरु खेलाएर
निकै लामो
नाइल नदिजस्तै लामो
एउटा चुल्ठो बाट्थीन
र चुल्ठोको टुप्पोमा कस्ने गर्थीन
एकहाते सेतो रिबन ।
उनी बगरका वालुवामा लुट्पुटिएर
घण्टौसम्म गँगटासँग
डराउने गरेका ती दिनमा
म रुखको फेदमा बस्थे
र द्रौपतिको चिरहरण सम्झेर तस्रन्थे
उनी जङ्गलमा दिनभर दाउरा खोज्दै
हिड्ने गरेका ती दिनमा
म यता कक्षाकोठामा टोलाउथे
र सिताअपहरणको कथा पढेर झस्कन्थे
उनी गँगटाले टोकेपछि
थोरै सेतो रगत वाक्थीन
उनी वन-काँडाले डसेपिछ
केहिक्षण घुक्क-घुक्क रुन्थीन
उनको त्यो रुवाई
त्यो पिडा
थोरै-थोरै गरी जमेर
एउटा लामो चुल्ठो बनेको थियो
जसको टुप्पोमा उनले
जबर्जस्ती कसेकि थिइन
एकहाते सेतो रिबन ।
उनी चिच्याउन त चिच्याउथीन
तर हसियालाई उनले दाउरा काटेरै मात्र
भुत्ते बनाइन
काँडा ताछ्नुपर्छ भन्ने बुझिनन्
उनी कराउन त कराउथीन
तर नाङ्गा पैतालाले
गँगटाहरु कुल्चिनुपर्छ भन्ने जानिनन्
उनको त्यो चित्कार
त्यो क्रन्दन
बिस्तारै बढेर
एउटा लामो चुल्ठो बनेको थियो
जसको टुप्पोमा उनले
बलफ्जस्ती कसेकि थिइन
एकहाते सेतो रिबन ।
आज मैले
वर्षौपछि भेटे उनलाई
नख्खुजेलभित्र
उनले त्यो फोहोरी चुल्ठो काटेर
लाग्थ्यो कुनै सुन्दर सपनाको लागी
आफ्ना कपालहरुलाई स्वतन्त्र छाडेकी थिइन
र अब सदाका लागि
निधारमा कसेकि थिइन
एकहाते रातो रिबन
Tuesday, September 7, 2010
हजुरको मुलुकमा
के थिएँ कस्तो भएँ हजुरको मुलुकमा
न त हजुर जस्तो भएँ हजुरको मुलुकमा
मुल्य नै छैन मेरो यी मान्छेको बजारमा
के कारण म सस्तो भएँ हजुरको मुलुकमा
कसैको कुरा सुनिन नुनको सोझो गरिन
बहुलाएपछि यस्तो भएँ हजुरको मुलुकमा
नाच्नै जानिन र आँगन टेढो भनेहुँला
गीतबिना पो उस्तो भएँ हजुरको मुलुकमा
Sunday, September 5, 2010
वार्षिक विशेष गजल अन्तरकि्रया (शेर शल्यकि्रया-२) सम्पन्न
कार्यक्रममा प्रत्यक स्रष्टाका गजलहरुमाथी सबै उपस्थित सदस्यहरुले गम्भीर रुपले आलोचनात्मक र रचनात्मक ढङ्गले आफ्ना धारणाहरु राखेका थिए । वर्गीय पक्षधरता, वैचारिक स्पष्टता, सांगीतिक छनकयुक्त लेखाई, संरचनात्मक पूर्णता, काफिया-रदिफमा कौशलता र प्रयोग इत्यादिलाई आधार मानेर सबैले आफ्ना टिप्पणी राखेका थिए ।
गजल विभाग संयोजक नदीश र सदस्य तारा थुलुङ 'अथाह’ ले पालैपालो संचालन गरेको सो कार्यक्रमको अन्तमा उदिम किरातीलाई साधारण सदस्यको रुपमा मनोनयन गरिएको थियो । उपस्थित सबै स्रष्टाहरुले गजलका विविध पक्षको चिरफार गर्न कार्यक्रम निकै सफल रहेको र कार्यक्रम समग्रमा निकै उपलब्धिमुलक भएको धारणा राखेका थिए ।
Monday, August 30, 2010
बिहान सुरक्षित छ
जन्माएको तिमीले बिहान सुरक्षित छ
भाषा बोल्न सिकायौ, लिपि लेख्न सिकायौ
नगर्नू है शङ्का पहिचान सुरक्षित छ
मेटिदैन त्यो रगतले लेखेको इतिहास
परेली नभिजाउनू बलिदान सुरक्षित छ
कसले भन्न सक्छ- मरिसक्यौ तिमी
जब कि तिम्रो निशान सुरक्षित छ
Saturday, August 28, 2010
सिर्जना सागरको २३ औं अंक सम्पन्न, आउदो शनिवार प्रभासको बृहत गजल अन्तरकि्रया हुने
आउदो शनिवार प्रभास-गजल विभागको संयोजकत्वमा वार्षिक गजल अन्तरकि्रया 'शेर शल्यकृया-२' सम्पन्न हुदैछ । उक्त कार्यक्रममा प्रभास-केन्द्रका साथै प्रभास-बाँके, प्रभास-उदयपुरका प्रतिनिधि र प्रभासका साधारण सदस्यहरुको उपस्थिति रहनेछ ।
Monday, August 23, 2010
अमेरिका
आहारा हो
दुबै
कौवा र बकुल्लाको
केवल
फरक त हो रङ्गमा
त्यसैले
महोदय
जर्ज डब्लु बुस सेतो
बाराक हुसेन ओबामा कालो
केवल
फरक यति न हो ।
कविता वाचन तथा अन्तरक्रिया सम्पन्न
Monday, August 16, 2010
ऐतिहासिक सरकार
एक हुल निर्यातित सपना
एक दस्ता यन्त्रमानव
एक क्षेत्र संचालित निवास
एक थान थोत्रो कुर्सी
एक क्यान्टोन्मेन्ट आक्रोश
एक पाना रित्तो संविधान
एक दरबार चलखेल
एक कन्टेनर राजनीति
एक गण बलत्कारी बन्दुक
एक लस्कर रसायनिक बुद्धिजीवी
एक काराघर बन्दी संभावना
एक भवन डेट एक्स्पायर्ड प्रतिनिधि
एक झुण्ड नालायक नेतृत्व
साँच्चै म सहमत छु तिमीहरुसँग
किनकि,
मलाई पनि निसन्देह भन्न मन लाग्छ
एक ऐतिहासिक सरकार ।
हाँस्न बोल्न
हाँस्न-बोल्न रोक छ
घेराबन्दी चोक छ
हेर्दा सुन्दर बाहिर
भित्र अर्को थोक छ
हल्ला मात्र समान
माथिबाटै तोक छ
जाजरकोटे दशै
खुसीभित्र शोक छ
बास्मतीको गफगाफ
कनिकाको भोक छ
शब्दशिखाको गजलविशेष नयाँ अङ्क
प्रभास साहित्यिक समूहको मासिक प्रकाशन शब्दशिखाको एघारौँ अङ्क प्रकाशित भएको छ । गजल विशेष यस अङ्कमा गजलसम्बन्धी नदीशको लेख, गजलसङ्ग्रह 'पलहरु'माथि विशदको टिप्पणी, कपिल अन्जान, राबत, जीवन चाम्लिङ, दिनेश डिसी, मुना निश्चल, सुवास आम्बोटेली, कोपिला थुलुङ आशुतोष, सकुन आँसु, अर्जुन बाराहाली, रमेश स्वप्निल, सम्झना भुजेल, नाकिमा, विपल बोयुङ, मञ्जु मार्मिका, लक्ष्मी अनुपम, विमला केयरलेस(चाम्लिङ भाषा), रिविन्द्र दिखुक्पा बाखाछा(वान्तावा भाषा)का गजल र नियमित स्तम्भहरु समाचारमा साहित्य र पुस्तक परिचयलगायतका सामग्रीहरु समाविष्ट छन् ।
Sunday, August 15, 2010
गद्य विशेष अन्तरक्रिया सम्पन्न
विषयमा छलफल भएको थियो | आगामी शनिवार कविता अन्तरक्रिया सम्पन्न हुदैछ |
Sunday, August 8, 2010
पारिजात
आत्म-विश्वास राखिकन भावसागर तर्ने पारिजात
नेपाली साहित्यकाशमा चम्के धेरै तारागण
नारी वर्ग उत्थानमा अग्रपङ्ती पर्ने पारिजात
मैले नजन्माएको छोरो जन्माएर समाजमा
पारिजात फूलजस्तै समर्पणमा झर्ने पारिजात
रोगले ग्रस्त जीवन बोकी बढिरहिन् सदा
संसारलाई दृढताको पाठ मनमा भर्ने पारिजात
सङ्घर्षको टुसा रोपी चुनौतिमा रमिरहिन्
मनका अकाङ्क्षा कष्ट सही पूर्ण गर्ने पारिजात
Tuesday, August 3, 2010
उठौँ अब सबै हामी
देश व्यापार भो कोही बेच्छन् कोही किन्छन्
असह्य भो कालाबजारीहरुको खिचातानी
बाँच्दैन कोही बाँच्दैन अब पशु सरह बनी
गरी-गरी यी गरिबमाराहरुको गुलामी
एकाएक उठौँ एकपटक बस एकपटक
बनिकन बैरीहरुलाई अन्तिम सुनामी
गीत अन्तरक्रिया सम्पन्न
Monday, July 26, 2010
छङ्छङ् बग्ने पानी
सङ्घर्षमा सानो-ठूलो हुँदै बग्ने बानी
डाँडापारि फुल्यो फूल फूलैमा रस बस्यो
जानुपर्ने टाढा अझै पुलैमा दश बज्यो
दोधारमा नबसौँ है चाँडै बढौँ हामी
झरझर गर्ने झरनासँगै छङ्छङ् बग्ने पानी
सयौँ दिन रात गरी वर्षाँै बित्दै जान्छन्
कैले औँसी कैले पूर्णिमाको रात बनी बित्छन्
राख्नु पर्ने सुमार्गमा हिँडी राख्ने बानी
झरझर गर्ने झरनासँगै छङ्छङ् बग्ने पानी
Sunday, July 25, 2010
२२ औं अंकमा 'सिर्जना सागर'
Saturday, July 24, 2010
संवाद
आमा !
त्यो भयंकर
त्यो डरलाग्दो
कालो बादल
किन हट्दैन ?
किन छेकिदिन्छ त्यसले
उज्यालो किरणहरु ?
छोरा !
सायद बादललाई
उज्यालो मन पर्दैन
र
उज्यालो भएको धर्ति पनि ।
Monday, July 19, 2010
समूह परिचय
रातो कलमको हो धारिलो धार यो
चिर्नुछ अँध्यारो, यो प्रभासी संघार हो
रक्तिम किरणमा जन्माउँदै सपनी
क्षितिज भन्दैछ-'सलाम बिहानी’ ।
अनन्त यात्रामा डटी बढ्नेछ
ताराको बस्ती यो बोकी हिँड्नेछ
छ काँडाको बाटो, यो हिँड्छ तैपनि
धर्ती सुसेल्दैछ-'सलाम बिहानी’ ।
समाजको चित्र छ कलापहरमा
एक संसारको सचेत, चेतनालहरमा
वर्गीय मुक्तिलाई जोडले पुकारी
योद्धा बोल्दैछ-'सलाम बिहानी’ ।
सीमाको त्यो कालो जङ्गेपिलर ढलाउन
माटो जोगाउन, रातो किनारा बनाउन
जगाउँदैछ देश सुन ए ठुले-सानी
नेपाली भन्दैछ-'सलाम बिहानी’ ।
ब्वाँसाको बस्ती जलाउनैछ बाँकी
समताको संसार बनाउनैछ बाँकी
साँस्कृतिक रुपान्तरण अभिभारा ठानी
प्रभास बोल्दैछ-'सलाम बिहानी’ ।
प्रभास समूह
Tuesday, July 13, 2010
नियमित छलफल सम्पन्न
पारी गाँउले
दसगजामा सीमा सार्ने तिनै पारी गाँउले
भाई बनी ढेपिंदै छ भित्र स्वार्थ लुकाई
तराई-पहाड फटो पार्ने तिनै पारी गाँउले
आफ्नै आँगन पनि हाम्रो थियो भाछ आज
सिकिम-टिस्टा पारी सर्ने तिनै पारी गाँउले
डुलाउछन् कुटिल नजर हाम्रै सम्पदामा
मित्र बनी मुक्का मर्ने तिनै पारी गाउँले
हिमनदीको छालपनि कैद गर्न खोज्छ
मध्यरातमा खोला बार्ने तिनै पारी गाँउले
साबधान ए योद्धाहरु कान खोलि सुन
बहादुर लाई जुवा नार्ने तिनै पारी गाँउले
Saturday, July 10, 2010
गीत वाचन/अन्तरकि्रया सम्पन्न
१९ असारः प्रभास, केन्द्रको नियमित 'गीत वाचन तथा अन्तरक्रिया' कार्यक्रम पुल्चोक ईन्जिनियरिङ्ग कलेजको प्रांगणमा गत शनिवार सम्पन्न भएको छ । प्रभास, खोटाङकी सल्लाहकार विमला केयरलेश तथा उदयमान संगीतकार सोनाम बज्यू तामाङ विशेष अतिथी रहेको उक्त कार्यक्रममा सदस्यहरु नाकिमा, नदीश, मंजु मार्मिका, दृश्य र विशदको उपस्थिती रह्यो । उपस्थित समपूर्ण स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गर्नुका साथै वाचित सबै रचनामाथी आफ्नो धारणा व्यक्त गरेका थिए । आउदा कार्यक्रममा सैद्धान्तिक बहसलाई पनि घनिभूत बनाउने प्रतिबद्धताका साथ उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
Monday, July 5, 2010
जनताको संविधान
जसले जस्तो व्याख्या गरे पिन
म जनताको संविधान हुँ
म गर्भमा छु
र मेरो अजातशत्रुलाई चिन्ता छ
कि म जन्मेपिछ
सारा शत्रुलाई सखाप पार्ने छु ।
जब म सहिदले आर्जेको माटोमा टेक्ने छु
तब म सम्यक् दृष्टिले दुनियालाई देख्ने छु ।
जो कोही जो कसैको मतियार हुनेछ
कि आत्म-निर्णयको अधिकार हुनेछ
‘जसको जोत् उसैको पोत’ हुनेछ
मालिक को हो-मजदुर को हो
इतिहासको खोज हुनेछ
तर तर म फेिर
मेरो अजातशत्रुलाई खोज्ने छैन
त्यो अजातशत्रू
जो म गर्भमा रहेका बेला पिन
मेरी आमालाई बलात्कार गरिरहन्छ ।
यसैले
मलाई कसैले तुहाउन सक्ने छैन
म हजारौं सहिदको सपना हुँ
त्यसैले
म जन्मेर जसको अनुहारमा हेर्ने छु
ऊ मेरो शत्रु रहने छैन ।
Tuesday, June 29, 2010
खै कहाँ हुन्छ ?
घाम जस्तो जून खै कहाँ हुन्छ ?
पानी जस्तो खून खै कहाँ हुन्छ ?
वर्ग युद्दको बांसुरी फ़ुकिरहेछु म
यति मिठो धुन खै कहाँ हुन्छ ?
कपास हो या उन खै कहाँ हुन्छ ?
अधियाँ मै साहुको खेत बारी हाम्ले
जोत्नै पर्ने जरूर खै कहाँ हुन्छ ?
न्यायालय भित्रै न्यायाधीश लाई
फांशी दिने कानून खै कहाँ हुन्छ ?
मन्दिर, मूर्ति या तिम्रो त्यो मन
खोजी हेर 'श्रवण' खै कहाँ हुन्छ ?
Saturday, June 26, 2010
२१औं श्रृङ्खलामा 'सृजना सागर'
कवि हरि ब. कर्माचार्यको सभापतित्वमा सम्पन्न २१ औं श्रृङ्खलामा विश्वदर्शन, रमेश स्वप्निल, विशद, दृश्य लगायतका स्रष्टाहरुले लघुकथा सुनाएका थिए भने तिलक चाम्लिङ्ग, लक्ष्मी, नवराज क्षितिजलगायतका केहि स्रष्टाहरुले कविता पनि वाचन गरेका थिए र त्यस्तै गायक/संगीतकार सोनामले तारा थुलुङ 'अथाह' द्धारा रचित र आफैले सङ्गित भरेको गीत गाउनुभएको थियो । कवि नाकिमाले संचालन गरेको सो कार्यक्रम भानुभक्त एफ. एम. का कार्यक्रम संचालन देव 'अन्जान'ले वाचित रचनामाथि सटिक टिप्पणी राखेलगत्तै समापन भएको थियो ।
हरेक महिनाको दोस्रो शनिवार ११ बजे संचालन हुने 'सृजना सागर' को २२ औं अंक आगामी साउन ८ गते सोहि स्थानमा सम्पन्न हुदैछ । सबै श्रृङ्खलामा वाचित रचनाहरुमध्येबाट छनोटमा परेका सृजनाहरु समेटेर सङ्ग्रह निकाल्ने तयारीमा रहेको बताउदै आयोजकले सबै ईच्छुक सर्जक तथा स्रोताहरुलाई आगामी अंकहरुमा उपस्थितीको लागि आह्वान समेत गरेका थिए ।
Wednesday, June 23, 2010
म आए
यै प्रहरको पर्खाइमा हिमाल पँग्ले कति
पाखुरी हो ! जोशहरु नसिध्याउ म आए
कालो छाँया मुर्मुरिन्छ बन्द कोठाभित्र
झुठो डरमा भो ए मुटु ! नचिच्याउ म आए
चुप्प लाग्छ ढुँगामाटो पहिरो जानुअघि
पर्ख अझै यति छिट्टै नबताउ म आए
मजदुर गीत
स्वरः प्रलाप राई र रोशना रश्मी
साथमा सुधा किरात र राम लामा ।
.........................................................
यो देशको निर्माण गर्ने
हामी मजदुर हौं
विकासको मूल फुटाउने
हामी मजदुर हौं
देशकै लागि यो जीवन दिने
हामी मजदुर हौं
दुनियालाई बदल्न सक्ने
हामीमा तागत छ
मरेर पनि बाँचिरहने
शहिदको रगत छ
हामी आफ्नै श्रम र सीपले
यो धर्ती िसंगार्छौं
पसिनाले िसंचेर माटो
अमूल्य बनाउँछौं
कसैको दासी बन्दैनौं हामी
अन्याय सहन्नौं
पौरखले बाँच्छौं कसैको सामु
कहिल्यै झुक्दैनौं
सुस्ताएर बस्दैनौं हामी
शिखरमा पुग्नु छ
आफ्नो अधिकार लिनलाई अब
एक भई जुट्नु छ ॥
Sunday, June 20, 2010
'कविता वाचन तथा अन्तरक्रिया' को असार अंक सम्पन्न
रचना वाचनका साथै एकअर्काका रचनामाथी रचनात्मक टिप्पणी राखेका थिए । आगामी शनिबार लगनखेलमा 'सिर्जना सागर' को एक्काइसौँ श्रृङ्खला सम्पन्न हुँदैछ ।
Thursday, June 17, 2010
सहरमा नयाँ छायाँ
दुःखका डाँडाहरु
तरेर हजारौँ
आँसुका नदीहरु
काटेर लाखौं
धैर्यताका घुम्तीहरु
सपनाको चोमोलुङमा बोकेर
एउटा नयाँ छायाँ
सुदूर गाउँबाट
भर्खरै आइपुगेको छ
कल्पनाको यो सहर
र
टेकेको छ यहाँ उसले
आफ्नो पहिलो पाइला
तर
बाँकी नै छ उसले चिन्न
यो सेतो सहरलाई
र
यसको छातीमा परेड खेलिरहेका
यी अभ्यस्त काला छायाँहरुलाई ।
Saturday, June 12, 2010
गद्य सिर्जना वाचन तथा अन्तरक्रिया सम्पन्न
Tuesday, June 8, 2010
कविको मृत्यु
मेरा निसास्सिएका आदिम सपनाहरु
हिँजै मरिसकेछन्
शदियौँदेखि जून उदाएकै हो आकाशमा
उदाइरहेछ आज पनि
र पक्कै उदाउनेछ भोलि
आगनभरि छरिएको जूनभित्र
आशाको खेती गर्थे कविहरु
रापिन्थे उनीहरु दिनभरिको चर्को घाममा
र हरेक साँझ
शीतलताको अघाउँजी बयान गर्थे
आज छरिएको छैन जून
कुनै पनि कविको आगनमा
मानौँ
यतिखेरको जून
विद्रोह गरिरहेछ कविसँग
एकाविहानै मुर्दा शहरको एक कुनामा
भेटिए सयौँ बेवारिसे लासहरु
बेखबर छ शहर !
आशाको खेती गर्ने एक हुल कविहरु
हिँजै मारिएछन्
Saturday, June 5, 2010
गजल वाचन तथा अन्तरक्रिया सम्पन्न
Thursday, June 3, 2010
यसरी उठने थिइन आमा
हिजो सम्म उध्याउने गरिन्थ्यो
आज कजिएकी छु
यहाँ भन्दा बढी उध्याउन पर्दैन
साँध लगाउन पर्दैन मलाई
कहिले मलाई हँसिया बनाइयो
र धान काट्न घाँस काट्न प्रयोग गरिन्थ्यो
कहिले खुकुरी बनाएर
साँध लगाइन्थ्यो र फत्ते गरिन्थ्यो
गर्न हुने र नहुनेकामहरु
कहिले खुकुरी कहिले हँसिया बन्नुको पिडाले
आज म बल्झिएकी छु
कि त मलाई खुकुरीको धार बन्न दिइयोस
कि त हँसियाको दाँत बन्न दिइयोस
र मेरै काममा लगाइयोस
हो डराउनु पर्दैन म जे भएपनि
मेरा धार या दाँत जे भएपनि
मैले देखेकै छु
मलाई बल्झाउनेहरु
यहीँ कतै लुकेर झुकेका छन्
हिजो मलाइ गोरुजस्तै बनाएर खेतमा
नजोताइएको भए
अगुवा बनाएर खुट्टा
नतानिदिएको भए
मेसिनका पुर्जा बनाएर
परिचालन नगरिएको भए
आज पनि मलाइ मेरै काममा
लगाइएको भए
म यसरी उठने थिइन आमा !
मंसिरको चाडवाड सम्झेर
असारको हिलो छिचोल्दै
जोतेका खेतबारीमा
बेलैमा कमाइ लगाउन पाएको भए
हावा हुरीको प्रवाह नगरी भदौमै बाली
मौलाउन पाएको भए
त्यहीँ कमाइमा रम्थे होला ।
त्यसमै मेरो चित्त बुझ्थ्यो होला ।
म यसरी उठने थिइन आमा !
अहिले म यसरी उठने थिइन ।
Sunday, May 30, 2010
केन्द्रमा गीत अन्तरक्रिया खोटाङमा सिर्जना सागर
Friday, May 28, 2010
चम्किला मानवहरु
जन्म - १८९१
मृत्यु - १९३३
गंगालाल श्रेष्ठ
जन्म - १९७५
मृत्यु - १९९७
कृष्ण सेन इच्छुकु
जन्म - २०१३
मृत्यु - २०५९
र अझै
थुप्रै युगमानवहरु
जो
मरेर पनि
पटक-पटक जन्मिरहेछन्
जन्म-मृत्यु
पकृतिकै अकाट्य नियम हो रे
अहँ
कदापि मान्दिन म
यो झूटा नियम !
भर्खर मात्र फक्रे
जीवनगीत स्वच्छन्दले गाउन बाँकी छ
सङ्घर्षका पलहरु सम्झदा दरिलो बन्छ मन
सामना गरी सगरतिर धाउन बाँकी छ
तन मन र धनले बिराएँ यो अमरभूमि
हर मोड र पाइलामा सन्तुष्टि पाउन बाँकी छ
हतार नगर साथी हेर बढ्नुपर्छ अगाडि
शङ्खघोषले विजयी-टीका लाउन बाँकी छ
शिशिर-हेमन्तको उजाड कतिजेल टिक्छ र
हर खुसी-वर्षात् ल्याउने साउन बाँकी छ
Wednesday, May 26, 2010
माली रोयो अरे
ढिडो लिटो लोट्याएको थाली रोयो अरे
गरिब र निमुखाको लागेपछि भिसा
थर्काई खाने पल्लो गाउँको जाली रोयो अरे
बाझिएछ चर्किएछ रुखिएको धर्ती
हास्दैनन् रे घुर् यान गैह्रा फाली रोयो अरे
बेखबर बेघरबार बाँच्नुपर्दा बर्षौ सम्म
गोडमेल गरि जोगाउने माली रोयो अरे
लिलामीको तमासुक बुइगल चढे पछि
पुष माघको शीत छेक्ने पाली रोयो अरे
Saturday, May 22, 2010
सपना
सपना नै हुन्छ
जबसम्म पूरा हुँदैन ।
डोकोमा दूध दुहुनेहरु
वा
आकाशमा खेती गर्नेहरु
कहिल्यै
सपनाको नजिक पुग्दैनन् ।
कुनै सपनाहरु
आगोको लप्काजस्ता
धारिला र तेजिला हुन्छन्
त
कुनै सपनाहरु
साँझ नपर्दै झर्ने फूलजस्ता
कोमल र नरम हुन्छन् ।
किन-किन
मलाई त
आगो बोकेको सपना नै मनपर्छ ।
हाम्रो सम्पूर्ण जिन्दगी
लगभग
एउटा सपना हो ।
२० औँ श्रृङ्खलामा सिर्जना सागर
८ जेठ । सिर्जनाका माध्यमबाट समाजलाई परिवर्तन गर्ने उद्देश्यानुरुप प्रभास साहित्यिक समूह र अखिल नेपाल लेखक संघ ललितपुरको संयुक्त आयोजनामा नमूना मछिन्द्र उ.मा.वि लगनखेलमा सिर्जना सागरको २० औँ श्रृखला सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित स्रष्टाहरुले आफ्ना चोटिला सिर्जनाहरु प्रस्तुत गरेका थिए । अखिल नेपाल लेखक संघ ललितपुरका उपाध्यक्ष हरिबहादुर कर्माचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन कवि मंजु मार्मिकाले गर्नुभएको थियो भने वाचित सिर्जनाहरुको टिप्पणी कवि केशव सिलवालले गर्नुभएको थियो । कार्यक्रममा २५ जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको थियो ।
Wednesday, May 19, 2010
सारस र हामी
अथवा खतरा अंकित ट्रकभित्र
लुकेर पनि आउन सक्छन्
सारसहरु मित्र बनेर आउछन्
अथवा गुपचुप रुपमा
जासुस बनेर पनि आउन सक्छन्
र पनि हामी बुद्धुहरु
सधै जपिरहन्छौं
'अतिथी देवो भवः'
थुक्कः हामीहरु !
सारसका पंजाहरुमा
यो देशको भत्किएको नक्सा देख्न पाइन्छ
सारसका ठुँडहरुमा
यो देशको छोटो आयु पढ्न पाइन्छ
र पनि हामी लाटाहरु
साट्छौं आफ्नो माटोको पुख्र्यौली कोट
सारसको भ्रमविद्याको नयाँ पुस्तकसित
थुक्कः हामीहरु !
सारसहरु निष्फिक्री छिर्छन्
सिँहदरबारभित्र
र आफ्ना उत्तराधिकारी छान्छन्
सारसहरु खुल्लमखुल्ला पुग्छन्
सैन्य-पर्खालभित्र
र आफ्ना दासहरु बढाउछन्
र पनि हामी अन्धभक्तहरु
पुज्छौं सारसलाई
र नयाँ ईश्वर बनाउछौं
थुक्कः हामीहरु !
सारसका आदेशमा तेर्सिन्छन्
आफ्नै बन्दुक आफ्नै सगरमाथातिर
सारसका आदेशमा ठोकिन्छन्
आफ्नै मृत्युपत्रमा हस्ताक्षर
र पनि हामी अमानवहरु
बाँच्छौं सारसको पाउमुनी
मर्छौ सारसको पाउ परी
थुक्कः हामीहरु !
यो देश
यो शहर
यो समय
सारसको मुठ्ठीमा परेको छ
र सडकहरु निरन्तर उत्रीरहेछन् प्रतिरोधमा
र पनि हामी शहरका मान्छेहरु
अझै बनेका छैनौ
सडकझैं गतिशील
थुक्कः हामीहरु !
Sunday, May 16, 2010
जेठ २२ मा 'शेर शल्यकि्रया-२'
दिन कसरी कटाउलान्
के गरी खर्च चलाउलान् खै ? सर्वहाराले
कतिन्जेल चल्छ जीवन रित्तो छानोमुनि
कहिले घर बनाउलान् खै ? सर्वहाराले
दुई छाक खाना हुन्न, विचराले कसो गरी
बालबच्चा हुर्काउलान् खै ? सर्वहाराले
हेपिएर, चेपिएर कहिलेसम्म पो
जीवन आफ्नै जलाउलान् खै ? सर्वहाराले
शब्दशिखाको पारिजात विषेश अङ्क
Wednesday, May 12, 2010
नखाएरै टारे साझ
आधा पेट सधै बस्थे नखाएरै टारे साझ
होइन मेरो चाहना नि मिठै खाने रामै लाउने
अन्नको त कुरा के र पानी सम्म बारे आज
लालाबाला भोकाएर रुदै हिड्छन सँगै
दिन केही नसके नी झनै नजिक सारे आज
कस्को खेल भनौ मैले जीवन बित्यो यसै
मान्छे कै पो खेल रैछ लाजले नजर झारे आज
Tuesday, May 11, 2010
प्रभास उदयपुरद्वारा कविता अन्तरक्रिया सम्पन्न
भरियाको जीवन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन
उकाली र ओरालीमा पसिनाको खेती
आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति
इज्जतको भोटो हजुर सकिएन सिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन
कहिले लेक चढ्दा त कहिले बेंसी झर्दा
सुनसान जंगलभित्र एक्लै बास पर्दा
थोरै पनि सुखको सास सकिएन फेर्न
भरियाको जीवन हजुर गाह्रो भयो जिउन
अथाह अब केन्द्रीय सदस्य
Thursday, May 6, 2010
बलत्कारी बन्दुकहरु
भैरवगणमा
चुसेर कैयौं राता फूलहरुलाई
पुरिदिए शिवपुरी जङ्गलमा
एक ब्यारेक बन्दुकहरुले
पोहोर साल
बेलबारीमा
एउटा आदिवासी फूललाई
किचिमिचि पारी निलिदिए
केही बन्दुकहरुले
यो पटक
सुर्खेतमा
तीन बोट दलित फूलहरुलाई
दलदाल गरी चुँडाई फालिदिएका छन्
फेरि बन्दुकहरुले
कसरी हुनसक्छन् फूलहरु सिकारी ?
किन ख्वाइरहनुभएको छ भात
ती बलत्कारी बन्दुकहरुलाई ?
बेचिसक्नुभो तपाइँले आफ्नो मुटु ?
प्रश्नमाथि प्रश्न गरिरहेछन्
पत्रकारका आँखाहरु
निरुत्तर हुनुहुन्छ
रक्षामन्त्रीज्यू
Tuesday, May 4, 2010
प्रकाश हो पारिजात
सिर्जनामा विविधताको आभाष हो पारिजात
मृत्युसँगै सकिजाने विना अस्तित्वकी होइन
कालझैं बाँचिरहने मधुमास हो पारिजात
युगले सधै हेर्न पाउने निमुखाले फेर्न पाउने
स्वस्थ सफा र दीर्घ निश्वास हो पारिजात
दासत्वलाई तोड्ने मुक्तियुद्धलाई रोज्ने
प्रतिनिधि नारीहरुको प्रकाश हो पारिजात
Wednesday, April 28, 2010
बहिनीले भन्थी
नत्र नआउनु बहिनीले भन्थी
यो देशले तिम्रो रगत मागेमा
रगत बगाउनु बहिनीले भन्थी
आई लाग्ने माथि जाइ लाग्नु
अनि छप्काउनु बहिनीले भन्थी
युद्धको दुश्मन मित्र हुँदैन
भनि कराउनु बहिनीले भन्थी
वीरका छोरा हौ वीर नेपाली
वीरता देखाउनु बहिनीले भन्थी
Sunday, April 25, 2010
अथाहलाई केन्द्रमा स्वागत गरियो
मेरो देश
नेपाली हुँ दौरा-सुरुवाल, टोपी मेरो भेष
चुल्ठोभरि फुलाउँछिन् दिदी लालीगुराँस
चौबन्दीमा खुलाउँछन् नाकबेली केस
भीर पाखा पखेरिमा हिमालको छाया
त्यही पाखाको मायाँ लौ लाग्छ अनिमेष
बनाउनु छ बाटो यही डोर् याउनुछ जीवन
डटछु खट्छु यहिँ म त लागे पनि ठेस
दसै नङ्ग्रा खियाएर उर्बराउँछु माटो म त
सिस्नु-साग, खोले-फाडो लाग्छ सारै बेस
Thursday, April 22, 2010
२०६७ को पहिलो शनिवार
Wednesday, April 21, 2010
हामीसँगै छ हाम्रो इतिहास
खोज कोही सुद्धोधन र मायादेवी
गरिदेऊ विवाह
जन्मेला कुनै सन्तान
या त गराइदेऊ कृत्रिम गर्भाधान
जन्माइदेऊ कुनै पुत्र
र गरिदेऊ नामाकरण 'गौतम बुद्ध'
हामीलाई कुनै गुनासो छैन
बरु उल्टै सुनाइदिउँला विश्वलाई
हालसालै एउटा अर्को गौतम बुद्ध
भारतमा पनि जन्मिएको छ
तिमी चीनमा सोलुखुम्बु बनाऊ
बनाऊ एउटा राष्ट्रिय निकुन्ज
अनि ठड्याऊ एउटा अग्लो पहाड
छरिदेऊ त्यसमाथि कृत्रिम हिउँ
र चुनिदेऊ कुनै नाम
चोमोलोङ्गमा, माउन्ट एभरेष्ट या सगरमाथा
हामीलाई कुनै चिन्ता छैन
बरु उल्टै भनिदिउँला दुनियाँलाई
हालसालै एउटा अर्को सगरमाथा
चीनमा पनि ठडिएको छ
तिमी निस्फिक्र जन्माऊ तिम्रो गौतम बुद्ध
तिमी निश्चिन्त ठड्याऊ तिम्रो हिमाल
हामी गर्दैनौँ कुनै प्रतिकार
हामीलाई राम्रोसँग थाहा छ
हामीसँगै छ हाम्रो आफ्नो सगरमाथा
हामीसँगै छ हाम्रो आफ्नो लुम्बिनी
हामीसँगै छ हाम्रो आफ्नो इतिहास
Monday, April 19, 2010
ऊ पहाड र म शहर
म सँगै धड्किरहने मुटु
एकैसाथ पोको पारी
कागजी हस्ताक्षरहरुमा
बन्द गरी पवनपंक्षीलाई पठाइदिएछ
मेरो निवाससम्म
उसको आकस्मिक आगमनले
मेरा अपूर्णभैष लाग्ने जीवन
सार्थक तुल्याइदियो
तड्पिएकॊ मन शान्तभैष पाएँ
उस्को यथार्थ जीवन-मृत्यु
संगालेँ र बगाएँ
खुसीका विष्णुमतीहरु
उस्कै समिप बसेर
हिमालपारिको नागरीक ऊ
चौंरी र भेडीगोठ धाउने
काचनजङ्घा र टाकुरा छुने
ठन्डी-ठन्डी पहाडहरुमा
इमेल मोबाइल जाम हुन्छ
त्यसैले उस्ले आफ्ना आवाजहरु
पानामा रेकर्ड गराएर
स्नेह स्पर्श कोरी पठाएको छ
आधुनिक परिबेशको प्रेम
अस्पष्ट भाका थिएन
ऊ आधुनिक मान्छे
म आधुनिक मान्छे
इतिहासले सिकाएको छ
प्रेमिल मनहरुको एकात्मकता र बाहुल्यता
उसले पढेको
र मैले सुनेको
सान्सारिक प्रेमजोडीहरु
रोमियो-जुलियट
मुनामदन
लैला-मजुन र
मधुमालतिको कथा
तर
तर त्यस्ता एकादेशीय
र अलौलिक कथा भएनौँ हामी
हामी त स्वयम् हिमाल पहाड र धरती चिर्ने यथार्थताको
शास्वत अंकित छाप बन्यौँ
हिमाल छातिमा
पहाड काखमा
गगन आँखामा
नचाएर बाँचिरहेछ
हरेक ऋतुहरुमा परिवर्तन छैन
हरपल माघे जाडो
र पनि जाडो नभनिकन
भोक नभनिकन
नाङ्गो शरीर नचाएर
संघर्षै-संघर्षको पेरीफेरीमा रमाइरहन्छ ऊ
तिमी बहादुर छौ महान छौ
र धैर्यवान पनि छौ
तिम्रो मतको पर्याय हुँ म
तिम्रो निर्णयको भागीदारी हुँ म
भविश्यका सुनौला मार्गहरुमा
तिमी अगाडि छौ
भयङ्कर ग्रेटवालमाथि
तिमी उभिनेछौ
र विश्वको ताजमहल तिमीले ठड्याउनेछौ
मैले उसलाई
यसरी नै पठाएँ जवाफिला उपहारहरु
म सुसेल्छु उस्को निम्ति
ऊ बग्छ मेरो निम्ति
दुरसंचार र दुरभास बिनाको
हाम्रो आत्मिक प्रेम
पहाड र म शहर ।
Saturday, April 17, 2010
शब्दशिखाको फेसबूक विशेष चैत अङ्क
Monday, April 12, 2010
घडी
घडीका तीन सुई
म मोटो
त्यसैले अडिक छु
जनताको हितमाफनफनी
तिमी मझैलो
कहिले यता-कहिले उता
नाचीरहन्छौ
प्याण्डुलम झै
उ साह्रै दुब्लो
बिचरा आफै असक्त छ
त्यसैले बुइ चढ्दै छ
मझैलाहरुको
उकुसमुकुस हुदै
निचोरीदै ।
हामी तीन
मान्न तीन
तीन
तीन एक भयौं
सबैले बुझे
मध्यदिन भयो
रातो लालीमा
माथी चढ्यो र
खुल्ला आकासहरुमा
बिस्कुन झै फिजीदै थ्यो त्यो ।
फेरी
तीन एक भयौं
सबै मस्त सुतिरहे
मध्यरात भयो
तिमीहरु
बिस्तारै सल्बलायौ
घँटिहरुमा एन्टीना झुन्डाउँदै
बिस्तारै पस्यौ
आफ्नै खाटमनीका
अन्धकार गुफाहरुमा
राष्द्रवादी मुकुट टल्काउँदै
आफ्नै ह्रदयभित्रको
धड्कनहरु चोर्नलाई
फेरी घुम्दै
तीन एक भयौं
तिमीहरु मस्त सुतिरहयौ
आकास कालाम्य भयो
राष्ट साघुरीदै आयो
म मसाल बालेर
तिम्रा मसिेतष्क भित्रका
अन्धकार चिर्दै
एन्टीनाहरु जलाउँदै आएँ
अब आकास
एक्काएक चम्किदै छ
राष्द्र दशगजातीर फैलिदै छ ।
Sunday, April 11, 2010
छलफलसहित गजल वाचन सम्पन्न
गजल वाचनपछि बसेको समूहको सचिवालय बैठकले केन्द्रीय सदस्यहरु ध्रुवसत्य अपराजिता र सर्गमंजरीलाई समूहको साधरण सदस्य रहने गरी निर्णय गर्यो ।
Monday, April 5, 2010
एकहुल मान्छेहरु
Sunday, April 4, 2010
स्वार्थी शहर भो
शोकमा छ गाउँ त अचेल खुसी जहर भो
संबिधान लेख्न पनि भुल्या हो कि कुन्नि
समयले नेटो काट्यो रातको पहर भो
शान्ति आउला, विकास पाउला भन्ने आसाहरु
दिवा सपना देखिएछ ब्यर्थ रहर भो
मेची-काली जोताउनलाई हुर्काएको बाछो
हुर्क्यो, बढ्यो, मत्त भयो अटेर बहर भो
पागल परिवेश
गालेर आए
रगतको बर्तन हालेर आएँ
आशिर्वाद दिनुस नेपाल आमा
राजतन्त्र मैले फालेर आएँ
देशमा शान्ति आउनेछ भनी
मनमा आशा पालेर आएँ
शान्तिको महल बनाउनु पर्छ
महलको जग हालेर आएँ
कुसस्कार बोक्ने धरोहरहरु
आज नै मैले ढालेर आएँ
रुदै थिन मेरी नेपाल आमा
फाटेको मन टालेर आएँ
देशमा शान्ति स्थापित राख्न
आबश्यक कदम हालेर आए
राष्ट्रकै लागी यो हिरा मर्ला
दुश्मन वा सत्रु गालेर आए
Saturday, April 3, 2010
गीत वाचन तथा छलफल सम्पन्न
Wednesday, March 31, 2010
जाली तिलहरीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु
फरियामा आँशु पोखी
धमिलिन्छ्यौ किन ?
सिन्दुरमा जीवन जोखी
बालि दिन्छ्यौ किन ?
जन्माऊ न फेरि आकाश छुने परीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु
दैलोमै जून टेक्छिन्
आवाज त देऊ
सँगसँगै धर्ती फुल्छिन्
कहाँ लाचार छ्यौ
घेर बादल फेर आकाश ए ! नवनारीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु
Tuesday, March 30, 2010
जिउँदै घाँटी निमोठी
बोल, बोल रापिएर खारिएकी नारीहरु
समानताको अंश खोज्दै एकाएक उठौँ माथि
मान्छेबाट मान्छे तल झारिएकी नारीहरु
बिना न्याय धकेलेरै सारिएकी नारीहरू
घरभित्र हेलिएर घरभित्रै मर्ने मान्छे
तीनै हुन् गृहबन्दी पारिएकी नारीहरु
Sunday, March 28, 2010
ललितपुर र खोटाङमा एकैसाथ सिर्जना सागर सम्पन्न
यसैगरी खोटाङमा पनि प्रभास साहित्यिक समूह खोटाङको आयोजनामा उस्तै प्रकृतिको कार्यक्रम 'सिर्जना सागर'को पहिलो श्रृङ्खला सम्पन्न भएको छ । सदरमुकाम दिक्तेलस्थित किरात राई विद्यार्थी सङ्घको हलमा सम्पन्न पहिलो श्रृङ्खलामा १९ जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको थियो ।
Monday, March 22, 2010
इनार
कुनै मुर्ख सिँहले
आफ्नै प्रतिबिम्बको हत्या गर्ने हठ लियो
अथवा आत्माहत्या गर्ने
इनारमा
सिँहले सिँहलाई नै देख्छ त
मान्छेले आफूलाई मान्छेनै देख्छ
र कुनै पनि कथित दलित
इनारको छेउ पुग्यो भने
उसले आफूलाई मान्छेनै देख्नेछ
जोसुकैले जन्मभूमिमा इनार खन्न सक्छ
इनारमा आफ्नो मौलिक अनुहार हेर्ने अधिकार
सबैलाई भएजस्तो
यो सरकारलाई पनि छ
बाहिरी बनावट जस्तो छ
त्येस्तै प्रतिबिम्ब देखिन्छ
यो इनारमा
हो, इनारमा
कहिल्यै पनि टोपी लागाएको मान्छेले
श्रीपेच लगाएको प्रतिबिम्ब देख्न सक्दैन ।
Sunday, March 21, 2010
सलाम छ
सलाम छ उत्साहाले अघि बढ्नेलाई
प्रभातको किरणजस्तो विचार सम्मान छ
शाषकलाई ध्वस्तै पारौं अधिकार सम्मान छ
न्यायको निम्ति हजुर युद्व लड्नेलाई
सलाम छ उत्साहाले अघि बढ्नेलाई
दुःख-पीडाको बिसाउनीमा खिल संगाल्नू
लडिएला चुरेतिरै चोमोलुङमा अंगाल्नू
संसारलाई बदल्ने युद्व लड्नेलाई
सलाम छ उत्साहाले अघि बढ्नेलाई
Sunday, March 14, 2010
दुःख फुल्ने फूलबारी
निसाफ गर्न अदालतमा जाली डराएछ
जुन नुनले खून दिन्थ्यो त्यै खून नै लीन भयो
घैयाबारी साउने थोत्रो फाली हराएछ
मृत्यु तार्ने नाउँ छैन मायालुको गाउँ छैन
घर गोठ पधेँरी सब खाली गराएछ
धर्ती-आकाश मौन बस्छ मौन बस्छ जून
ममताको बाला झुल्ने आली चराएछ
Tuesday, March 9, 2010
मेरा गाउँलेहरु
सँगै बेजोड बस्तीहरु
प्रकाशका निम्ति
ठाँउ खोजिरहेका शक्तिहरु ।
यो मेरै गाउँ हो
दन्केको छ भोकको ज्वाला
त्यै ज्वालामा पिल्सीरहका छन् पेटहरु
पाली रहेछन् गिट्ठा अनि भ्याकुरले जीवन
एक मुठ्ठी माटोको निम्ति
नाउँ खोजिरहेछन् छातीहरु ।
भालेको डाकमा उठ्छन्
मध्यरातमा भोकै सुतछन्
बाढीले बगाएको उर्वर भूमिलाई
छातीमा राखेर लमतन्न छन्
विदेशी ऋणको भारी बोकेर
यिनै बेतिथिको बेवास्ताका लागि
खोजिरहेछन् साथीहरु ।
यही छन् दुःख अभाव
अनि वेदनाका कथाहरु
कतै छन् परिवर्तनका मोहक दृश्यहरु
ब्वाँसाहरु अपाङ्गको बैशाखी
खोसेर सगरमाथा चढिरहेछन्
सम्भावनाका ढोकाहरु बन्द गर्दै
विरताको प्रदर्शन देखाईरहेछन्
तर
थाहा भइसकेको छ गाउँलेहरुलाई
चेलीहरु सीमापारिका
रेडलाइट एरियामा छन्
कान्छाहरुलाई मानव यन्त्र बनाइएको छ
पहाडी भित्ताहरुमा रोपिएका रक्तविजहरु
एकाएक समथर मैदान अनि सडकमा उमि्ररहेछन् ।
र त अन्तिम विकल्प खोजिरहेका छन्
विद्रोहको भाषामा
मेरा गाउँलेहरु र म पनि
Tuesday, February 23, 2010
प्रिय मान्छे
सम्झनामा मात्र अब रहको छ प्रिय मान्छे
खोसिएको खुसी खोज्ने सपना थियौ धेरैधेरै
सपना ती अधुरै छाडी गएको छ प्रिय मान्छे
पीरै-पीरको भारी बोक्थ्यो भोगाइको उकालीमा
लाखौं चोट जिन्दगीमा सहेको छ प्रिय मान्छे
एक्कासि आकाश रोयो, डाँडामाथि डुब्यो घाम
हुरीसँगै उतैतिर बहेको छ प्रिय मान्छे
'सुनौला ती सपनाहरु पूरा गरी छाड्नू छोरा'
जानेबेला यस्तो कुरा कहेको छ प्रिय मान्छे
Thursday, February 18, 2010
साँच्चै अब
आफ्नो कुरा अब आफै लेख्न पाइन्छ कि त
साढेको जुधाई र बाछाको मिचाइमा
लागेको घाउलाई सेक्न पाइन्छ कि त
नाक बेग्लो हुने जात बेग्लो हुने यो
विभेदको पहाडलाई छेक्न पाइन्छ कि त
ओत लाग्ने छाना, पेट भर्ने खानासँगै
नयाँ घरको संघारमा टेक्न पाइन्छ कि त
उठौँ युवा
देश निर्माणको बाटोतिर लाग्दै उठौँ युवा
प्रतिगामी, भ्रष्टाचारी सारा शक्ति, विकृतिलाई
निमिट्यान्न पार्ने लक्ष्य राख्दै उठौँ युवा
कति गह्रौँ जिम्मेवारी हेर हाम्रो काँधमाथि
हतारिदै, चटारिदै, जाग्दै उठौँ युवा
तुवाँलोको बस्तीभित्र खोज्नुपर्छ नेपाल आमा
घामसित नयाँ किरण माग्दै उठौँ युवा
नयाँ नेपाल बनाउने सपनालाई साकार पार्न
छातिभरि देशको चित्र छाप्दै उठौँ युवा
अझै पनि हाम्रा सामु 'अथाह' छन् बिघ्नवाधा
सबै नाघी चोमोलुङ्गा ताक्दै उठौँ युवा
अब सबै उठ्नुपर्छ
घाँस काट्ने हातहरु एकसाथ जुट्नुपर्छ
हेपिएर थिचिएर यो समाजमा बस्छौ कति
एउटै माला बनाउन नारी दिमाग खुट्नुपर्छ
अरुको शिर उच्च राख्न नङग्रामात्र खियाउछौ किन
नन्द-भाउजू सासू-बुहारी एउटै थालमा चुठ्नुपर्छ
खाली हात खाली दिमाग परजिवी हुन्छौ किन
आफ्नो हात आफ्नै दिमाग बुद्धिपूर्वक जुट्नुपर्छ
क्रोक्राहरु हल्लाउदै घररुपी जेलमा किन
उज्यालोमा जिउनलाई अँध्यारो सब फुट्नुपर्छ
Wednesday, February 17, 2010
मलाई हेर्ने आँट नगर
मलाई हेर्न आउँछ रे
सपना झलझली बुन्दैछु
गनी-गनी वरमाला उन्दैछु
कल्पनामा तिमीलाई नै चुन्दैछु
फाटेकोलाई पनि तुन्दैछु
त्यो वरमाला साँच्चै उन्दैछु
तर सुहाउँदैन तिमीलाई
मैले उनेको वरमाला
किन कि यो हातले घाँस काटेको छ
जुठोभाँडो गरेको छ
चरचरी फाटेको छ
त्यसैले……
यो हातले उनेको मनपर्दैन तिमीलाई
कृत्रिमता छैन यहाँ
फगत प्राकृतिक छ
मुहारमा धुलोको लाली घसेको छ
बिलकुलै हेर्दा पच्दैन तिमीलाई
यो कृत्रिमताको माहोलमा
सबैको दृष्टिकोण आवरणमा जान्छ
त्यसैले……
राम्रो लाग्छ सौन्दर्य
टलक्क झलक्क मनपर्छ
भित्रको विकारहरु आवरणले ढाकेको
ममा त्यस्तो केही छैन
त्यसैले मलाई हेर्ने आँट नगर ।
गणतन्त्र
नेता, भरिया, किसानीमा पर्नुपर्छ गणतन्त्र
युवा पुस्ता यत्तिकै छ, जोस जाँगर भएकै छ
वृद्धदेखि युवासम्म सर्नुपर्छ गणतन्त्र
यात्रा लामो कठिन तर सफल हुनैपर्छ
बिचमा आउने सुनामीलाई तर्नुपर्छ गणतन्त्र
भावी पुस्ता आउने छ, नयाँ गीत गाउनेछ
ऐतिहासिक विउविजन छर्नुपर्छ गणतन्त्र
कति मन अमिलो छ, मनमा दाग बसेको छ
समायोजन गरी मनलाई भर्नुपर्छ गणतन्त्र
Tuesday, February 16, 2010
लाल सलाम !
बिहानी भै खुल्नेलाई
लाल सलाम !
काँडा अझै जिउँदै छ
फूलले आँसु पिउँदै छ
लड्दालड्दै झर्नेलाई
हितको लागि मर्नेलाई
लाल सलाम !
घाम अझै ला'छैन
अन्धकार गा'छैन
जूनको ज्योति चोर्नेलाई
अन्याय त्यो फोर्नेलाई
लाल सलाम !
Friday, February 5, 2010
दाजै, साकेला नाचौं
आदिवासी बस्तीबाट
हुलका हुल घामहरु उदाउँदैछन्
घरको मझेरीतिर प्रभातको उषाहरु
उहिलेदेखि सलबलाइरहेछन्
समयले वैशाखलाई काखी च्यापेर
जेठको उभौली लौरो टेकिरहेछ
आऊ दाजै हामी पनि यो समयको लौरो टेकौं
आऊ दाजै हामी साकेला नाचौं ।
सेतो हिउँको वस्त्र ओढेका
चोमोलुङ्माको काखबाट
असरल्ल रातो गण्डकीहरु
बगेको देखेर
कतै शान्तिको खोजीमा उडेका
प्र्रशात परेवाहरु
उडेका उड्यैछन्
देउरालीका धुपी निलगिरि र गुराँसहरु
अर्धरुवाइमा हाँस्दा-हाँस्दा थाकिसके
तिम्रो ब्यूँझाइएको सर्तमा म देखिरहेछु
घर आँगनमा दृष्टान्तमा नयाँ पवनहरु बगिरहेको
खै भुमिपूजाको खोजमा साल्पा र
चौदण्डीहरु दुख्न थालेको
त्यसैले त दाजै
सुक्नै लागेको समय ब्यूँझाउनुपर्छ
आऊ दाजै हात जोडेर
साकेला नाचौं ।
निष्कर्षतः
यतिबेला समयले
परिवर्तनको बिहान खोजिरहेको छ
पारुहाङ र सुम्निमाको कसम खाएर
हाम्रा अधिकारहर खोस्नेलाई
काली गण्डकी बन्दक राखेर
स्वार्थको तलाउमा छलाङ मार्न खोज्नेलाई
एक झोक्का तीर मार्नुपर्छ
सिमे-भूमेको बली चढाउनुपर्छ
यो माझकिरातको भूमिमा
धनुषकाडको झण्डा फहराउनुपर्छ
त्यसैले त दाजै
निशंकोच हात समाऔं
आऊ हामी साकेला नाचौं ।
Tuesday, February 2, 2010
गाउँ रोयो अरे
जन्मिएर हुर्किएको ठाउँ रोयो अरे
गरिबीले डोर्याएर लादै थियो टाढा
नदी तर्दा धेरै चोटी नाउ रोयो अरे
नजिक आई एउटा खबर छाडी गयो कौवा
गाउँमा मेरो गुन्द्रुकको'नि भाउ रोयो अरे
पुस-माघको जाडो कठै शीत छल्नो छानो बिना
बच्चाहरुको विचल्लीमा माउ रोयो अरे
कयौं हिउँद काट्नु पर्दा एउटै फरियाले
मैले शिर झुकाएको पाउ रोयो अरे
फर्किनेछु बाँचे भने अर्को सालतिर
यस्तो चिठी पढ्दा हजुर वाउ रोयो अरे
रेल भयो देश
- अर्जुन बाराहाली
फोहोरी रणनीति र युद्धको खेल भयो देश
कागलाई झै जनतालाई पाकेको बेल भयो देश
सबै यहाँ स्वार्थी मात्र विकास भन्दा विवाद धेरै
विवादैविवादमा फसेको झेल भयो देश
कपडा झै फेरिए यहाँ वाद र तन्त्रहरु
जुन जोगी आएपनि उस्तै जेल भयो देश
गर्न भन्दा भन्न धेरै मंचबाट भाषण चर्को
शान्त समाज निर्माणमा फेल भयो देश
बन्द हड्ताल हत्या हिंसा नेपालमा जहिले
हाम्रा लागि बीचबाटोमा बिग्रेको रेल भयो देश ।
गणतन्त्र छैन
तर पंचायती बादलभित्र अलमलिएको देख्छु
गणतन्त्र आएको अखबारमा पढ्छु
तर पंचायती व्यबहार मात्र देख्छु
ए ! साँच्चै
गणतन्त्र त आएको छ रे
हाम्रो नेपालमा
अनि यताउता हेर्छु
दायाँवायाँ छाम्छु
तर देख्दिन गणतन्त्र अनि भेट्दिन ।
गणतन्त्र छैन
नेपालमा गणतन्त्रको आभास
म त आफै नेपालमा तुच्छो पंचायत नै देख्छु
केही बाघ विराला बनेको देख्छु
तर कैयौ धमिराका पखेटा पलाएर
छिचिमिरा बनेर म उडेको देख्छु
अनि
ती बिरालाहरु दुध खाएर सुतेको म देख्छु
अझ ती छिचिमिराहरु उडेर डिस्को र रेष्टुराँमा
मातिरहेका र नाचिरहेको म देख्छु
तर गरिबले अलिनो सिस्नो पनि खान
नपाएको म देख्छु
त्यसैले त म नेपालमा तुच्छो पंचायत नै देख्छु
ए !
घाम जस्ता युवा म त
तिमीहरुलाई गणतन्त्र देख्छु
तिम्रो शिरलाई म सगरमाथा देख्छु
तिम्रो छातीलाई समथर तराई देख्छु
तिम्रो ओठलाई म क्षितिज देख्छु
अनि तिम्रो आवाजमा म परिवर्तन देख्छु
तर
फेरि चुरोटका धुवाँले ध्वाँसा लागेको फोक्सो देख्छु
तिम्रो ओठबाट निस्केको चुरोटको धुवाँलाई
वर्षाकालमा क्षितिजबाट निस्किएको
वादलको मुस्लो झै लाग्छ ।
ए !
युवा म तिम्रो दैनिकी हेर्छु
मेरो आतमाको नयनबाट तिम्रो म एक्सरे गर्छु
चुरोटको धुवाँ अनि भट्टीको अल्कोहलले
तिम्रा कुहिएका आन्द्रा मात्र देख्छु
नब्बेलाख जनता बेरोजगारी देख्छु
बाँकी आधा अस्पतालका बेडमा देख्छु
भ्रष्टचारले सफल पर्वतारोहण गरेको देख्छु
हत्या र हिंसाले आर्शिवाद पाएको देख्छु
नेपालबन्दले आँशु जमकाएको देख्छु
फेसनको नाममा अर्धनग्न देख्छु
नृत्यको नाममा नग्न देख्छु
यहाँ त म विकृति र विसङ्गति मात्र देख्छु
त्यसैले त म यहाँ पंचायती गणतन्त्र देख्छु ।
गणतन्त्र छ तर गणतान्त्रिक व्यावहार छैन
नेता छन् नेतृत्व छैन
मानव छन तर मानवीयता छैन
व्यक्ति छन तर व्यक्तित्व छैन
अधिकार खोज्छन तर उत्तरदायित्व छैन
हत्या र हिंसा छ तर शान्ति छैन
दण्डहिनता छ तर कानुन छैन
इश्वरको बास छ तर आभास छैन
प्रकृति छ तर संरक्षण छैन ।
यस्तै छ यहाँ सोचे जस्तो छैन
त्यसैले त यहाँ पंचायत छ
Wednesday, January 20, 2010
दार्बिला गोरुहरु
सिङ भचाएर
हार्न मानेनन्
मारिरहे/मरिरहे
सिङ फुकालेर
अर्काकै खातिर
दार्बिला गोरुहरु ।
इतिहासका चरनहरुमा
अरुले कुल्चिरहदा
अर्कै तर्फ नारा थापिरहेछन्
ती दार्बिला गोरुहरु ।
डुक्रन अब त
आफ्नै भूमिमा फर्केर
ओ दार्बिला गोरुहरु !
Tuesday, January 12, 2010
लाज मान
कुरा बुझ्दा लाज मान
छिमेकीले सिध्याई सके
चुस्दा चुस्दा लाज मान
चोरलाई रोक्न सकेनछौ
घरमा घुस्दा लाज मान
तिम्ले गरेको तिम्रो शिकार
आएर लुछ्दा लाज मान
नेपाली भनि धाक मार्छौ
अनि सुस्ता लाज मान
घाम लाग्दैन र ?
सुन्दर शान्त स्वच्छ नेपाल तिमीलाई काम लाग्दैन र ?
नेताजन होसियार किन कुर्सी तानातान छ
महङ्गी झन् बढाउँदा तिमीलाई दाम लाग्दैन र ?
सडक बन्द पसल बन्द बाटो पनि गर्छौ बन्द
नेपाल बन्द हड्ताल गर्दा तिमीलाई जाम लाग्दैन र ?
कति हिँड्ने घुम्म मन, पीडाहरु लुकाएर
सर्वहारा सबै हाँसे यहाँ घाम लाग्दैन र ?
उपहार
मसँग एक बगैंचा पुूलहरु छन्
उपहार मेरो बगैंचाको सौन्दर्य लग
सुगन्ध लग बहार लग अनि हरियाली लग
तर उनले त यतिका खुसीहरु चाहिदैन भनिन् ।
त्यसो भए मसित दुःखका बगरहरु पनि छन्
पीडाका पहाडहरु पनि छन्
उपहार तिमी मेरो दुःखहरु लग पीडाहरु लग
तर उनले त त्यो पनि लान्न भनिन् ।
मसँग पाइलै पिच्छे ठेस लागिरहने तक्दिर छ
घाउझैं दुःखीरहने ह्दय छ
दुःखको भारी बोकेर बगिरहने पसिनाहरु छन् ।
रोदनमा डुबिरहने आँसुहरु छन्
पीडाले रक्तिम रगतहरु छन्
उपहार मबाट यी सब चीजहरु लग
तर उनले त यतिका नैरास्य पनि लान्न भनिन्
मैले अन्त्यमा सोधेको थिएँ
उपहार मबाट के चाहि लान्छौ
उनले भनेर गएकी छिन्
मलाई सम्भावनाका केही शुक्रकीटहरु देऊ
म तिम्रो लागि आशाका नवशिशु लिएर फर्कनेछु ।
हाँस्न-बोल्न
घेराबन्दी चोक छ
हेर्दा सुन्दर बाहिर
भित्र अर्को थोक छ
हल्ला मात्रै समान
माथिबाटै तोक छ
जाजारकोटे दशैं
खुसीभित्र शोक छ
वास्मतीको गफगाफ
कनिकाको भोक छ