Saturday, November 20, 2010

सूचना

प्रभास साहित्यिक समूहको नाम परिवर्तन भई अब उपरान्त समूहको नाम 'अलग अभियान' रहन गएको छ ।  समूह/अभियानको जानकारी लिन अबदेखि हाम्रो नयाँ ब्लग http://www.alagabhiyan.blogspot.com/ मा लगअन गर्नुहोला ।

Thursday, November 18, 2010

गजलको गरिमा

-नदीश

 

अहिले नेपालमा धेरैले लेख्ने विधा गजल, सबैभन्दा धेरै लेखिने विधा गजल र सबैभन्दा पछि परेको विधा पनि गजल । सङ्ख्यात्मक रुपमा हामी समृद्ध छौँ गजलमा, यो यथार्थ हो र गुणात्मक रुपमा हामी अत्यन्तै गरीब छौँ, गजलमा यो एउटा तीतो यथार्थ हो । आफ्ना भावनाहरु पोख्नु र त्यसलाई गजल भन्नु एउटा कुरा र साँच्चीकै गजल लेख्नु अर्को कुरा । 

सामान्यतया शेरहरुमा रदीफ र काफियाको समिश्रणलाई गजल भनिन्छ र यसको गलत व्याख्या गरिन्छ । अन्त्यानुप्रयास मिलाएकै भरमा यदि सुन्दर कविता निर्माण हुन सक्छ भने यो मान्यतालाई पनि सही भन्न सकिएला । हो पक्कै पनि रदीफ र काफिया गजलको आत्मा हो तर यसले मात्रै गजलको मर्मलाई पूरा गर्न सक्दैन । गजलका केही मापदण्डहरु छन् जुन गजलकारले पुरा गर्नु आवश्यक छ ।

संरचनात्मक स्वतन्त्रता अर्थगत अधीनता :

प्रत्येक मिसराहरु व्याकरणीय दृष्टिकोणबाट स्वतन्त्र हुनु जरुरी छ । नेपालका कैयन गजल हस्तीहरुपनि यो मान्यताबाट टाढै देखिन्छन् । एउटै वाक्यजस्ता लाग्ने शेरहरुले गजलको मान्यतालाई उल्लङ्घन गरिरहेको हुन्छ । शेरको माथिल्लो भाग (मिसरा ए उला) एउटा स्वतन्त्र वाक्यजस्तो सुनिनुपर्छ जसले केही कुरा मागिरहेको हुन्छ र त्यसलाई शेरको तल्लो भाग (मिसरा ए सानी)ले पूरा गरिदिनुपर्छ । संरचनात्मक दृष्टिकोणमा स्वतन्त्र वाक्यजस्तो तर अर्थगत रुपमा एक अर्काको अधीनमा हुने गजलको द्वन्द्वात्मक प्रकृतिलाई हामी संरचनात्मक स्वतन्त्रता अर्थगत अधीनता भन्छौँ ।

साङ्गीतिक चेतना वैचारिक गहनता :

गजल मुख्यतयः ग्येय विधा हो । गजल श्रृजनाको क्रममा गजलकारभित्र साङ्गीतिक चेतना हुनु जरुरी छ । कुनैपनि पाठकले पढ्दा शेरहरु बिनाअवरोध बग्नुसक्नुपर्छ । अफ्ठ्यारा शब्दहरुको प्रयोगले गजलमा अबरोध उत्पन्न गर्छ । गजलको पहिलो शेर जुन किसिमको साङ्गीतिक कल्पनाबाट लेखिएको छ त्यसलाई सम्पूर्ण शेरहरुमा निरन्तरता दिनुसक्नुपर्छ फलतः कुनै पनि शेरहरुमा शब्दहरुको कमी या बढी महसुस नहोस् । अर्को कुरा गजलले उठान गर्ने विषयबस्तु हल्का हुनु हुँदैन । सरल शब्दमा सरल विम्व र प्रतीकको प्रयोगबाट गहन अर्थ दिन सक्नुपर्छ गजलले र यो मानेमा गजल कवितासँग मिल्दोजुल्दो हुनुपर्छ ।

उपयुक्त रदीफ र काफियाको छनौट :

काफिया मिलाउने नाममा गजलकारले आफ्नै किसिमका बिनाअर्थका शब्दहरु श्रृजना गर्नु आफ्नै गजलको हत्या गर्नु हो । प्रयोग भइरहने तथा हल्का काफियाबाटपनि गजलकार मुक्त हुनुपर्छ । नयाँ रदीफ र काफियाको प्रयोगले गजलमा मीठासता ल्याउनुको साथै गजलमा नयाँपन आउँछ ।

यसको अलवा गजलले प्रेम प्रणयका कुराहरुलाई मात्रै समेट्नुपर्छ भन्ने रुढीबादी मान्यतालाईपनि तोड्नु आजको आवश्यकता हो । साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ र गजल साहित्यको एउटा महत्वपूर्ण अङ्ग हो । गजलमा खाली कोरा प्रेम-प्रणयका कुरा मात्र ओकल्नुभन्दा परिवर्तनका आवाजहरु पस्केर अझै सुन्दर र शक्तिशाली बनाउन आजैदेखि पाइला चाल्ने कि ?

Wednesday, November 17, 2010

सङ्घर्षका कथाहरु

-रमेश स्वप्निल
नलेख भन्छौ लेखिरहन्छौँ सङ्घर्षका कथाहरु
नचढ भन्छौ चढिरहन्छौँ राता सगरमाथाहरु

थाक्दैनौँ हामी यात्रामा लक्ष नभेटुन्जेल
नहिँड भन्छौ हिँडिरन्छौँ पन्छाउँदै बाधाहरु


छुट्दैनौँ एक-आपसमा गन्तव्य हो परिवर्तन
नजुट भन्छौ जुटिरहन्छौँ अनगिन्ति साथहरु


जेल-नेल हत्कडी तोडेर अघि-
अघि 
नबढ भन्छौ बढिरहन्छौँ बोकेर आस्थाहरु

Monday, November 8, 2010

गदार भयो शहरमा


अहो हेर कत्रो ठूलो हुँकार भयो शहरमा
चारै तिर बेइमानी धिकार छ यो शहरमा

दुर्गन्ध छ फोहोरको घमण्ड छ धनको
थुकी हिड्दा खकारै खकार भयो शहरमा

गाउँघरमा बास छैन धेरैलाई गाँस छैन
धेरै खाइ कसैलाई डकार भयो शहरमा

जीवनको भिख माग्न इश्वरको पुजा गर्छन
श्रमिकको श्रममाथि गदार भयो शहरमा

Saturday, November 6, 2010

रश्मि झुल्केका रातहरु प्रकाशित

सक्रिय युवा साहित्यकार तथा प्रभास साहित्यिक समूहकी साधारण सदस्य रश्मिला कवाङ `रश्मि`को पहिलो कृति `रश्मि झुल्केका रातहरु` (गजल सङ्ग्रह) प्रकाशित भएको छ । ९४ वटा गजलहरु समाविष्ट सो सङ्ग्रहको प्रकाशन पिता आसराम कवाङ र माता रामप्यारी कवाङले गरेका हुन् ।

सङ्ग्रहमा समाविष्ट अधिकांश गजलहरु उत्पीडित वर्ग, लिङ्ग, जाति र क्षेत्रको पक्षमा उभिएका छन् । सुदीप सुवालको अर्थपूर्ण आवरण र मिडिया प्लसको आकर्षक डिजाइनले सङ्ग्रहलाई थप ओजपूर्ण बनाएको छ ।