Monday, September 27, 2010

२४औँ शृङ्खलामा सिर्जना सागर

सिर्जना सागरको २४औँ शृङ्खला सम्पन्न भएको छ । सो शृङ्खलामा हरि बहादुर कर्माचार्य, शुभराज राई,असीम भुजेल, रुपेश सिलवाल, उदिम किराती, नवराज क्षितिज, नाकिमा, केशव सिलवाल, रविन श्रेष्ठ, देव अन्जान शाह, दृश्य र मुकुन्द प्रसाद दुलालले सिर्जना वाचन गरेका थिए । वाचित सिर्जनाहरुमाथि कवि स्वप्निल स्मृतिले टिप्पणी गर्नुभएको थियो ।

Sunday, September 26, 2010

भनेर गएथ्यो

कपिल अन्जान
क्रान्ति गर्छु भनेर गएथ्यो
एकदिन मर्छु भनेर गएथ्यो

हेर्नु दुःखको सागरबाट
तार्छु र तर्छु भनेर गएथ्यो

अँध्यारोमा बाँचेको धेरै भयो
उज्यालो छर्छु भनेर गएथ्यो

तिम्रो सपना पुरा गर्नुछ
एक्लै लड्छु भनेर गएथ्यो

फर्केन छोरो आजसम्म
नजिक पर्छु भनेर गएथ्यो

Sunday, September 12, 2010

मेरी दिदी

विशद 
 मेरी दिदी
आफ्ना दुब्ला-चेप्टा हातका औलाहरु खेलाएर
निकै लामो

नाइल नदिजस्तै लामो
एउटा चुल्ठो बाट्थीन
र चुल्ठोको टुप्पोमा कस्ने गर्थीन
एकहाते सेतो रिबन ।


उनी बगरका वालुवामा लुट्पुटिएर
घण्टौसम्म गँगटासँग
डराउने गरेका ती दिनमा
म रुखको फेदमा बस्थे
र द्रौपतिको चिरहरण सम्झेर तस्रन्थे
उनी जङ्गलमा दिनभर दाउरा खोज्दै
हिड्ने गरेका ती दिनमा
म यता कक्षाकोठामा टोलाउथे
र सिताअपहरणको कथा पढेर झस्कन्थे
उनी गँगटाले टोकेपछि
थोरै सेतो रगत वाक्थीन
उनी वन-काँडाले डसेपिछ
केहिक्षण घुक्क-घुक्क रुन्थीन
उनको त्यो रुवाई
त्यो पिडा
थोरै-थोरै गरी जमेर
एउटा लामो चुल्ठो बनेको थियो
जसको टुप्पोमा उनले
जबर्जस्ती कसेकि थिइन
एकहाते सेतो रिबन ।

उनी चिच्याउन त चिच्याउथीन
तर हसियालाई उनले दाउरा काटेरै मात्र
भुत्ते बनाइन
काँडा ताछ्नुपर्छ भन्ने बुझिनन्
उनी कराउन त कराउथीन
तर नाङ्गा पैतालाले
गँगटाहरु कुल्चिनुपर्छ भन्ने जानिनन्
उनको त्यो चित्कार
त्यो क्रन्दन
बिस्तारै बढेर
एउटा लामो चुल्ठो बनेको थियो
जसको टुप्पोमा उनले
बलफ्जस्ती कसेकि थिइन
एकहाते सेतो रिबन ।

आज मैले
वर्षौपछि भेटे उनलाई
नख्खुजेलभित्र
उनले त्यो फोहोरी चुल्ठो काटेर
लाग्थ्यो कुनै सुन्दर सपनाको लागी
आफ्ना कपालहरुलाई स्वतन्त्र छाडेकी थिइन
र अब सदाका लागि
निधारमा कसेकि थिइन
एकहाते रातो रिबन

Tuesday, September 7, 2010

हजुरको मुलुकमा

-उ‍दीम किराती


के थिएँ कस्तो भएँ हजुरको मुलुकमा
न त हजुर जस्तो भएँ हजुरको मुलुकमा

मुल्य नै छैन मेरो यी मान्छेको बजारमा
के कारण म सस्तो भएँ हजुरको मुलुकमा

कसैको कुरा सुनिन नुनको सोझो गरिन
बहुलाएपछि यस्तो भएँ हजुरको मुलुकमा

नाच्नै जानिन र आँगन टेढो भनेहुँला
गीतबिना पो उस्तो भएँ हजुरको मुलुकमा

Sunday, September 5, 2010

वार्षिक विशेष गजल अन्तरकि्रया (शेर शल्यकि्रया-२) सम्पन्न

१९ भाद्रः प्रभास-गजल विभागको संयोजकत्वमा वार्षिक विशेष गजल अन्तरकि्रया (शेर शल्यकि्रया-२) भव्यताका साथ सम्पन्न भएको छ । ललितपुर सातदोबाटोस्थित चोमोलुङ्मा प्रतिष्ठानको कार्यालयमा भएको सो कार्यक्रममा प्रभास-केन्द्रबाट नदीश, कपिल अन्जान, तारा थुलुङ 'अथाह’, नाकिमा, मंजु मार्मिका, दृश्य र विशद तथा प्रभासका साधारण सदस्यहरु रमेश स्वप्नील र रश्मिला कवाङ 'रश्मी’ को उपस्थिति थियो । त्यस्तै अतिथिको रुपमा उदिम किराती र रेणुका श्रेष्ठ सहभागी भएका थिए ।

कार्यक्रममा प्रत्यक स्रष्टाका गजलहरुमाथी सबै उपस्थित सदस्यहरुले गम्भीर रुपले आलोचनात्मक र रचनात्मक ढङ्गले आफ्ना धारणाहरु राखेका थिए । वर्गीय पक्षधरता, वैचारिक स्पष्टता, सांगीतिक छनकयुक्त लेखाई, संरचनात्मक पूर्णता, काफिया-रदिफमा कौशलता र प्रयोग इत्यादिलाई आधार मानेर सबैले आफ्ना टिप्पणी राखेका थिए ।

गजल विभाग संयोजक नदीश र सदस्य तारा थुलुङ 'अथाह’ ले पालैपालो संचालन गरेको सो कार्यक्रमको अन्तमा उदिम किरातीलाई साधारण सदस्यको रुपमा मनोनयन गरिएको थियो । उपस्थित सबै स्रष्टाहरुले गजलका विविध पक्षको चिरफार गर्न कार्यक्रम निकै सफल रहेको र कार्यक्रम समग्रमा निकै उपलब्धिमुलक भएको धारणा राखेका थिए ।