Sunday, October 31, 2010

छिरिबुङ

-नाकिमा
मेरो जीवनको मुहान
मेरो सपनाको बिहान
ओ छिरिबुङ !

घाउ थियो मनमा, जो बल्झिरहन्थ्यो
जीवन थियो भीरमा, त्यो अल्झिरहन्थ्यो
मुटुको टुक्रा मान्थ्यौ
जिउने आधार ठान्थ्यौ
ओ छिरिबुङ !

खालि रहेछ जन्म, जीवन भरिदियौ
फूल त रहेछ जीवन, आखिर झरिदियौ
तिम्रो स्नेहले डोर्याइरहेछ
तिम्रो बास्नाले पछ्याइरहेछ
ओ छिरिबुङ !

*सुनाखरी फूल

Tuesday, October 26, 2010

बैश बेचियों !

-सुवास आम्बोटेली
यो पल्ट, शहरमा बैश बेचियों
रहरै रहरमा बैश बेचियों

राराको कुवामा अन्जुली भरेर
खाडीको नहरमा बैश बेचियों

जीवनको मधुरस राखेर धितो
आश्चर्य ! जहरमा बैश बेचियों

जीन्दगी उतै छ,हाउगुजी हाउ
अल्लारे ठहरमा बैश बेचियों

यो पल्ट, शहरमा बैश बेचियों
रहरै रहरमा बैश बेचियों

Sunday, October 17, 2010

ज्यूँदैछु

नदीश
आवाज देऊ, ज्यूँदैछु बन्द कोठाभित्र
ढक्ढक्याऊ, ज्यूँदैछु बन्द कोठाभित्र

उज्यालोको आविष्कारमा निदाएछन् आँखा
झक्झक्याऊ, ज्यूँदैछु बन्द कोठाभित्र

छालाहरु उप्क्याइँदैमा लाश बन्दैन क्वै
सुम्सुम्याऊ, ज्यूँदैछु बन्द कोठाभित्र

आँधी यात्रा गर्नेहरु मर्याछैन कैलै
नसुर्ताऊ, ज्यूँदैछु बन्द कोठाभित्र

'नदीश'सँगै पर्खालभित्र कैद भा'छ समय
भत्काइदेऊ, ज्यूँदैछु बन्द कोठाभित्र

Friday, October 15, 2010

झरी पर्यो एकोहोरो

-प्रतिमा पाठक

झरी पर्यो एकोहोरो चुहिएको छाना हेर्छु
के-के कोर्यौ दैव मेरो जिन्दगीको पाना हेर्छु

सिस्नु छ तरकारीमा दाल कहाँ पाउनु हजुर
कराइमा तैरिएको सिन्कीको चाना हेर्छु

सिकसिकाउँदै आई छोरी धानै रोपी पराइको
बर्षौँदेखि पखालिएर रङ उडेको नाना हेर्छु

मेरी प्यारी जहानले मनभरिको प्रेम दिन्छे
भकारी त कैले भर्नु रित्तिएको माना हेर्छु

Monday, October 4, 2010

गीत अन्तरकि्रयासँगै छलफल

१६ असोजः खोटाङबाट आउनुभएका अग्रज संगीतकार भीमसेना राईको विशेष उपस्थितिमा प्रभास गीत विभागले ललितपुरमा नियमित गीत अन्तरकि्रया सम्पन्न गरेको छ । मंजु मार्मिका, नाकिमा, नदिश र विशदले आ-आफ्ना गीत पढेर सुनाएका थिए भने संगीतकार भीमसेना राईले आफ्ना सांगीतिक रचनाहरु गाउनुभएको थियो । उहाँको संगीत र वाचित रचनामाथि सबैले आ-आफ्नो धारणा राखेका थिए ।

प्रभासको पहिलो गजलसंग्रहको तयारीको लागी नदिशको संयोजकत्वमा विशद र तारा थुलुङ अथाह सदस्य रहने एउटा टिमको पनि घोषणा गरिएको थियो । साथै www.salambihani.com  र वार्षिक विशेष गीत अन्तरकि्रयाबारे पनि गम्भीर छलफल चलेको थियो ।

Friday, October 1, 2010

शब्दशिखामा सिर्जना सागर

प्रभास साहित्यिक समूहको मासिक प्रकाशन शब्दशिखाको सिर्जना सागर विशेष १२ औँ अङ्क प्रकाशित भएको छ । यस अङ्कमा सिर्जना सागरका नियमित सहभागीहरुको सिर्जनाहरुका साथै सिर्जना सागर सम्बन्धी सामग्रीहरु समेटिएका छन् ।