Monday, July 26, 2010

छङ्छङ् बग्ने पानी

मन्जु मार्मिका
झरझर गर्ने झरनासँगै छङ्छङ् बग्ने पानी
सङ्घर्षमा सानो-ठूलो हुँदै बग्ने बानी

डाँडापारि फुल्यो फूल फूलैमा रस बस्यो
जानुपर्ने टाढा अझै पुलैमा दश बज्यो
दोधारमा नबसौँ है चाँडै बढौँ हामी
झरझर गर्ने झरनासँगै छङ्छङ् बग्ने पानी

सयौँ दिन रात गरी वर्षाँै बित्दै जान्छन्
कैले औँसी कैले पूर्णिमाको रात बनी बित्छन्
राख्नु पर्ने सुमार्गमा हिँडी राख्ने बानी
झरझर गर्ने झरनासँगै छङ्छङ् बग्ने पानी

Sunday, July 25, 2010

२२ औं अंकमा 'सिर्जना सागर'

श्रावण ८-अखिल नेपाल लेखक, संघ ललितपुर र www.salambihani.com ले हरेक महिनाको दोस्रो शनीवार, लगनखेलमा सँगै आयोजना गरिरहेको कार्यक्रम 'सिर्जना सागर'ले  आफ्नो २२ औं अंक पुरा गरेको छ । कवि हरि ब. कर्माचार्यको अध्यक्षतामा भएको साहित्यिक सिर्जना सुन्ने/सुनाउने सो कार्यक्रममा तिलक चाम्लिङ, अमोघ काफ्ले, कमल नियोन, केशव सिलवाल, विमला केयरलेस, तामन राई, नाकिमा लगायतका २५ जना स्रष्टा/स्रोताहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको संचालन कवि दृश्यले गरेका थिए ।

Saturday, July 24, 2010

संवाद

-रमेश स्वप्नील

आमा !
त्यो भयंकर
त्यो डरलाग्दो
कालो बादल
किन हट्दैन ?
किन छेकिदिन्छ त्यसले
उज्यालो किरणहरु ?

छोरा !
सायद बादललाई
उज्यालो मन पर्दैन

उज्यालो भएको धर्ति पनि ।

Monday, July 19, 2010

समूह परिचय

सलाम बिहानी

रातो कलमको हो धारिलो धार यो
चिर्नुछ अँध्यारो, यो प्रभासी संघार हो
रक्तिम किरणमा जन्माउँदै सपनी
क्षितिज भन्दैछ-'सलाम बिहानी’ ।

अनन्त यात्रामा डटी बढ्नेछ
ताराको बस्ती यो बोकी हिँड्नेछ
छ काँडाको बाटो, यो हिँड्छ तैपनि
धर्ती सुसेल्दैछ-'सलाम बिहानी’ ।

समाजको चित्र छ कलापहरमा
एक संसारको सचेत, चेतनालहरमा
वर्गीय मुक्तिलाई जोडले पुकारी
योद्धा बोल्दैछ-'सलाम बिहानी’ ।

सीमाको त्यो कालो जङ्गेपिलर ढलाउन
माटो जोगाउन, रातो किनारा बनाउन
जगाउँदैछ देश सुन ए ठुले-सानी
नेपाली भन्दैछ-'सलाम बिहानी’ ।

ब्वाँसाको बस्ती जलाउनैछ बाँकी
समताको संसार बनाउनैछ बाँकी
साँस्कृतिक रुपान्तरण अभिभारा ठानी
प्रभास बोल्दैछ-'सलाम बिहानी’ ।

प्रभास समूह

Tuesday, July 13, 2010

नियमित छलफल सम्पन्न

२६ असार । प्रभास केन्द्रको नियमित कार्यक्रम अन्तर्गत यो शनिवार पाटनढोकामा चियापानसँगै समूहको आगामि कार्यदिशावारे छलफल भएको छ । साधारण सदस्यता वितरणलाई गती दिने, वार्षिक गजल विशेष अन्तरक्रिया अन्तर्गत 'शेर शल्यक्रिया-२’ का लागी अन्तिम तयारीमा जाने, www.salambihani.com मा समूह परिचय अपडेट गर्ने इत्यादि महत्वपूर्ण निर्णय गर्दै उक्त छलफल टुङ्गिएको थियो ।

पारी गाँउले

विपल बोयुङ 
लुम्बिनीमा राल झार्ने तिनै पारी गाँउले
दसगजामा सीमा सार्ने तिनै पारी गाँउले

भाई बनी ढेपिंदै छ  भित्र स्वार्थ लुकाई
तराई-पहाड फटो पार्ने तिनै पारी गाँउले

आफ्नै आँगन पनि हाम्रो थियो भाछ आज
सिकिम-टिस्टा पारी सर्ने तिनै पारी गाँउले

डुलाउछन् कुटिल नजर हाम्रै सम्पदामा
मित्र बनी मुक्का मर्ने तिनै पारी गाउँले

हिमनदीको छालपनि कैद गर्न खोज्छ
मध्यरातमा खोला बार्ने तिनै पारी गाँउले

साबधान ए योद्धाहरु कान खोलि सुन
बहादुर लाई जुवा नार्ने तिनै पारी गाँउले 

Saturday, July 10, 2010

गीत वाचन/अन्तरकि्रया सम्पन्न

source: http://visitprabhas.blogspot.com/
१९ असारः प्रभास, केन्द्रको नियमित 'गीत वाचन तथा अन्तरक्रिया' कार्यक्रम पुल्चोक ईन्जिनियरिङ्ग कलेजको प्रांगणमा गत शनिवार सम्पन्न भएको छ । प्रभास, खोटाङकी सल्लाहकार विमला केयरलेश तथा उदयमान संगीतकार सोनाम बज्यू तामाङ विशेष अतिथी रहेको उक्त कार्यक्रममा सदस्यहरु नाकिमा, नदीश, मंजु मार्मिका, दृश्य र विशदको उपस्थिती रह्यो । उपस्थित समपूर्ण स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गर्नुका साथै वाचित सबै रचनामाथी आफ्नो धारणा व्यक्त गरेका थिए । आउदा कार्यक्रममा सैद्धान्तिक बहसलाई पनि घनिभूत बनाउने प्रतिबद्धताका साथ उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Monday, July 5, 2010

जनताको संविधान

ध्रुवसत्य
 
म मेरो अजातशत्रुको अनुहार हेर्न आतुर छु ।

 
बाहिर मेरो न्वारान गर्नेहरुको नियत बुझिनसक्नु छ
जसले जस्तो व्याख्या गरे पिन
म जनताको संविधान हुँ
म गर्भमा छु
र मेरो अजातशत्रुलाई चिन्ता छ
कि म जन्मेपिछ
सारा शत्रुलाई सखाप पार्ने छु ।

 
कल्पित चिन्तामा बाँचेको ओ मेरो अजातशत्रु-
जब म सहिदले आर्जेको माटोमा टेक्ने छु
तब म सम्यक् दृष्टिले दुनियालाई देख्ने छु ।

 
यो माटोमा म जन्मेपछि
जो कोही जो कसैको मतियार हुनेछ
कि आत्म-निर्णयको अधिकार हुनेछ
‘जसको जोत् उसैको पोत’ हुनेछ
मालिक को हो-मजदुर को हो
इतिहासको खोज हुनेछ
तर तर म फेिर
मेरो अजातशत्रुलाई खोज्ने छैन
त्यो अजातशत्रू
जो म गर्भमा रहेका बेला पिन
मेरी आमालाई बलात्कार गरिरहन्छ ।

 
म समयको गर्भमा जन्मीसकेको छु
यसैले
मलाई कसैले तुहाउन सक्ने छैन
म हजारौं सहिदको सपना हुँ
त्यसैले
म जन्मेर जसको अनुहारमा हेर्ने छु
ऊ मेरो शत्रु रहने छैन ।

 
म मेरो अजातशत्रुको अनुहार हेर्न आतुर छु ।