Thursday, December 31, 2009

बन्द मेरा आँखामा

- शकुन आँसु
चिप्लदो रातमा
नतमस्तक दौडिरहन्छ
फराकिला गोरोटोहरुमा
सामुन्द्रका सतहहरुमा
घरी इन्द्रकमल
घरी जलकमल बनेर ।

नपत्याउदा हिमाली गमलामा
बेसमारी सुगन्धित बनेर छरपस्टिदा
लामबद्ध भमराहरुले
छिन्द्रा-छिन्द्रामा मलाई
चपाएर नशा सोहोर्थे
आकाश नीलै थियो
धरती सफै थियो
हिमाल ताजै थियो
झिमिक्क-झिमिक्क
सिनेमाको कास्टिङझैं
ब्रम्हाण्ड घुमिरहन्छ
बन्द मेरा आँखामा ।

Wednesday, December 30, 2009

अब झण्डा फेरिनुपर्छ

- नदीश
हाम्रो झण्डाको किनार
नीलो छ
र त, हामी शान्त छौँ
हाम्रो सिमानामाथिको आक्रमणमा

हाम्रो झण्डाको भूइँ
रातो छ
र त, हामी लडिरहन्छौँ
एक-आपसमा

चन्द्र माथि छ हाम्रो झण्डको
सूर्य तल छ
र त, हामी भ्रमित छौँ
सूर्यभन्दा शक्तिशाली छ चन्द्रमा

अब झण्डा फेरिनुपर्छ
चन्द्र-सूर्य उल्ट्याइनुपर्छ
भूइँ नीलो

किनारा रातो बनाइनुपर्छ ।

Sunday, December 20, 2009

ईट्टामानव

-विशद
ऊ ईट्टामानव
संसारकै ठूलो आतंककारी
किनकी उसले बोक्ने ईट्टा
सधै रातो हुन्छ ।
ऊ मोहम्मद मियाँका लागी
ईट्टाहरु ओसार्छ
मोहम्मद महोदय
राता रहस्यहरु
हरियो रङले ढाक्न खोज्छन्
ऊ विष्णुराम पण्डितका लागी पनि
ईट्टाहरु ओसार्छ
विष्णुराम महोदय
तुलसि मठमुनी
राता चिहानहरु लुकाउन खोज्छन् ।
मन्दिरमा बलि दिइएका
मस्जिदमा हलाल गरिएका
अनि सयौ वर्षदेखि
चुपचाप रगत बगाईरहेका
लाखौ ईट्टामानवका
थोपा-थोपा रगतहरु मिलेर
बन्छन् राता ईट्टाहरु
तर ऊ ईट्टामानव
आफैले बोक्ने ईट्टाको
रातो रङसँग
बेखबर छ ऊ ।
नयाँ मन्दिर बनाउन
उसलाई डाकिन्छ
नयाँ मस्जिद बनाउन
उसलाई बोलाईन्छ
ऊ मन्दिरको एक छेउमा थुक्दै
अर्को छेउमा गारो उठाउछ
ऊ मस्जिदको जगमा कुल्चदै
छतमा सुन्दरता बिछ्याउछ
उसलाई मतलब छैन
मन्दिरमा कसको भगवान छ
मस्जिदमा कुन अल्लाहको बाँस छ
ऊ पसिना मुछेर रोटी टोक्छ
ऊ रगत निचोरेर ढिडो निल्छ
उसलाई अल्लाहले मस्जिदमा बाँस दिदैन
ऊ मर्दा भगवानले कात्रो ओढाउदैन
त्यसैले ऊ कुल्चन्छ
राता ईट्टाले बनेका कुरुप मन्दिरहरु
त्यसैले ऊ हिर्काउछ
राता ईट्टाले बनेका राक्षसी मस्जिदहरुमा
तर आफैले बोक्ने ईट्टाको
रातो रङसँग
अझै बेखबर छ ऊ ।

ऊ ईट्टामानव
संसारकै ठूलो आतंककारी
किनकी उसले बोक्ने ईट्टा
सधै रातो हुन्छ ।

Sunday, December 6, 2009

मेरो प्रतिज्ञा

-दृश्य

मध्यादिनमा जब तिमी
निर्लज्ज सवालहरु गछ्र्यौ
म बिस्तारै
तिम्रा हत्केलाहरु सुम्सुमाउँछु
कारण :
तिमीले भुलिसकेको
मेरो वर्तमान
अन्धकारलाई चिरेर हिडेको
एउटा सानो आगोको झिल्को
आज राँको बनेर सल्कदैछ
मेरो प्रतिज्ञा
त्यहि राँकोमा म आज
आफ्ना कुपुत्रहरुलाई डढाउन चाहन्छु ।

उत्तरहिन प्रश्नका सवालहरुमा
तिमी जहिलेपनि
आफ्नै ईश्वरलाई जोड्छ्यौ
ईश्वर :
म मान्दिन तिनका
नौटङ्की चटकहरु
मैले कैयौ बुँद पसिनाका दानाहरु
तिनैको आकृतिमा चढाईसकेको छु
तापनि
म तिनैको भाषामा
अछुत भएर बाचिरहेको छु
मेरो प्रतिज्ञा
म तिम्रो ईश्वरका
मुखहरुमा आगोको मुस्लो कोच्नेछु
र हेरिरहनेछु
तिम्रो ईश्वर
आफ्नालागी के चाहि गर्दा रहेछन् ।

इतिहासको साक्षि भन्दै
तिमी समयलाई थम्याउछ्यौ
समय,
रगतको प्याला पिउन पल्केको समय
मेरो समिपमा बुख्याचा बनेर आउछ
र धमनीहरुमा पौडि खेल्दै
मस्तिष्कमा विष्फोट गराउछ
मेरो प्रतिज्ञा
यी हत्यारा समयहरुलाई
म सेतो परेवा बनेर ठूँगीरहनेछु
तिमी हेरिरहनु
निरन्तर...। निरन्तर...॥

Tuesday, December 1, 2009

यात्रा जारी छ

- नविना
पुग्नु पारी छ
यात्रा जारी छ

बोक्याछौं पिठ्यूँमा
ठूलो भारी छ

सहज छैन बाटो
काँडाघारी छ

रोप्नु छ अधिकार
बाँझो बारी छ

छिनाउँछौं बाधा
विचारको आरी छ