Tuesday, June 29, 2010

खै कहाँ हुन्छ ?

source: http://visitprabhas.blogspot.com/
घाम जस्तो जून खै कहाँ हुन्छ ?
पानी जस्तो खून खै कहाँ हुन्छ ?

वर्ग युद्दको बांसुरी फ़ुकिरहेछु म
यति मिठो धुन खै कहाँ हुन्छ ?

शरिर तोर्न मिल्ने सर्बहाराको
कपास हो या उन खै कहाँ हुन्छ ?

अधियाँ मै साहुको खेत बारी हाम्ले
जोत्नै पर्ने जरूर खै कहाँ हुन्छ ?

न्यायालय भित्रै न्यायाधीश लाई
फांशी दिने कानून खै कहाँ हुन्छ ?

मन्दिर, मूर्ति या तिम्रो त्यो मन
खोजी हेर 'श्रवण' खै कहाँ हुन्छ ?

Saturday, June 26, 2010

२१औं श्रृङ्खलामा 'सृजना सागर'

ललितपुर १२ असारः सिर्जना सुन्ने र सुनाउने नियमित मासिक साहित्यिक कार्यक्रम 'सृजना सागर' को २१औं गद्यविशेष श्रृङ्खला ललितपुरमा सम्पन्न भएको छ । www.salambihani.com   र अखिल नेपाल लेखक संघ, ललितपुरको संयुक्त आयोजनामा विगत २१ महिनादेखि लगनखेलको नमुना उ. मा. बि. मा संचालन भइरहेको सो कार्यक्रम उपत्यकाका उदयमान सर्जक तथा राष्ट्रिय स्तरका स्रष्टाहरुको मिलनकेन्द्रको रुपमा अघि बढिरहेको छ ।

कवि हरि ब. कर्माचार्यको सभापतित्वमा सम्पन्न २१ औं श्रृङ्खलामा विश्वदर्शन, रमेश स्वप्निल, विशद, दृश्य लगायतका स्रष्टाहरुले लघुकथा सुनाएका थिए भने तिलक चाम्लिङ्ग, लक्ष्मी, नवराज क्षितिजलगायतका केहि स्रष्टाहरुले कविता पनि वाचन गरेका थिए र त्यस्तै गायक/संगीतकार सोनामले तारा थुलुङ 'अथाह' द्धारा रचित र आफैले सङ्गित भरेको गीत गाउनुभएको थियो । कवि नाकिमाले संचालन गरेको सो कार्यक्रम भानुभक्त एफ. एम. का कार्यक्रम संचालन देव 'अन्जान'ले वाचित रचनामाथि सटिक टिप्पणी राखेलगत्तै समापन भएको थियो ।

हरेक महिनाको दोस्रो शनिवार ११ बजे संचालन हुने 'सृजना सागर' को २२ औं अंक आगामी साउन ८ गते सोहि स्थानमा सम्पन्न हुदैछ । सबै श्रृङ्खलामा वाचित रचनाहरुमध्येबाट छनोटमा परेका सृजनाहरु समेटेर सङ्ग्रह निकाल्ने तयारीमा रहेको बताउदै आयोजकले सबै ईच्छुक सर्जक तथा स्रोताहरुलाई आगामी अंकहरुमा उपस्थितीको लागि आह्वान समेत गरेका थिए ।

Wednesday, June 23, 2010

म आए

मनका ए रहरहरु ! ननिदाउ म आए
अध्यारोलाई ए उज्यालो ! नजिताउ म आए

यै प्रहरको पर्खाइमा हिमाल पँग्ले कति
पाखुरी हो ! जोशहरु नसिध्याउ म आए

कालो छाँया मुर्मुरिन्छ बन्द कोठाभित्र
झुठो डरमा भो ए मुटु ! नचिच्याउ म आए

चुप्प लाग्छ ढुँगामाटो पहिरो जानुअघि
पर्ख अझै यति छिट्टै नबताउ म आए

मजदुर गीत

संगीतः राम लामा
स्वरः प्रलाप राई र रोशना रश्मी
साथमा सुधा किरात र राम लामा ।
.........................................................

यो देशको निर्माण गर्ने
हामी मजदुर हौं
विकासको मूल फुटाउने
हामी मजदुर हौं
देशकै लागि यो जीवन दिने
हामी मजदुर हौं

दुनियालाई बदल्न सक्ने
हामीमा तागत छ
मरेर पनि बाँचिरहने
शहिदको रगत छ
हामी आफ्नै श्रम र सीपले
यो धर्ती िसंगार्छौं
पसिनाले िसंचेर माटो
अमूल्य बनाउँछौं

कसैको दासी बन्दैनौं हामी
अन्याय सहन्नौं
पौरखले बाँच्छौं कसैको सामु
कहिल्यै झुक्दैनौं
सुस्ताएर बस्दैनौं हामी
शिखरमा पुग्नु छ
आफ्नो अधिकार लिनलाई अब
एक भई जुट्नु छ ॥

Sunday, June 20, 2010

'कविता वाचन तथा अन्तरक्रिया' को असार अंक सम्पन्न

५ असार । नियमित कार्यक्रम अन्तरगत प्रभास साहित्यिक समूह, कविता विभागको संयोजनमा सदस्यहरु नाकिमा, तारा थुलुङ 'अथाह', नदीश, दृश्य र विशदको उपस्थितिमा "कविता वाचन तथा अन्तरक्रिया" को असार (०६७) शृङ्खला सम्पन्न भएको छ । उक्त कार्यक्रममा सबै सहभागीले आफ्ना
रचना वाचनका साथै एकअर्काका रचनामाथी रचनात्मक टिप्पणी राखेका थिए । आगामी शनिबार लगनखेलमा 'सिर्जना सागर' को एक्काइसौँ श्रृङ्खला सम्पन्न हुँदैछ ।

Thursday, June 17, 2010

सहरमा नयाँ छायाँ


नाघेर सयौँ
दुःखका डाँडाहरु
तरेर हजारौँ
आँसुका नदीहरु
काटेर लाखौं
धैर्यताका घुम्तीहरु
सपनाको चोमोलुङमा बोकेर
एउटा नयाँ छायाँ
सुदूर गाउँबाट
भर्खरै आइपुगेको छ
कल्पनाको यो सहर

टेकेको छ यहाँ उसले
आफ्नो पहिलो पाइला
तर
बाँकी नै छ उसले चिन्न
यो सेतो सहरलाई

यसको छातीमा परेड खेलिरहेका
यी अभ्यस्त काला छायाँहरुलाई ।

Saturday, June 12, 2010

गद्य सिर्जना वाचन तथा अन्तरक्रिया सम्पन्न

२९ जेठ । नियमित कार्यक्रम अन्तरगत प्रभास साहित्यिक समूह, केन्द्रको संयोजनमा सदस्यहरु नाकिमा, मंजु मार्मिका, दृश्य, विशद र नदीशको उपस्थितिमा "गद्य सिर्जना वाचन तथा अन्तरक्रिया" को पहिलो शृङ्खला सम्पन्न भएको छ । उक्त कार्यक्रममा नाकिमा र दृश्यले लघुकथा, त्यस्तै विशदले कथा, नदिशले निबन्ध र मंजु मार्मिकाले 'विपल बोयुङ'को पत्रसाहित्य वाचन गर्नुभएको थियो । वाचनपछि सबै सहभागीले एकअर्काका रचनामाथी रचनात्मक टिप्पणी राखेका थिए । आगामी शनिबार 'कविता वाचन तथा अन्तरकि्रया' सम्पन्न हुँदैछ ।

Tuesday, June 8, 2010

कविको मृत्यु

- नदीश
एकाविहानै, मुर्दा शहरको एक कुनामा
भेटिए सयौँ बेवारिसे लासहरु
मेरा निसास्सिएका आदिम सपनाहरु
हिँजै मरिसकेछन्

शदियौँदेखि जून उदाएकै हो आकाशमा
उदाइरहेछ आज पनि
र पक्कै उदाउनेछ भोलि

आगनभरि छरिएको जूनभित्र
आशाको खेती गर्थे कविहरु
रापिन्थे उनीहरु दिनभरिको चर्को घाममा
र हरेक साँझ
शीतलताको अघाउँजी बयान गर्थे

आज छरिएको छैन जून
कुनै पनि कविको आगनमा
मानौँ
यतिखेरको जून
विद्रोह गरिरहेछ कविसँग

एकाविहानै मुर्दा शहरको एक कुनामा
भेटिए सयौँ बेवारिसे लासहरु

बेखबर छ शहर !

आशाको खेती गर्ने एक हुल कविहरु
हिँजै मारिएछन्

Saturday, June 5, 2010

गजल वाचन तथा अन्तरक्रिया सम्पन्न

२२ जेठ । नियमित कार्यक्रम अन्तरगत प्रभास साहित्यिक समूह केन्द्र गजल विभागको संयोजनमा सदस्यहरु तारा थुलुङ 'अथाह', नाकिमा, मंजु मार्मिका र नदीशको उपस्थितिमा "गजल वाचन तथा अन्तरक्रिया" को तेस्रो शृङ्खला सम्पन्न भएको छ । आगामी शनिबार गद्य वाचन तथा अन्तरकि्रया सम्पन्न हुँदैछ ।

Thursday, June 3, 2010

यसरी उठने थिइन आमा

- मंजु मार्मिका
पहिले मलाई खुकुरीको धार बनाइयो
हिजो सम्म उध्याउने गरिन्थ्यो
आज कजिएकी छु
यहाँ भन्दा बढी उध्याउन पर्दैन
साँध लगाउन पर्दैन मलाई

कहिले मलाई हँसिया बनाइयो
र धान काट्न घाँस काट्न प्रयोग गरिन्थ्यो
कहिले खुकुरी बनाएर
साँध लगाइन्थ्यो र फत्ते गरिन्थ्यो
गर्न हुने र नहुनेकामहरु
कहिले खुकुरी कहिले हँसिया बन्नुको पिडाले
आज म बल्झिएकी छु

कि त मलाई खुकुरीको धार बन्न दिइयोस
कि त हँसियाको दाँत बन्न दिइयोस
र मेरै काममा लगाइयोस

हो डराउनु पर्दैन म जे भएपनि
मेरा धार या दाँत जे भएपनि
मैले देखेकै छु
मलाई बल्झाउनेहरु
यहीँ कतै लुकेर झुकेका छन्

हिजो मलाइ गोरुजस्तै बनाएर खेतमा
नजोताइएको भए
अगुवा बनाएर खुट्टा
नतानिदिएको भए
मेसिनका पुर्जा बनाएर
परिचालन नगरिएको भए
आज पनि मलाइ मेरै काममा
लगाइएको भए
म यसरी उठने थिइन आमा !

मंसिरको चाडवाड सम्झेर
असारको हिलो छिचोल्दै
जोतेका खेतबारीमा
बेलैमा कमाइ लगाउन पाएको भए
हावा हुरीको प्रवाह नगरी भदौमै बाली
मौलाउन पाएको भए
त्यहीँ कमाइमा रम्थे होला ।
त्यसमै मेरो चित्त बुझ्थ्यो होला ।

म यसरी उठने थिइन आमा !
अहिले म यसरी उठने थिइन ।