Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Wednesday, November 17, 2010

सङ्घर्षका कथाहरु

-रमेश स्वप्निल
नलेख भन्छौ लेखिरहन्छौँ सङ्घर्षका कथाहरु
नचढ भन्छौ चढिरहन्छौँ राता सगरमाथाहरु

थाक्दैनौँ हामी यात्रामा लक्ष नभेटुन्जेल
नहिँड भन्छौ हिँडिरन्छौँ पन्छाउँदै बाधाहरु


छुट्दैनौँ एक-आपसमा गन्तव्य हो परिवर्तन
नजुट भन्छौ जुटिरहन्छौँ अनगिन्ति साथहरु


जेल-नेल हत्कडी तोडेर अघि-
अघि 
नबढ भन्छौ बढिरहन्छौँ बोकेर आस्थाहरु

Monday, November 8, 2010

गदार भयो शहरमा


अहो हेर कत्रो ठूलो हुँकार भयो शहरमा
चारै तिर बेइमानी धिकार छ यो शहरमा

दुर्गन्ध छ फोहोरको घमण्ड छ धनको
थुकी हिड्दा खकारै खकार भयो शहरमा

गाउँघरमा बास छैन धेरैलाई गाँस छैन
धेरै खाइ कसैलाई डकार भयो शहरमा

जीवनको भिख माग्न इश्वरको पुजा गर्छन
श्रमिकको श्रममाथि गदार भयो शहरमा

Tuesday, October 26, 2010

बैश बेचियों !

-सुवास आम्बोटेली
यो पल्ट, शहरमा बैश बेचियों
रहरै रहरमा बैश बेचियों

राराको कुवामा अन्जुली भरेर
खाडीको नहरमा बैश बेचियों

जीवनको मधुरस राखेर धितो
आश्चर्य ! जहरमा बैश बेचियों

जीन्दगी उतै छ,हाउगुजी हाउ
अल्लारे ठहरमा बैश बेचियों

यो पल्ट, शहरमा बैश बेचियों
रहरै रहरमा बैश बेचियों

Sunday, October 17, 2010

ज्यूँदैछु

नदीश
आवाज देऊ, ज्यूँदैछु बन्द कोठाभित्र
ढक्ढक्याऊ, ज्यूँदैछु बन्द कोठाभित्र

उज्यालोको आविष्कारमा निदाएछन् आँखा
झक्झक्याऊ, ज्यूँदैछु बन्द कोठाभित्र

छालाहरु उप्क्याइँदैमा लाश बन्दैन क्वै
सुम्सुम्याऊ, ज्यूँदैछु बन्द कोठाभित्र

आँधी यात्रा गर्नेहरु मर्याछैन कैलै
नसुर्ताऊ, ज्यूँदैछु बन्द कोठाभित्र

'नदीश'सँगै पर्खालभित्र कैद भा'छ समय
भत्काइदेऊ, ज्यूँदैछु बन्द कोठाभित्र

Friday, October 15, 2010

झरी पर्यो एकोहोरो

-प्रतिमा पाठक

झरी पर्यो एकोहोरो चुहिएको छाना हेर्छु
के-के कोर्यौ दैव मेरो जिन्दगीको पाना हेर्छु

सिस्नु छ तरकारीमा दाल कहाँ पाउनु हजुर
कराइमा तैरिएको सिन्कीको चाना हेर्छु

सिकसिकाउँदै आई छोरी धानै रोपी पराइको
बर्षौँदेखि पखालिएर रङ उडेको नाना हेर्छु

मेरी प्यारी जहानले मनभरिको प्रेम दिन्छे
भकारी त कैले भर्नु रित्तिएको माना हेर्छु

Sunday, September 26, 2010

भनेर गएथ्यो

कपिल अन्जान
क्रान्ति गर्छु भनेर गएथ्यो
एकदिन मर्छु भनेर गएथ्यो

हेर्नु दुःखको सागरबाट
तार्छु र तर्छु भनेर गएथ्यो

अँध्यारोमा बाँचेको धेरै भयो
उज्यालो छर्छु भनेर गएथ्यो

तिम्रो सपना पुरा गर्नुछ
एक्लै लड्छु भनेर गएथ्यो

फर्केन छोरो आजसम्म
नजिक पर्छु भनेर गएथ्यो

Tuesday, September 7, 2010

हजुरको मुलुकमा

-उ‍दीम किराती


के थिएँ कस्तो भएँ हजुरको मुलुकमा
न त हजुर जस्तो भएँ हजुरको मुलुकमा

मुल्य नै छैन मेरो यी मान्छेको बजारमा
के कारण म सस्तो भएँ हजुरको मुलुकमा

कसैको कुरा सुनिन नुनको सोझो गरिन
बहुलाएपछि यस्तो भएँ हजुरको मुलुकमा

नाच्नै जानिन र आँगन टेढो भनेहुँला
गीतबिना पो उस्तो भएँ हजुरको मुलुकमा

Monday, August 30, 2010

बिहान सुरक्षित छ

 
आमा त्यो तिम्रो चिहान सुरक्षित छ
जन्माएको तिमीले बिहान सुरक्षित छ

भाषा बोल्न सिकायौ, लिपि लेख्न सिकायौ
नगर्नू है शङ्का पहिचान सुरक्षित छ

मेटिदैन त्यो रगतले लेखेको इतिहास
परेली नभिजाउनू बलिदान सुरक्षित छ

कसले भन्न सक्छ- मरिसक्यौ तिमी
जब कि तिम्रो निशान सुरक्षित छ

Monday, August 16, 2010

हाँस्न बोल्न

-सुवास आम्बोटेली

हाँस्न-बोल्न रोक छ
घेराबन्दी चोक छ

हेर्दा सुन्दर बाहिर
भित्र अर्को थोक छ

हल्ला मात्र समान
माथिबाटै तोक छ

जाजरकोटे दशै
खुसीभित्र शोक छ

बास्मतीको गफगाफ
कनिकाको भोक छ

Sunday, August 8, 2010

पारिजात

-रश्मिला कवाङ 'रश्मि'
शिरीषको फूल जस्तै कोमलता छर्ने पारिजात
आत्म-विश्वास राखिकन भावसागर तर्ने पारिजात

नेपाली साहित्यकाशमा चम्के धेरै तारागण
नारी वर्ग उत्थानमा अग्रपङ्ती पर्ने पारिजात

मैले नजन्माएको छोरो जन्माएर समाजमा
पारिजात फूलजस्तै समर्पणमा झर्ने पारिजात
रोगले ग्रस्त जीवन बोकी बढिरहिन् सदा
संसारलाई दृढताको पाठ मनमा भर्ने पारिजात

सङ्घर्षको टुसा रोपी चुनौतिमा रमिरहिन्
मनका अकाङ्क्षा कष्ट सही पूर्ण गर्ने पारिजात

Tuesday, August 3, 2010

उठौँ अब सबै हामी

मुना निश्चल
ऊ म तिमी ए उठौँ अब सबै हामी
भइकन यी राष्ट्रघातीहरुको मलामी

देश व्यापार भो कोही बेच्छन् कोही किन्छन्
असह्य भो कालाबजारीहरुको खिचातानी

बाँच्दैन कोही बाँच्दैन अब पशु सरह बनी
गरी-गरी यी गरिबमाराहरुको गुलामी

एकाएक उठौँ एकपटक बस एकपटक
बनिकन बैरीहरुलाई अन्तिम सुनामी

Tuesday, July 13, 2010

पारी गाँउले

विपल बोयुङ 
लुम्बिनीमा राल झार्ने तिनै पारी गाँउले
दसगजामा सीमा सार्ने तिनै पारी गाँउले

भाई बनी ढेपिंदै छ  भित्र स्वार्थ लुकाई
तराई-पहाड फटो पार्ने तिनै पारी गाँउले

आफ्नै आँगन पनि हाम्रो थियो भाछ आज
सिकिम-टिस्टा पारी सर्ने तिनै पारी गाँउले

डुलाउछन् कुटिल नजर हाम्रै सम्पदामा
मित्र बनी मुक्का मर्ने तिनै पारी गाउँले

हिमनदीको छालपनि कैद गर्न खोज्छ
मध्यरातमा खोला बार्ने तिनै पारी गाँउले

साबधान ए योद्धाहरु कान खोलि सुन
बहादुर लाई जुवा नार्ने तिनै पारी गाँउले 

Tuesday, June 29, 2010

खै कहाँ हुन्छ ?

source: http://visitprabhas.blogspot.com/
घाम जस्तो जून खै कहाँ हुन्छ ?
पानी जस्तो खून खै कहाँ हुन्छ ?

वर्ग युद्दको बांसुरी फ़ुकिरहेछु म
यति मिठो धुन खै कहाँ हुन्छ ?

शरिर तोर्न मिल्ने सर्बहाराको
कपास हो या उन खै कहाँ हुन्छ ?

अधियाँ मै साहुको खेत बारी हाम्ले
जोत्नै पर्ने जरूर खै कहाँ हुन्छ ?

न्यायालय भित्रै न्यायाधीश लाई
फांशी दिने कानून खै कहाँ हुन्छ ?

मन्दिर, मूर्ति या तिम्रो त्यो मन
खोजी हेर 'श्रवण' खै कहाँ हुन्छ ?

Wednesday, June 23, 2010

म आए

मनका ए रहरहरु ! ननिदाउ म आए
अध्यारोलाई ए उज्यालो ! नजिताउ म आए

यै प्रहरको पर्खाइमा हिमाल पँग्ले कति
पाखुरी हो ! जोशहरु नसिध्याउ म आए

कालो छाँया मुर्मुरिन्छ बन्द कोठाभित्र
झुठो डरमा भो ए मुटु ! नचिच्याउ म आए

चुप्प लाग्छ ढुँगामाटो पहिरो जानुअघि
पर्ख अझै यति छिट्टै नबताउ म आए

Friday, May 28, 2010

भर्खर मात्र फक्रे

- रस्मिला कवाङ 'रश्मि'
भर्खर मात्र फक्रे चारैतिर छाउन बाँकी
जीवनगीत स्वच्छन्दले गाउन बाँकी छ

सङ्घर्षका पलहरु सम्झदा दरिलो बन्छ मन
सामना गरी सगरतिर धाउन बाँकी छ

तन मन र धनले बिराएँ यो अमरभूमि
हर मोड र पाइलामा सन्तुष्टि पाउन बाँकी छ

हतार नगर साथी हेर बढ्नुपर्छ अगाडि
शङ्खघोषले विजयी-टीका लाउन बाँकी छ

शिशिर-हेमन्तको उजाड कतिजेल टिक्छ र
हर खुसी-वर्षात् ल्याउने साउन बाँकी छ

Wednesday, May 26, 2010

माली रोयो अरे

- सर्गमञ्जरी
भुल्यौ कि त घौयाबारी आली रोयो अरे
ढिडो लिटो लोट्याएको थाली रोयो अरे

गरिब र निमुखाको लागेपछि भिसा
थर्काई खाने पल्लो गाउँको जाली रोयो अरे

बाझिएछ चर्किएछ रुखिएको धर्ती
हास्दैनन् रे घुर् यान गैह्रा फाली रोयो अरे

बेखबर बेघरबार बाँच्नुपर्दा बर्षौ सम्म
गोडमेल गरि जोगाउने माली रोयो अरे

लिलामीको तमासुक बुइगल चढे पछि
पुष माघको शीत छेक्ने पाली रोयो अरे

Sunday, May 16, 2010

दिन कसरी कटाउलान्

- श्रवन खनाल
दिन कसरी कटाउलान् खै ? सर्वहाराले
के गरी खर्च चलाउलान् खै ? सर्वहाराले

कतिन्जेल चल्छ जीवन रित्तो छानोमुनि
कहिले घर बनाउलान् खै ? सर्वहाराले

दुई छाक खाना हुन्न, विचराले कसो गरी
बालबच्चा हुर्काउलान् खै ? सर्वहाराले

हेपिएर, चेपिएर कहिलेसम्म पो
जीवन आफ्नै जलाउलान् खै ? सर्वहाराले

Wednesday, May 12, 2010

नखाएरै टारे साझ

- मंजु मार्मिका
वेदनाले छाती दुख्यो आशु मैले झारे आज
आधा पेट सधै बस्थे नखाएरै टारे साझ

होइन मेरो चाहना नि मिठै खाने रामै लाउने
अन्नको त कुरा के र पानी सम्म बारे आज

लालाबाला भोकाएर रुदै हिड्छन सँगै
दिन केही नसके नी झनै नजिक सारे आज

कस्को खेल भनौ मैले जीवन बित्यो यसै
मान्छे कै पो खेल रैछ लाजले नजर झारे आज

Tuesday, May 4, 2010

प्रकाश हो पारिजात

- तारा थुलुङ 'अथाह'
वाङमयको फराकिलो आकाश हो पारिजात
सिर्जनामा विविधताको आभाष हो पारिजात

मृत्युसँगै सकिजाने विना अस्तित्वकी होइन
कालझैं बाँचिरहने मधुमास हो पारिजात

युगले सधै हेर्न पाउने निमुखाले फेर्न पाउने
स्वस्थ सफा र दीर्घ निश्वास हो पारिजात

दासत्वलाई तोड्ने मुक्तियुद्धलाई रोज्ने
प्रतिनिधि नारीहरुको प्रकाश हो पारिजात

Wednesday, April 28, 2010

बहिनीले भन्थी

- कपिल अन्जान
जितेर आउनु बहिनीले भन्थी
नत्र नआउनु बहिनीले भन्थी

यो देशले तिम्रो रगत मागेमा
रगत बगाउनु बहिनीले भन्थी

आई लाग्ने माथि जाइ लाग्नु
अनि छप्काउनु बहिनीले भन्थी

युद्धको दुश्मन मित्र हुँदैन
भनि कराउनु बहिनीले भन्थी

वीरका छोरा हौ वीर नेपाली
वीरता देखाउनु बहिनीले भन्थी