Wednesday, January 20, 2010

दार्बिला गोरुहरु

- भुमरी
सिङ जुझाएर
सिङ भचाएर
हार्न मानेनन्
मारिरहे/मरिरहे
सिङ फुकालेर
अर्काकै खातिर
दार्बिला गोरुहरु ।

इतिहासका चरनहरुमा
अरुले कुल्चिरहदा
अर्कै तर्फ नारा थापिरहेछन्
ती दार्बिला गोरुहरु ।

डुक्रन अब त
आफ्नै भूमिमा फर्केर
ओ दार्बिला गोरुहरु !

Tuesday, January 12, 2010

लाज मान

- कपिल अन्जान
युवा पुस्ता लाज मान
कुरा बुझ्दा लाज मान

छिमेकीले सिध्याई सके
चुस्दा चुस्दा लाज मान

चोरलाई रोक्न सकेनछौ
घरमा घुस्दा लाज मान

तिम्ले गरेको तिम्रो शिकार
आएर लुछ्दा लाज मान

नेपाली भनि धाक मार्छौ
अनि सुस्ता लाज मान

घाम लाग्दैन र ?

- लक्ष्मी अनुपम
देशमा अझै युद्ध चर्के बन्दुकको लाम लाग्दैन र
सुन्दर शान्त स्वच्छ नेपाल तिमीलाई काम लाग्दैन र ?

नेताजन होसियार किन कुर्सी तानातान छ
महङ्गी झन् बढाउँदा तिमीलाई दाम लाग्दैन र ?

सडक बन्द पसल बन्द बाटो पनि गर्छौ बन्द
नेपाल बन्द हड्ताल गर्दा तिमीलाई जाम लाग्दैन र ?

कति हिँड्ने घुम्म मन, पीडाहरु लुकाएर
सर्वहारा सबै हाँसे यहाँ घाम लाग्दैन र ?

उपहार

- बोनमप्रताप मल्ल
मैले उनलाई भनेको थिएँ
मसँग एक बगैंचा पुूलहरु छन्
उपहार मेरो बगैंचाको सौन्दर्य लग
सुगन्ध लग बहार लग अनि हरियाली लग
तर उनले त यतिका खुसीहरु चाहिदैन भनिन् ।
मैले फेरि भनेको थिएँ
त्यसो भए मसित दुःखका बगरहरु पनि छन्
पीडाका पहाडहरु पनि छन्
उपहार तिमी मेरो दुःखहरु लग पीडाहरु लग
तर उनले त त्यो पनि लान्न भनिन् ।
मैले फेरि भनेको थिएँ
मसँग पाइलै पिच्छे ठेस लागिरहने तक्दिर छ
घाउझैं दुःखीरहने ह्दय छ
दुःखको भारी बोकेर बगिरहने पसिनाहरु छन् ।
रोदनमा डुबिरहने आँसुहरु छन्
पीडाले रक्तिम रगतहरु छन्
उपहार मबाट यी सब चीजहरु लग
तर उनले त यतिका नैरास्य पनि लान्न भनिन्
मैले अन्त्यमा सोधेको थिएँ
उपहार मबाट के चाहि लान्छौ
उनले भनेर गएकी छिन्
मलाई सम्भावनाका केही शुक्रकीटहरु देऊ
म तिम्रो लागि आशाका नवशिशु लिएर फर्कनेछु ।

हाँस्न-बोल्न

- सुवास आम्बोटेली
हाँस्न-बोल्न रोक छ
घेराबन्दी चोक छ

हेर्दा सुन्दर बाहिर
भित्र अर्को थोक छ

हल्ला मात्रै समान
माथिबाटै तोक छ

जाजारकोटे दशैं
खुसीभित्र शोक छ

वास्मतीको गफगाफ
कनिकाको भोक छ