Monday, August 31, 2009

एकादेशमा एउटा गाउँ

-नदीश
एकादेशमा एउटा गाउँ कथा नौलो होइन
गाउँ पस्छन् आउँहरु व्यथा नौलो होइन

म पनि त हिड्ने गर्थेँ खरबारीको बाटो
हराउने गन्तव्यको गाथा नौलो होइन

आफ्नै छाती जोतिकन मुटु रोप्छन् मुगुहरु
ऐजेरुको राज्य चल्ने प्रथा नौलो होइन

उड्थे, उड्लान, उडिरहेछन् गोहीहरु के आश्चर्य ?
आँशु भित्र दबिएको आस्था नौलो होइन

अस्तित्व थाङ्नाको

-सर्गमंजरी
ए दिदी, भन त
खै तिम्रो थाङ्ना भित्रको
आत्माको अस्तित्व
खै तिम्रो प्रसव पीडा
घुलेको मातृत्व
खै तिमीले जन्माएका
सन्तान-सन्तान बीचको भातृत्व
तिमी उसिनेको भातसरी
छरपष्ट छरिएको वर्तमान च्यापेर
जोख्दैछ्यौ भविष्य तुलो र तराजुमा
पावामा ग्राम घटाउँदै
कोइरालो जोखेझैँ तरकारी बजारमा
तिम्रा भ्रुणहरु कर्मयोद्धा बनेर
बलिदानको मैदानमा तम्तयार छन्
वुर्जुवा मष्तिस्कले भरिएका घन्टाउकेहरु
अगुवा बनिसकेका छन्
समकलीनहरुले ब्रह्माण्ड चहार्न
सुरुङ खनिसकेछन्
तिमी मात्रै किन
मात्रै तिमी किन
निस्तब्ध मध्यान्नमा
कल्लीकुमारी भएर लुटिन्छ्यौ
डल्लीकुमारी भएर कुटिन्छ्यौ
हल्लीकुमारी भएर हल्लिन्छ्यौ
चिउरा कुटिएझैँ ढिकीमा
पात हल्लिएझैँ हुन्डरीमा
अनि रोकिन्छ्यौ बस ट्रक र ट्याक्सी
रोकिएझैँ ट्राफिक जाममा
के तिमीमा मस्तिष्क छैन
के तिमीमा चेतना छैन
के तिमीमा साहस छैन
कि तिमीमा जोस जाँगर र मेहनत छैन
तिमी बाँचेको रङ्गमाच
तिम्रो कारागार हैन
तिम्रो भविष्य तिमीले गर्ने
पश्चाताप हैन
तिम्रो वर्तमानमा जादुको रहस्य छैन
तिमी होऊ-
सिर्जनाकर्ता
निर्माणकर्ता
भविष्यकर्ता
अग्रजकर्ता
सुमार्गमा डोर्याउनु छ सन्तानलाई
गन्तव्यमा पुर्याउनु छ विश्वलाई
त्यसैले बाँच्न सिक
भुट्टो सुकी उमा र पारिजात बनेर ।

नदीहरु

-मंजु मार्मिका
अग्ला अग्ला अनि कठोर
हिमालको छाती चिरा-चिरा पार्दै
पहाडको खोंचबाट दर्शनढुङ्गा पगाल्दै
गाउँबेसीका गीत गाउँदै
बाधा-व्यावधान बगाउँदै
सागर चुम्न दौडिरहेछन् नदीहरु ।

सुनकोसी, तामाकोसी र दूधकोसीझैं
संघर्षशील भएर
मर्स्याङ्दी र सप्तकोसीझैं
क्रान्तिकारी भएर
अविछिन्न र अविरल
मूल फुटेर
गन्तव्यतर्फ बगिरहेछन् नदीहरु ।

एउटै उद्देश्य लिएर
तँछाड-मछाड गर्दै
बगिरहेका नदीमाथि अन्याय गर्दै
भो पाप नपखाल
ढल नखसाल
र कुनै कष्ट पनि नदेऊ
नदी त विचारको प्रवाह हो
जसलाई बिना रोकतोक बग्न दिनुपर्छ
छाडिदेऊ बग्न देऊ नदीलाई ।

नदीको गति प्रगतिप्रति
रिस र घृणाको आगो लगाउँदैमा
नदी कसरी खरानी हुन्छ र ?
जतिसुकै कडा चट्टानले
बाँध बाध्न खोजे पनि
पानीलाई कतिन्जेल थुन्न सकिन्छ र ?
आफ्नो बाटो आफै बनाउँदै
गन्तव्यमा पुगेरै छाड्छन् हरेक नदीहरु ।

Sunday, August 16, 2009

ममता

-मुना निश्चल
घुर्यान र ओछ्यान
ल्याप्चे लगाएर
अल्लो झ्याङ समेत
जाकडी राखेर
दौडिरहन्छ अतृप्त जीवन
मृत्यु पिउन बेमंजुर
एउटा ममता ।

न अस्त्र न वस्त्र
आफू आफ्नै नजरमा
अवमूल्यन भएर
निथ्रुक्क रुझेका परेलीहरु
छिद्रै छिद्रा च्यातिएको
पटुकी बन्दकी राखेर
लडिरहन्छ असन्तुष्ट अवशेष
मृत्यु पिउन बेमंजुर
एउटा ममता ।

घनाघोर वैरभाव बोक्न पोख्त
हिरोसिमा र नागासाकी
कतै आफै पट्किए जस्तो
कतै आफै सल्किए जस्तो
न कुनै वसन्त न कुनै शरद
निस्सार परेड खेलिरहन्छ
बलात्कृत एउटा तट
मृत्यु पिउन बेमंजुर
एउटा ममता ।