Friday, July 17, 2009

रङ्गमंचमा रोबोट

-नाकिमा
जब थिचियो
रिमोटको अन बटन
तब तु हाजिर भयो
रङ्गमंचमा रोबोट ।

रिमोटको
पहिलो बटन थिचियो
र रोबोटले सिउरियो-
शिरमा श्रीपेच ।

रिमोटको
दोस्रो बटन थिचियो
र रोबोटले बोक्यो-
पिठ्यूँमा बुट ।

रिमोटको
तेस्रो बटन थिचियो
र रोबोटले गायो-
'हमारा भारत महान् ।'

आतुर छन् दर्शकहरु
कहिले पड्किएला ?
स्टेजमा एम्बुस ।

Sunday, July 5, 2009

परेवाहरु

-नदीश
परेवाहरु
निर्दोष कीराहरु ज्यूँदै निल्ने
हत्याराहरु हुन्

परेवाहरु
अरुकै घरभित्र रजाइँ गरी बस्ने
सामन्तहरु हुन्

परेवाहरु
मानिसका तालुमा निसंकोच विष्ट्याउने
असभ्यहरु हुन्

परेवाहरु
खुल्लम-खुल्ला यौनक्रीडामा मस्त रहने
सांस्कृतिक विकृतिहरु हुन्

आऊ
शान्तिप्रेमी सभ्य महानागरिकहरु
एक-एक गर्दै
सम्पूर्ण परेवाहरु मारौँ ।

Saturday, July 4, 2009

यो त मात्र सुरुवात हो

-दृश्य
झरी तिमी नआउनु अब
वर्षा अब वर्षाउनु छैन
तिम्रो प्रतिरोधमा
यी हत्केला काफी छन्
यो मेरो वाचा हो
अव प्रत्येक घरमा मूल फुट्नेछ हेर
सुनैलो बिहानीको, सुख शान्तिको
तैपनि
सबथोक नठान न
यो त मात्र सुरुवात हो

सिद्धान्तका ठेलीहरु
मात्र जोडेर के गर्छौ अब
यो त गर्नेको युग हो
तिमी टायरको धुँवामा रमाउँदै गर
गर्नेहरु लम्कदैछन विजयपथतिर
यो कुनै दिवा सपना होइन
प्रत्येक घरमा चुलो बल्नेछ
स्वअस्तित्वको समानताको
तैपनि
सबथोक नठान न
यो त मात्र सुरुवात हो

फोहरीतन्त्र कुम्लो कस
थोत्रा कुर्सी काम छैन
ती कुर्सीमा लाहाछाप लागे
त्यस्ता कुर्सी घरघरमा बने
यो त जनयथार्थ हो
अव जनता तातिसके
युगको निर्माण थालिसके
होस्टेमा हैँसे गर्दै, आँट र साहसको
तैपनि
सबथोक नठान न
यो त मात्र सुरुवात हो

Wednesday, July 1, 2009

रातलाई पनि साथमा ल्याउँ

-विशद
रात कुरुप समय हो
यो चुपचाप देखिन्छ
तर रातमा सबैभन्दा बढी कोलाहल हुन्छ ।

सिमानाका बलात्कारका चित्कारहरु
जोडले सुनिन्छ रातमा
पुराना लासहरुको हुकुमे शासनको दुर्गन्ध
जोडले हुइँकिन्छ रातमा
रातमा रोबोटहरुको रिचार्ज हुन्छ
र झन शक्तिशाली हुन्छन् रिमोटवालाहरु
रातमा दाल र चामलमा बारुद मिसाउँछन्
पुराना काला व्यापारीहरु
रातमा मुस्कुराउँदै डढेलो ताप्छन्
बिर्खे साहु र मुखियाहरु
रातमा महाकाली र सुस्ता बेच्छन्
इतिहासका नपुंसकहरु
रात कालो हुन्छ
र काला दागहरु पनि अन्धकारमा हराउँछन् कतै
रात बाक्लो हुन्छ
र बाक्लो छायाँ पनि घुलमिल गर्छ फेरि त्यही रातसँग
रात बडो निर्मम हुन्छ
र चलाउँछ अन्धकारमा चक्कुहरु
रात कुटिल हुन्छ
र सुताउछ पुरानै चेतनामा संसार
तर
चट्याङका प्रहारहरुसँग डराउँछ रात
फगत एक जुनकिरीले हराउँछ रातलाई
बिहानीको उदयमा मर्छ रात
समयको सुइसँग मात खान्छ रातले
त्यसैले रातलाई पनि साथमा ल्याउँ
आखिर
रातमा उज्याला मान्छेहरु टाठ्ठै चिनिन्छन् ।