Thursday, December 31, 2009

बन्द मेरा आँखामा

- शकुन आँसु
चिप्लदो रातमा
नतमस्तक दौडिरहन्छ
फराकिला गोरोटोहरुमा
सामुन्द्रका सतहहरुमा
घरी इन्द्रकमल
घरी जलकमल बनेर ।

नपत्याउदा हिमाली गमलामा
बेसमारी सुगन्धित बनेर छरपस्टिदा
लामबद्ध भमराहरुले
छिन्द्रा-छिन्द्रामा मलाई
चपाएर नशा सोहोर्थे
आकाश नीलै थियो
धरती सफै थियो
हिमाल ताजै थियो
झिमिक्क-झिमिक्क
सिनेमाको कास्टिङझैं
ब्रम्हाण्ड घुमिरहन्छ
बन्द मेरा आँखामा ।

Wednesday, December 30, 2009

अब झण्डा फेरिनुपर्छ

- नदीश
हाम्रो झण्डाको किनार
नीलो छ
र त, हामी शान्त छौँ
हाम्रो सिमानामाथिको आक्रमणमा

हाम्रो झण्डाको भूइँ
रातो छ
र त, हामी लडिरहन्छौँ
एक-आपसमा

चन्द्र माथि छ हाम्रो झण्डको
सूर्य तल छ
र त, हामी भ्रमित छौँ
सूर्यभन्दा शक्तिशाली छ चन्द्रमा

अब झण्डा फेरिनुपर्छ
चन्द्र-सूर्य उल्ट्याइनुपर्छ
भूइँ नीलो

किनारा रातो बनाइनुपर्छ ।

Sunday, December 20, 2009

ईट्टामानव

-विशद
ऊ ईट्टामानव
संसारकै ठूलो आतंककारी
किनकी उसले बोक्ने ईट्टा
सधै रातो हुन्छ ।
ऊ मोहम्मद मियाँका लागी
ईट्टाहरु ओसार्छ
मोहम्मद महोदय
राता रहस्यहरु
हरियो रङले ढाक्न खोज्छन्
ऊ विष्णुराम पण्डितका लागी पनि
ईट्टाहरु ओसार्छ
विष्णुराम महोदय
तुलसि मठमुनी
राता चिहानहरु लुकाउन खोज्छन् ।
मन्दिरमा बलि दिइएका
मस्जिदमा हलाल गरिएका
अनि सयौ वर्षदेखि
चुपचाप रगत बगाईरहेका
लाखौ ईट्टामानवका
थोपा-थोपा रगतहरु मिलेर
बन्छन् राता ईट्टाहरु
तर ऊ ईट्टामानव
आफैले बोक्ने ईट्टाको
रातो रङसँग
बेखबर छ ऊ ।
नयाँ मन्दिर बनाउन
उसलाई डाकिन्छ
नयाँ मस्जिद बनाउन
उसलाई बोलाईन्छ
ऊ मन्दिरको एक छेउमा थुक्दै
अर्को छेउमा गारो उठाउछ
ऊ मस्जिदको जगमा कुल्चदै
छतमा सुन्दरता बिछ्याउछ
उसलाई मतलब छैन
मन्दिरमा कसको भगवान छ
मस्जिदमा कुन अल्लाहको बाँस छ
ऊ पसिना मुछेर रोटी टोक्छ
ऊ रगत निचोरेर ढिडो निल्छ
उसलाई अल्लाहले मस्जिदमा बाँस दिदैन
ऊ मर्दा भगवानले कात्रो ओढाउदैन
त्यसैले ऊ कुल्चन्छ
राता ईट्टाले बनेका कुरुप मन्दिरहरु
त्यसैले ऊ हिर्काउछ
राता ईट्टाले बनेका राक्षसी मस्जिदहरुमा
तर आफैले बोक्ने ईट्टाको
रातो रङसँग
अझै बेखबर छ ऊ ।

ऊ ईट्टामानव
संसारकै ठूलो आतंककारी
किनकी उसले बोक्ने ईट्टा
सधै रातो हुन्छ ।

Sunday, December 6, 2009

मेरो प्रतिज्ञा

-दृश्य

मध्यादिनमा जब तिमी
निर्लज्ज सवालहरु गछ्र्यौ
म बिस्तारै
तिम्रा हत्केलाहरु सुम्सुमाउँछु
कारण :
तिमीले भुलिसकेको
मेरो वर्तमान
अन्धकारलाई चिरेर हिडेको
एउटा सानो आगोको झिल्को
आज राँको बनेर सल्कदैछ
मेरो प्रतिज्ञा
त्यहि राँकोमा म आज
आफ्ना कुपुत्रहरुलाई डढाउन चाहन्छु ।

उत्तरहिन प्रश्नका सवालहरुमा
तिमी जहिलेपनि
आफ्नै ईश्वरलाई जोड्छ्यौ
ईश्वर :
म मान्दिन तिनका
नौटङ्की चटकहरु
मैले कैयौ बुँद पसिनाका दानाहरु
तिनैको आकृतिमा चढाईसकेको छु
तापनि
म तिनैको भाषामा
अछुत भएर बाचिरहेको छु
मेरो प्रतिज्ञा
म तिम्रो ईश्वरका
मुखहरुमा आगोको मुस्लो कोच्नेछु
र हेरिरहनेछु
तिम्रो ईश्वर
आफ्नालागी के चाहि गर्दा रहेछन् ।

इतिहासको साक्षि भन्दै
तिमी समयलाई थम्याउछ्यौ
समय,
रगतको प्याला पिउन पल्केको समय
मेरो समिपमा बुख्याचा बनेर आउछ
र धमनीहरुमा पौडि खेल्दै
मस्तिष्कमा विष्फोट गराउछ
मेरो प्रतिज्ञा
यी हत्यारा समयहरुलाई
म सेतो परेवा बनेर ठूँगीरहनेछु
तिमी हेरिरहनु
निरन्तर...। निरन्तर...॥

Tuesday, December 1, 2009

यात्रा जारी छ

- नविना
पुग्नु पारी छ
यात्रा जारी छ

बोक्याछौं पिठ्यूँमा
ठूलो भारी छ

सहज छैन बाटो
काँडाघारी छ

रोप्नु छ अधिकार
बाँझो बारी छ

छिनाउँछौं बाधा
विचारको आरी छ

Sunday, November 22, 2009

ती शिरिषका फूलहरु

- मुना निश्चल
कुदृष्टिका उदगारहरुले
लुट्यो भन्थे
कोपिलामै उन्मातहरु
भाच्चिएछन् इच्छा आकाङ्क्षाहरु
फक्रिदै फक्रिएनन्
ती शिरिषका फूलहरु ।

बेमौसमी तुषाराहरु
कालरात्री र हुस्सुहरु
परास्तका ज्यादती बोकेर
भर्भराइरहेका अंकुरणहरु
मुकाबिलाको मैदानभित्रै
रहरहरु अतिक्रमणमा पर्यो भन्थे
कक्रिएछन् इच्छा आकाङ्क्षाहरु
फक्रिदै फक्रिएनन्
ती शिरिषका फूलहरु ।

प्रपंचको बर्बरताभित्र
अत्याचारको विमती
आक्रोशका ज्वालामुखीहरु
पल-पल सल्किरहेछन्
परिपरिका फूलहरु
लत्रिएछन् इच्छा आकाङ्क्षाहरु
फक्रिदै फक्रिएनन्
ती शिरिषका फूलहरु ।

Tuesday, November 17, 2009

सदस्यहरु

प्रभास (केन्द्र)

प्रभास (उदयपुर)
  • शकुन आँसु
  • सुवास आम्बोटेली
  • बोनमप्रताप मल्ल
  • अर्जुन बाराहाली
  • जीवन चाम्लिङ
  • हीराप्रसाद दाहाल 'शीतलव'
  • गजेन्द्र टुहुरे
  • लक्ष्मी अनुपम
  • भुमरी

 

प्रभास (खोटाङ)

  • कोपिला थुलुङ 'आशुतोष'
  • नवराज गाउँले
  • ममिता मर्मस्पर्शी
  • शान्ता सन्ध्या
  • रिनादेवी राई
  • सरिता राई
  • कविराज दुःखी
  • सम्झना भुजेल
  • अकेला राई
  • युगसन किरात
  • उर्वषी राई
  • निरकुमार घायल

 

साधारण सदस्यहरु

Sunday, November 15, 2009

कालरात्रीहरु

-अपराजिता
कालरात्रीहरुले जगड्नु जगडिसके
अब बिहानीलाई जगडबन्दी गर्न नखोज
नत्र भयानक हुनेछ
जहाँ उज्यालोको ठाउँ छैन
त्यहाँ नै क्रान्ति छाउने छ
जहाँ समानता छैन
त्यहाँ नै भोकाको शासन आउने छ
जहाँ सम्मानको पाठ सिकाइदैन
त्यहाँ संघर्षको मू्ल फुट्नेछ ।

तिम्रो मृत्यु नजिक छ
सावधान कालरात्रीहरु !
अब रात छिट्टै घाममा परिणत हुँदैछ
न्यायलाई पल्टाउन खोज्ने ती हत्केलाहरुलाई
नयाँ बिहानीले चुनौती दिदैछ ।

अब सोच्न बन्द गर
तिमीहरुकॊ स्मरण सक्ति हराइसक्यो
अब सोच्ने पालो हाम्रो
केवल हाम्रो
नयाँ विगुल बज्नेछ
विश्व नै एक बन्ने छ
फेरि एउटा आमाको जन्म हुनेछ
सपुतको प्रशंसा जताततै फैलनेछ
र उदाउनेछ एउटा नयाँ युग ।

Monday, November 9, 2009

घुम्ने मेच पनि रै'छ

-विपल बोयुङ
कति ठूलो सुन्दर महल तिम्रो त नावै राम्रो
घुम्ने मेच पनि रै'छ तिमी बस्ने ठावै राम्रो

घुसखोरी जे गरे'नि देश प्रेम छ भाषणमा
धेरै पाले पहरा छ तिमी बस्ने गावै राम्रो

विकासभित्रै पर्छ नि त्यो भ्रष्टाचार पनि
तस्करीलाई लुकाउने तिम्रो त दावै राम्रो

गाँस बासको मीठो आश दिएकै छौ विपत्तिमा
दुवै हात लड्डु मिल्ने तिम्रो त भावै राम्रो

जनताको सेवामा त त्यसै पेट लाग्दो रै’छ
धेरै ब्याज पकाउने तिम्रो त सावै राम्रो

Saturday, October 31, 2009

भोलि खोज्दै उठे

-मंजु मार्मिका
भुत थियो दुःखदायी
वर्तमान झनै
युगले हातहरु फैलाएको बेला
शुन्य ति हातहरुमा
पुर्याउन केही कुरा
सानो एउटा झोली खोज्दै उठे

विशाल यो धर्तिमाथि
च्यतिएको पहिरन र भित्ता सँग साथ माग्दै
कति पाइला चालिए होलान
भारी बोक्ने दाइको ज्यान कुन नदीमा मिल्यो होला
त्यही पिडामा भाउजुको मुटु कति दुख्यो होला
पिठ्युमा छोरा बोकी बालुवा चाल्दै गर्दा
हराएकी ती दिदीको चोली खोज्दै उठे ।

अझै देख्छु यत्रतत्र
सन्तान मर्दा धन्य भनी आफ्नो मन थाम्नेहरु
भोकै बसी नाङ्गै बसी
आउने दिन गन्नेहरु
सन्तानको कात्रोभित्र चिहाइ हेर्दा
विजयको मुहार देख्हरु
बाचीरहोस देश भन्दै
जीवन बली दिनेहरु
तिनकै निम्ति आवाज दिन बोलि खोज्दै उठे ।
गर्भमै हुदा ऋणको भारी बोकेर
चुक्ता गर्न हली बन्ने काले दाइले
परम्परा जोगाउन भारि बोक्ने भरिया भाइले
अरुका निम्ति पसिना कतिन्जेल चुहाउनु
कोही मान्छे
कन्दमुल नपाएर त्यागीराछन जीवन
कोही मान्छे आरामले सजाइराछन जीवन
फटाहा र शोषकको अन्त्य आजै गर्न
विचारको गोलि खोज्दै उठे ।

पानी सधै दख्खिन बगी उतै जानु पर्ने त हो
फर्किएर यतै आयो
जाने ठाउँमा जाल बुन्यो कस्ले
साध मिच्न सिपालु छन भन्ने थाहा पाए
सिमानाको निकै वर ढोका थुन्छ कस्ले
त्यै ढोकालाई फुटाएर
गन्तव्यमा पुग्नलाई टोली खोज्दै उठे ।

गोरुलाई गाई बनाई दुध माग्नेहरु
आफ्नै प्वाँखको साहरामा उडने चराहरुलाई
पिजडामा राखी-राखी कष्ट दिनेहरु
अटन सक्छन यहाँ ठुल्ठूला महल र पुजिपतिहरु
सक्दैनन रे अटाउन सर्वहारा र झुपडिहरु
हिजो यस्तै अन्याय भोआज अत्याचार
बनाउनलाई बराबरसुन्दर त्यो भोलि खोज्दै उठे ।

दिदिको त्यो चोली खोज्दै उठे ।
विचारको गोली खोज्दै उठे ।

Saturday, October 24, 2009

नमूना गाउँ

-नदीश
गोठालाहरु
साँढे जुधाउँछन्र

डीलमा बसेर
खूब रमाउँछन्

छिमेकीहरु
चल्ला जिप्ट्याउँछन्र

गाउँमा स्याल पस्यो भनी
खूब कराउँछन्

जुकाहरु
जुत्तादेखि डराउँछन्

भरियाको खून चुसेर
खूब अघाउँछन्

झाँक्रीहरु
भूत-प्रेत भगाउँछन्र

मसानघाटमा हिँड्न
खूब डराउँछन्म

म हर्षित छु
मेरो गाउँपनि
मेरो सिंहदरबारभन्दा कम छैन

आमाको माया

-नाकिमा
हिउँ रहेछ पग्लिरहन्छ
नदी रहेछ बगिरहन्छ
आमाको माया

आफ्नै मनले धोका देओस्
वेदनाको पोका देओस्
आकार रहेछ बढिरहन्छ
आकाश रहेछ फैलिरहन्छ
आमाको माया

जति टाढा उति गाढा
फुलिदिन्छ बीच काँडा
यात्रा रहेछ लम्बिरहन्छ
यात्री रहेछ लम्किरहन्छ
आमाको माया

आगोमा नाचिदिने
मृत्युमा बाँचिदिने
मैन रहेछ जलिरहन्छ
दियो रहेछ बलिरहन्छ
आमाको माया

Saturday, October 17, 2009

नागासाकी फुल्यो

-विशद
धर्ती फेरी फुल्ने गरी नागासाकी फुल्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो

मस्तिष्कमा राज गर्न खोज्नेहरु
हेरकालगति आफ्नो आफै रोज्नेहरु
हेरबन्दुकको गोली फेरी तिम्रोतिर चल्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो
अणुबम बेचिकन शान्ति सन्देश छर्छौ
सुरजको प्रकाशलाई हत्केलामा भर्छौ

हिजो बोल्न नसक्नेले आज युद्ध लड्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो
तिम्रै जन तिम्रै निम्ति भारी पर्ने भए
सत्ता तिम्रो गिराउन मरी मेट्ने भए

तिम्ले आफ्ना ठान्ने पनि सत्यतिर झर्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो
धर्ती फेरी फुल्ने गरी हिरोशिमा फुल्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो

Sunday, September 6, 2009

अन्तिम पत्र

-विपल बोयुङ

यही अन्तिम पत्र होला सायद उनको निम्ति
रुप फेर्दै चैन लुट्ने त्यही जूनको निम्ति

निर्वस्त्र नै घुमिरा'छन् अझ निर्लज्ज ऊ
अब भाऊ लाइन्न बेकारको सुनको निम्ति

'खटटट…हुक्का' अनि पुयाँक्छन् कालो धुँवा
फेरि कान थापिन्न कोलाहल त्यो धुनको निम्ति

झुप्राहरु जल्दैछन् रे निर्धाहरु मर्दैछन् रे
झुमिदैनन् रङ्गमंचमा अब कोही खुनको निम्ति

उसलाई भनी उपहार तिखार्दैछु काँडा म'नि
सुताएर थाङ्नामा जलाएको गुनको निम्ति

Monday, August 31, 2009

एकादेशमा एउटा गाउँ

-नदीश
एकादेशमा एउटा गाउँ कथा नौलो होइन
गाउँ पस्छन् आउँहरु व्यथा नौलो होइन

म पनि त हिड्ने गर्थेँ खरबारीको बाटो
हराउने गन्तव्यको गाथा नौलो होइन

आफ्नै छाती जोतिकन मुटु रोप्छन् मुगुहरु
ऐजेरुको राज्य चल्ने प्रथा नौलो होइन

उड्थे, उड्लान, उडिरहेछन् गोहीहरु के आश्चर्य ?
आँशु भित्र दबिएको आस्था नौलो होइन

अस्तित्व थाङ्नाको

-सर्गमंजरी
ए दिदी, भन त
खै तिम्रो थाङ्ना भित्रको
आत्माको अस्तित्व
खै तिम्रो प्रसव पीडा
घुलेको मातृत्व
खै तिमीले जन्माएका
सन्तान-सन्तान बीचको भातृत्व
तिमी उसिनेको भातसरी
छरपष्ट छरिएको वर्तमान च्यापेर
जोख्दैछ्यौ भविष्य तुलो र तराजुमा
पावामा ग्राम घटाउँदै
कोइरालो जोखेझैँ तरकारी बजारमा
तिम्रा भ्रुणहरु कर्मयोद्धा बनेर
बलिदानको मैदानमा तम्तयार छन्
वुर्जुवा मष्तिस्कले भरिएका घन्टाउकेहरु
अगुवा बनिसकेका छन्
समकलीनहरुले ब्रह्माण्ड चहार्न
सुरुङ खनिसकेछन्
तिमी मात्रै किन
मात्रै तिमी किन
निस्तब्ध मध्यान्नमा
कल्लीकुमारी भएर लुटिन्छ्यौ
डल्लीकुमारी भएर कुटिन्छ्यौ
हल्लीकुमारी भएर हल्लिन्छ्यौ
चिउरा कुटिएझैँ ढिकीमा
पात हल्लिएझैँ हुन्डरीमा
अनि रोकिन्छ्यौ बस ट्रक र ट्याक्सी
रोकिएझैँ ट्राफिक जाममा
के तिमीमा मस्तिष्क छैन
के तिमीमा चेतना छैन
के तिमीमा साहस छैन
कि तिमीमा जोस जाँगर र मेहनत छैन
तिमी बाँचेको रङ्गमाच
तिम्रो कारागार हैन
तिम्रो भविष्य तिमीले गर्ने
पश्चाताप हैन
तिम्रो वर्तमानमा जादुको रहस्य छैन
तिमी होऊ-
सिर्जनाकर्ता
निर्माणकर्ता
भविष्यकर्ता
अग्रजकर्ता
सुमार्गमा डोर्याउनु छ सन्तानलाई
गन्तव्यमा पुर्याउनु छ विश्वलाई
त्यसैले बाँच्न सिक
भुट्टो सुकी उमा र पारिजात बनेर ।

नदीहरु

-मंजु मार्मिका
अग्ला अग्ला अनि कठोर
हिमालको छाती चिरा-चिरा पार्दै
पहाडको खोंचबाट दर्शनढुङ्गा पगाल्दै
गाउँबेसीका गीत गाउँदै
बाधा-व्यावधान बगाउँदै
सागर चुम्न दौडिरहेछन् नदीहरु ।

सुनकोसी, तामाकोसी र दूधकोसीझैं
संघर्षशील भएर
मर्स्याङ्दी र सप्तकोसीझैं
क्रान्तिकारी भएर
अविछिन्न र अविरल
मूल फुटेर
गन्तव्यतर्फ बगिरहेछन् नदीहरु ।

एउटै उद्देश्य लिएर
तँछाड-मछाड गर्दै
बगिरहेका नदीमाथि अन्याय गर्दै
भो पाप नपखाल
ढल नखसाल
र कुनै कष्ट पनि नदेऊ
नदी त विचारको प्रवाह हो
जसलाई बिना रोकतोक बग्न दिनुपर्छ
छाडिदेऊ बग्न देऊ नदीलाई ।

नदीको गति प्रगतिप्रति
रिस र घृणाको आगो लगाउँदैमा
नदी कसरी खरानी हुन्छ र ?
जतिसुकै कडा चट्टानले
बाँध बाध्न खोजे पनि
पानीलाई कतिन्जेल थुन्न सकिन्छ र ?
आफ्नो बाटो आफै बनाउँदै
गन्तव्यमा पुगेरै छाड्छन् हरेक नदीहरु ।

Sunday, August 16, 2009

ममता

-मुना निश्चल
घुर्यान र ओछ्यान
ल्याप्चे लगाएर
अल्लो झ्याङ समेत
जाकडी राखेर
दौडिरहन्छ अतृप्त जीवन
मृत्यु पिउन बेमंजुर
एउटा ममता ।

न अस्त्र न वस्त्र
आफू आफ्नै नजरमा
अवमूल्यन भएर
निथ्रुक्क रुझेका परेलीहरु
छिद्रै छिद्रा च्यातिएको
पटुकी बन्दकी राखेर
लडिरहन्छ असन्तुष्ट अवशेष
मृत्यु पिउन बेमंजुर
एउटा ममता ।

घनाघोर वैरभाव बोक्न पोख्त
हिरोसिमा र नागासाकी
कतै आफै पट्किए जस्तो
कतै आफै सल्किए जस्तो
न कुनै वसन्त न कुनै शरद
निस्सार परेड खेलिरहन्छ
बलात्कृत एउटा तट
मृत्यु पिउन बेमंजुर
एउटा ममता ।

Friday, July 17, 2009

रङ्गमंचमा रोबोट

-नाकिमा
जब थिचियो
रिमोटको अन बटन
तब तु हाजिर भयो
रङ्गमंचमा रोबोट ।

रिमोटको
पहिलो बटन थिचियो
र रोबोटले सिउरियो-
शिरमा श्रीपेच ।

रिमोटको
दोस्रो बटन थिचियो
र रोबोटले बोक्यो-
पिठ्यूँमा बुट ।

रिमोटको
तेस्रो बटन थिचियो
र रोबोटले गायो-
'हमारा भारत महान् ।'

आतुर छन् दर्शकहरु
कहिले पड्किएला ?
स्टेजमा एम्बुस ।

Sunday, July 5, 2009

परेवाहरु

-नदीश
परेवाहरु
निर्दोष कीराहरु ज्यूँदै निल्ने
हत्याराहरु हुन्

परेवाहरु
अरुकै घरभित्र रजाइँ गरी बस्ने
सामन्तहरु हुन्

परेवाहरु
मानिसका तालुमा निसंकोच विष्ट्याउने
असभ्यहरु हुन्

परेवाहरु
खुल्लम-खुल्ला यौनक्रीडामा मस्त रहने
सांस्कृतिक विकृतिहरु हुन्

आऊ
शान्तिप्रेमी सभ्य महानागरिकहरु
एक-एक गर्दै
सम्पूर्ण परेवाहरु मारौँ ।

Saturday, July 4, 2009

यो त मात्र सुरुवात हो

-दृश्य
झरी तिमी नआउनु अब
वर्षा अब वर्षाउनु छैन
तिम्रो प्रतिरोधमा
यी हत्केला काफी छन्
यो मेरो वाचा हो
अव प्रत्येक घरमा मूल फुट्नेछ हेर
सुनैलो बिहानीको, सुख शान्तिको
तैपनि
सबथोक नठान न
यो त मात्र सुरुवात हो

सिद्धान्तका ठेलीहरु
मात्र जोडेर के गर्छौ अब
यो त गर्नेको युग हो
तिमी टायरको धुँवामा रमाउँदै गर
गर्नेहरु लम्कदैछन विजयपथतिर
यो कुनै दिवा सपना होइन
प्रत्येक घरमा चुलो बल्नेछ
स्वअस्तित्वको समानताको
तैपनि
सबथोक नठान न
यो त मात्र सुरुवात हो

फोहरीतन्त्र कुम्लो कस
थोत्रा कुर्सी काम छैन
ती कुर्सीमा लाहाछाप लागे
त्यस्ता कुर्सी घरघरमा बने
यो त जनयथार्थ हो
अव जनता तातिसके
युगको निर्माण थालिसके
होस्टेमा हैँसे गर्दै, आँट र साहसको
तैपनि
सबथोक नठान न
यो त मात्र सुरुवात हो

Wednesday, July 1, 2009

रातलाई पनि साथमा ल्याउँ

-विशद
रात कुरुप समय हो
यो चुपचाप देखिन्छ
तर रातमा सबैभन्दा बढी कोलाहल हुन्छ ।

सिमानाका बलात्कारका चित्कारहरु
जोडले सुनिन्छ रातमा
पुराना लासहरुको हुकुमे शासनको दुर्गन्ध
जोडले हुइँकिन्छ रातमा
रातमा रोबोटहरुको रिचार्ज हुन्छ
र झन शक्तिशाली हुन्छन् रिमोटवालाहरु
रातमा दाल र चामलमा बारुद मिसाउँछन्
पुराना काला व्यापारीहरु
रातमा मुस्कुराउँदै डढेलो ताप्छन्
बिर्खे साहु र मुखियाहरु
रातमा महाकाली र सुस्ता बेच्छन्
इतिहासका नपुंसकहरु
रात कालो हुन्छ
र काला दागहरु पनि अन्धकारमा हराउँछन् कतै
रात बाक्लो हुन्छ
र बाक्लो छायाँ पनि घुलमिल गर्छ फेरि त्यही रातसँग
रात बडो निर्मम हुन्छ
र चलाउँछ अन्धकारमा चक्कुहरु
रात कुटिल हुन्छ
र सुताउछ पुरानै चेतनामा संसार
तर
चट्याङका प्रहारहरुसँग डराउँछ रात
फगत एक जुनकिरीले हराउँछ रातलाई
बिहानीको उदयमा मर्छ रात
समयको सुइसँग मात खान्छ रातले
त्यसैले रातलाई पनि साथमा ल्याउँ
आखिर
रातमा उज्याला मान्छेहरु टाठ्ठै चिनिन्छन् ।

Thursday, June 25, 2009

घिउको दरवार

-ध्रुवसत्य
किसानहरु मही खान्छन् -
घिउ कहाँ जान्छ
यो घिउको दरवारमा सबै कुरा छ
तर आगो रहने कुरै भएन
कत्रो भ्रम होला यो घिउको दरवारको
यसले कल्पनै गरेन
कि दुनियाँमा आगो पनि छ ।

किसानहरु मही खान्छन्-
घिउ कहाँ जान्छ
अँ त्यो घिउको दरवारको ठीक दक्षिण तर्फ
एउटा गरिबहरुको गाउँ छ
झट्ट अनुमान गर्दा यस्तो लाग्छ
ती गरिबहरुसँग जे छ गरिबी नै
छअनुमान अनुमान नै हो यथार्थ होइन
कसले अनुमान र विश्वास गर्न सक्छ
त्यो विकट वस्तीमा एक साहसी युवा जन्मेको छ ।
त्यो सुदूर गाउँको मूल घरजहाँ आगोको संग्रह गरिन्थ्यो
जब उज्यालो हुन्थ्यो
सारा गाउँबासीहरु मूल घरमा आगो लिन आउँथे
एक निशिथमा
त्यो साहसी युवाले मूल घरको आगो निभाउँछ
गाउँमा आगोको हाहाकार हुन्छ
त्यसपछि
त्यो साहसी युवाको अगुवाईमा
समस्त गाउँ-गण आगो खोज्न निस्कन्छ ।
यो को हो
जो घिउको दरवारमा आगो खोज्छ
यसले के खान खोजेको छ
दरवारिया देहम्भरहरुलाई सन्देह हुन्छ
उनिहरुले आफ्नो मालिकलाई सुचना दिन्छन्
मालिक ! एउटा यस्तो युवाले
हाम्रो घिउको दरवारको ढोका धकेल्दैछ
जसले आगो ओकल्छ ।
किसानहरु मही खान्छन्-
घिउ कहाँ जान्छ?

Monday, June 22, 2009

छिमेकी

-नाकिमा
कसले भन्छ ?
छिमेकीको साँढे पसेर
कोदोबारी दल्दैन ।

कसले भन्छ ?
छिमेकीले साँधको ढुङ्गा
अरुकोतिर सार्दैन ।

कसले भन्छ ?
कुकुर, छिमेकीकोमा
खीर खान जाँदैन ।

कसले भन्छ ?
सुगाले, छिमेकीको
राष्ट्रिय गीत रट्दैन ।

र कसले भन्छ ?
भारत हाम्रो छिमेकी हैन ।

Saturday, May 30, 2009

फूल र काँडा

-अपराजिता
सहिदको पवित्र हातले रोपेको फूल जोगाउन
मालीहरु आइसके
काँडाहरुले त छिट्टै फूल झरेर जाओस् भन्ने चाहान्छन्
तर काँडाहरुको छलकपटको सोचदेखि
सारा नेपाली जनता अघाइसके
किनिक
फूलहरुका कोपिला झन्-झन बढ्दै गइरहेका छन्
बगैचामा छैन त फूल आज के भो
मानिसको आत्ममा छ
मानिसको स्वच्छ मन र स्वच्छ सोचाइमा छ
हरेक सन्ततिहरुको जन्माइमा छ
खुसीको लहर फैलाउने जमातमा छ

अर्थबिनाका काँडाहरुको अब पालो पुगिसक्यो
अब पालो केबल फूलहरुको छ
फूल जोगाउने मालीहरुको छ
सहिदको पवित्र हातले रोपेको त्यो फूल जोगाउन
विजयी हामी हुनुपर्छ
सभ्यता तुहाउने काँडाहरुलाई जरैबाट उखेल्नुपर्छ ।

क्रान्ति मन पराएँ

-ध्रुवसत्य
मेरो देश हरायो आमा ! म देश खोज्दा हराएँ
शान्तिलाई प्रेम छदैछ तर क्रान्ति मन पराएँ

कता-कता भरोसा लाग्दथ्यो छ एक सत्य माटो
यो अभिशाप धर्म र जात कसले ल्यायो फाटो ?
मेरो जात हरायो आमा ! म जात खोज्दा हराएँ
शान्तिलाई प्रेम छदैछ तर क्रान्ति मन पराएँ

धर्मयुद्ध, गृहयुद्ध, सीमायुद्ध जहाँ जे चल्छ
छैन मूल्य मान्छेको सिपाही ढल्छ, विद्रोही जल्छ
मानवता हरायो आमा ! म मान्छे खोज्दा हराएँ
शान्तिलाई प्रेम छदैछ तर क्रान्ति मन पराएँ

Friday, May 29, 2009

एउटा फूल हाँस्दैमा नै

-नदीश
एउटा फूल हाँस्दैमा नै वाग हाँस्छ र ?
एउटा मान्छे बाँच्दैमा नै धर्ती बाँच्छ र ?
रित्ता थैली भर्न जसले आफैलाई नै बेच्नुपर्छ
जून तारा छुने उसले सपना साँच्छ र ?

जीवन खोज्दै हिँड्नेहरु पल-पल मुर्छा पर्छन्
जीवन बीच सड्नेहरु ज्यूँदो बनी भ्रम छर्छन्
तिमी खुसी बाँड्छु भन्छौ दुखीलाई निमन्त्रणा
दैनिक तिम्रो जन्मदिनमा भोको नाच्छ र ?

कोटभित्रै खोट सबै लुक्छ भन्छौ तिमीहरु
नाङ्गो शरीर हुनेहरु लाज ढाकी हिँड्छन् बरु
मिली बस्नु पर्छ भन्छौ सयौँ थुङ्गा बराबरी
फूलमा काँडा मिसाई कोही माला गाँस्छ र ?

Tuesday, May 26, 2009

गन्तव्य नछोई

-विपल वसन्त
गन्तव्य त्यो नछोई अब
फर्कन्न त्यो राते
स्वीकार हर पराजयको
गर्दैन त्यो राते ।

खोसेर गाँस लुटेको मस्ती
त्यो भासभित्र डुबाई बस्ती
बस्ती र गाँस नफिरेसम्म
फर्कन्न त्यो राते
गरिबमाथि शोषण-दमन
मान्दैन त्यो राते ।

बन्याथ्यो कैले गाँस लहरा
पुग्याथ्यो कैले बास पहरा
मिर्मिरेसँगै लालीमा लिई
झुल्किन्छ त्यो राते
कसैको शिरमा कसैको पाउ
सहदैन त्यो राते ।

आइरहे पो दुःख-सुख

-सर्गमञ्जरी
आइरहे पो दुःख-सुख जिन्दगीको पार हुन्छ
छाइरहे पो आँसु-हाँसो जिन्दगीको सार हुन्छ

कति शान्त, उज्ज्वल छन् सधै धर्ती हेर्ने तारा
गाइरहे पो शान्ति धुनी कलहको हार हुन्छ

सिमसिमेको चालै हुन्न, आखिर धर्ती गलाउछ नै
धाइरहे पो समुन्द्रको आफ्नो छुट्टै धार हुन्छ

नुहिएको बालाभित्र स्वाभिमानको झुल्छ शिर
साइरहे पो कुना-काप्चा बाँझो धर्ती टार हुन्छ

मिर्मिरेलाई स्वागत गर्न डुब्नुपर्छ घाम पनि
पाइरहे पो सञ्जिवनी मञ्जरीको घार हुन्छ

Monday, May 25, 2009

घामलाई सलाम

-नाकिमा
क्षितिजमा उदाएको घामलाई सलाम
अँध्यारो त्यो चुमिदिने कामलाई सलाम

आखिरीमा युगले आँधी चलाएरै छाड्यो
पुराना ती पातपतिङ्गर जलाएरै छाड्यो
कायापलट गरिदिने यामलाई सलाम
अँध्यारो त्यो चुमिदिने कामलाई सलाम

तारे भीर काटे पनि शिखर टाढा छ
तर लक्ष्य छोई छाड्ने कसम गाढा छ
यस्तो साहस भरिदिने लामलाई सलाम
अँध्यारो त्यो चुमिदिने कामलाई सलाम

के छ त हुकुम

-कपिल अन्जान
अब के छ त हुकुम महारानी
उस्तै छ रोल्पा र रुकुम महारानी

मानव भएर खाएँ थालमै चुठायौ
कसरी म त्यही थुकुम् महारानी

हुन त वीर नेपालीको छोरो म त
को कस्को अघि झुकुम् महारानी

कुकुर भन्यौ ठीक छ बफादार भएँ
दैलोमा कतिन्जेल ढुकुम् महारानी

वास्तविकता सब छर्लङ्ग भएपिछ
पर्दा पछाडि किन लुकुम् महारानी

छानो सल्काएर हाँस्छन् मान्छेहरु
कसरी जलेर म दुखुम् महारानी

Saturday, May 23, 2009

सम्झनाको भारी

-मंजु मार्मिका
देश तिम्ले भुल्यौ कि त चट्टै माया मारी
बिसाउँ कि बोकूँ मैले सम्झनाको भारी

टेम्के वनमा चाँप फुल्छ तिमी कहाँ फुल्छौ
गैरी खेतमा झुल्यो धान तिमी कहाँ झुल्छौ
भंज्याङ छोडी गयौ तिमी गावै एक्लो पारी
बिसाउँ कि बोकूँ मैले सम्झनाको भारी

मेलापात, पधेरीमा खाँचो हुन्छ तिम्रो
फर्की आऊ स्वदेशमै गरौं काम हाम्रो
भेलबाढीले लग्यो बरै हाम्रो खेतबारी
बिसाउँ कि बोकूँ मैले सम्झनाको भारी

आगो वर्षाउने कसम

-विशद
मुस्लोको कालो पंक्षी होइन म
आगो वर्षाउने कसम छ मेरो
ऐनाको झूठो रश्मि होइन म
बिहानी ल्याउने कसम छ मेरो

काँडा नै सही म टेकेर हिँड्छु
रोक्ने को हो म खुलेर भिड्छु
न रोक्न सक्छ कसैले
बाटो खुलाउने कसम छ मेरो
न छेक्न सक्छ कसैले
चुलीमा पुग्ने कसम छ मेरो

अठोटमा छु म अहममा होइन
कसैको मीठो भ्रममा म छैन
तिम्रो आसको भरोसा भएर
तिमीलाई जिताउने कसम छ मेरो
नयाँ युगको नयाँ सोच हेर
दुनियाँ बदल्ने कसम छ मेरो

Friday, May 22, 2009

प्यारो स्वाभिमान

-मुना निश्चल
नेपालकी छोरी हुँ म नेपाल मेरो प्राण
कंचन छ निर्मल छ प्यारो स्वाभिमान

देश छोएरै बाँच्छु म त देश ओढेरै हाँस्छु
मैले टेक्या माटोसँगै म त नाता गाँस्छु
गले गलोस् ढले ढलोस् यही मेरो ज्यान
कंचन छ निर्मल छ प्यारो स्वाभिमान

भाषा संस्कार बोक्छु म त चारै किल्ला छेक्छु
रङ्गीचङ्गी फूल फुल्या यही देशमा देख्छु
फुले फुलोस् झरे झरोस् यही मेरो ज्यान
कंचन छ निर्मल छ प्यारो स्वाभिमान