Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Sunday, October 31, 2010

छिरिबुङ

-नाकिमा
मेरो जीवनको मुहान
मेरो सपनाको बिहान
ओ छिरिबुङ !

घाउ थियो मनमा, जो बल्झिरहन्थ्यो
जीवन थियो भीरमा, त्यो अल्झिरहन्थ्यो
मुटुको टुक्रा मान्थ्यौ
जिउने आधार ठान्थ्यौ
ओ छिरिबुङ !

खालि रहेछ जन्म, जीवन भरिदियौ
फूल त रहेछ जीवन, आखिर झरिदियौ
तिम्रो स्नेहले डोर्याइरहेछ
तिम्रो बास्नाले पछ्याइरहेछ
ओ छिरिबुङ !

*सुनाखरी फूल

Monday, July 26, 2010

छङ्छङ् बग्ने पानी

मन्जु मार्मिका
झरझर गर्ने झरनासँगै छङ्छङ् बग्ने पानी
सङ्घर्षमा सानो-ठूलो हुँदै बग्ने बानी

डाँडापारि फुल्यो फूल फूलैमा रस बस्यो
जानुपर्ने टाढा अझै पुलैमा दश बज्यो
दोधारमा नबसौँ है चाँडै बढौँ हामी
झरझर गर्ने झरनासँगै छङ्छङ् बग्ने पानी

सयौँ दिन रात गरी वर्षाँै बित्दै जान्छन्
कैले औँसी कैले पूर्णिमाको रात बनी बित्छन्
राख्नु पर्ने सुमार्गमा हिँडी राख्ने बानी
झरझर गर्ने झरनासँगै छङ्छङ् बग्ने पानी

Wednesday, June 23, 2010

मजदुर गीत

संगीतः राम लामा
स्वरः प्रलाप राई र रोशना रश्मी
साथमा सुधा किरात र राम लामा ।
.........................................................

यो देशको निर्माण गर्ने
हामी मजदुर हौं
विकासको मूल फुटाउने
हामी मजदुर हौं
देशकै लागि यो जीवन दिने
हामी मजदुर हौं

दुनियालाई बदल्न सक्ने
हामीमा तागत छ
मरेर पनि बाँचिरहने
शहिदको रगत छ
हामी आफ्नै श्रम र सीपले
यो धर्ती िसंगार्छौं
पसिनाले िसंचेर माटो
अमूल्य बनाउँछौं

कसैको दासी बन्दैनौं हामी
अन्याय सहन्नौं
पौरखले बाँच्छौं कसैको सामु
कहिल्यै झुक्दैनौं
सुस्ताएर बस्दैनौं हामी
शिखरमा पुग्नु छ
आफ्नो अधिकार लिनलाई अब
एक भई जुट्नु छ ॥

Tuesday, May 11, 2010

भरियाको जीवन

- किशोर चाम्लिङ
बगरको प्यासमा पनि पाइएन पानी पिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

उकाली र ओरालीमा पसिनाको खेती
आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति
इज्जतको भोटो हजुर सकिएन सिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

कहिले लेक चढ्दा त कहिले बेंसी झर्दा
सुनसान जंगलभित्र एक्लै बास पर्दा
थोरै पनि सुखको सास सकिएन फेर्न
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

Wednesday, March 31, 2010

जाली तिलहरीहरु

- विशद
उड्न देऊ दिदी मनभित्रका चरीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु

फरियामा आँशु पोखी
धमिलिन्छ्यौ किन ?
सिन्दुरमा जीवन जोखी
बालि दिन्छ्यौ किन ?
जन्माऊ न फेरि आकाश छुने परीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु

दैलोमै जून टेक्छिन्
आवाज त देऊ
सँगसँगै धर्ती फुल्छिन्
कहाँ लाचार छ्यौ
घेर बादल फेर आकाश ए ! नवनारीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु

Sunday, March 21, 2010

सलाम छ

- गजेन्द्र 'टुहुरे'
सङ्घर्षको मैदानमा युद्व लड्नेलाई
सलाम छ उत्साहाले अघि बढ्नेलाई

प्रभातको किरणजस्तो विचार सम्मान छ
शाषकलाई ध्वस्तै पारौं अधिकार सम्मान छ
न्यायको निम्ति हजुर युद्व लड्नेलाई
सलाम छ उत्साहाले अघि बढ्नेलाई

दुःख-पीडाको बिसाउनीमा खिल संगाल्नू
लडिएला चुरेतिरै चोमोलुङमा अंगाल्नू
संसारलाई बदल्ने युद्व लड्नेलाई
सलाम छ उत्साहाले अघि बढ्नेलाई

Tuesday, February 16, 2010

लाल सलाम !

- मुना निश्चल
साँझपख फुल्नेलाई
बिहानी भै खुल्नेलाई
लाल सलाम !

काँडा अझै जिउँदै छ
फूलले आँसु पिउँदै छ
लड्दालड्दै झर्नेलाई
हितको लागि मर्नेलाई
लाल सलाम !

घाम अझै ला'छैन
अन्धकार गा'छैन
जूनको ज्योति चोर्नेलाई
अन्याय त्यो फोर्नेलाई
लाल सलाम !

Saturday, October 24, 2009

आमाको माया

-नाकिमा
हिउँ रहेछ पग्लिरहन्छ
नदी रहेछ बगिरहन्छ
आमाको माया

आफ्नै मनले धोका देओस्
वेदनाको पोका देओस्
आकार रहेछ बढिरहन्छ
आकाश रहेछ फैलिरहन्छ
आमाको माया

जति टाढा उति गाढा
फुलिदिन्छ बीच काँडा
यात्रा रहेछ लम्बिरहन्छ
यात्री रहेछ लम्किरहन्छ
आमाको माया

आगोमा नाचिदिने
मृत्युमा बाँचिदिने
मैन रहेछ जलिरहन्छ
दियो रहेछ बलिरहन्छ
आमाको माया

Saturday, October 17, 2009

नागासाकी फुल्यो

-विशद
धर्ती फेरी फुल्ने गरी नागासाकी फुल्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो

मस्तिष्कमा राज गर्न खोज्नेहरु
हेरकालगति आफ्नो आफै रोज्नेहरु
हेरबन्दुकको गोली फेरी तिम्रोतिर चल्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो
अणुबम बेचिकन शान्ति सन्देश छर्छौ
सुरजको प्रकाशलाई हत्केलामा भर्छौ

हिजो बोल्न नसक्नेले आज युद्ध लड्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो
तिम्रै जन तिम्रै निम्ति भारी पर्ने भए
सत्ता तिम्रो गिराउन मरी मेट्ने भए

तिम्ले आफ्ना ठान्ने पनि सत्यतिर झर्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो
धर्ती फेरी फुल्ने गरी हिरोशिमा फुल्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो