Monday, August 30, 2010

बिहान सुरक्षित छ

 
आमा त्यो तिम्रो चिहान सुरक्षित छ
जन्माएको तिमीले बिहान सुरक्षित छ

भाषा बोल्न सिकायौ, लिपि लेख्न सिकायौ
नगर्नू है शङ्का पहिचान सुरक्षित छ

मेटिदैन त्यो रगतले लेखेको इतिहास
परेली नभिजाउनू बलिदान सुरक्षित छ

कसले भन्न सक्छ- मरिसक्यौ तिमी
जब कि तिम्रो निशान सुरक्षित छ

Saturday, August 28, 2010

सिर्जना सागरको २३ औं अंक सम्पन्न, आउदो शनिवार प्रभासको बृहत गजल अन्तरकि्रया हुने

१२ भाद्र । सिर्जनाका माध्यमबाट समाजलाई परिवर्तन गर्ने उद्देश्यानुरुप www.salambihani.com र अखिल नेपाल लेखक संघ, ललितपुरको संयुक्त आयोजनामा नमूना मछिन्द्र उ.मा.वि., लगनखेलमा सिर्जना सागरको २३ औँ श्रृखला सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित स्रष्टाहरुले आफ्ना सिर्जनाहरु प्रस्तुत गरेका थिए । अखिल नेपाल लेखक संघ ललितपुरका अध्यक्ष केशव सिलवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन कवि यल्जी विवशले गर्नुभएको थियो ।  कार्यक्रममा १७ जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको थियो ।

आउदो शनिवार प्रभास-गजल विभागको संयोजकत्वमा वार्षिक गजल अन्तरकि्रया 'शेर शल्यकृया-२' सम्पन्न हुदैछ । उक्त कार्यक्रममा प्रभास-केन्द्रका साथै प्रभास-बाँके, प्रभास-उदयपुरका प्रतिनिधि र प्रभासका साधारण सदस्यहरुको उपस्थिति रहनेछ ।

Monday, August 23, 2010

अमेरिका

-विष्णु नेम्वाङ् सुब्बा
एउटै
आहारा हो
दुबै
कौवा र बकुल्लाको
केवल
फरक त हो रङ्गमा
त्यसैले
महोदय
जर्ज डब्लु बुस सेतो
बाराक हुसेन ओबामा कालो
केवल
फरक यति न हो ।

कविता वाचन तथा अन्तरक्रिया सम्पन्न

५ भाद्र । नियमित कार्यक्रम अन्तरगत प्रभास साहित्यिक समूह, कविता विभागको संयोजनमा सदस्यहरु नाकिमा,  नदीश, दृश्य,  विशद र रमेश स्वप्नीलको उपस्थितिमा ललितपुर, नख्खिपोटस्थित क्रियटिभ कम्प्युटर सोलुसनको कार्यालयमा "कविता वाचन तथा अन्तरक्रिया" को भाद्र (०६७) शृङ्खला सम्पन्न भएको छ । उक्त कार्यक्रममा सबै सहभागीले आफ्ना रचना वाचनका साथै एकअर्काका रचनामाथी रचनात्मक टिप्पणी राखेका थिए । आगामी शनिबार लगनखेलमा 'सिर्जना सागर' को तेइसौं श्रृङ्खला सम्पन्न हुँदैछ ।

Monday, August 16, 2010

ऐतिहासिक सरकार

नदीश 
एक चिम्टी आयतित गिदी
एक हुल निर्यातित सपना
एक दस्ता यन्त्रमानव
एक क्षेत्र संचालित निवास
एक थान थोत्रो कुर्सी
एक क्यान्टोन्मेन्ट आक्रोश
एक पाना रित्तो संविधान
एक दरबार चलखेल
एक कन्टेनर राजनीति
एक गण बलत्कारी बन्दुक
एक लस्कर रसायनिक बुद्धिजीवी
एक काराघर बन्दी संभावना
एक भवन डेट एक्स्पायर्ड प्रतिनिधि
एक झुण्ड नालायक नेतृत्व
साँच्चै म सहमत छु तिमीहरुसँग
किनकि,
मलाई पनि निसन्देह भन्न मन लाग्छ
एक ऐतिहासिक सरकार ।

हाँस्न बोल्न

-सुवास आम्बोटेली

हाँस्न-बोल्न रोक छ
घेराबन्दी चोक छ

हेर्दा सुन्दर बाहिर
भित्र अर्को थोक छ

हल्ला मात्र समान
माथिबाटै तोक छ

जाजरकोटे दशै
खुसीभित्र शोक छ

बास्मतीको गफगाफ
कनिकाको भोक छ

शब्दशिखाको गजलविशेष नयाँ अङ्क


प्रभास साहित्यिक समूहको मासिक प्रकाशन शब्दशिखाको एघारौँ अङ्क प्रकाशित भएको छ । गजल विशेष यस अङ्कमा गजलसम्बन्धी नदीशको लेख, गजलसङ्ग्रह 'पलहरु'माथि विशदको टिप्पणी, कपिल अन्जान, राबत, जीवन चाम्लिङ, दिनेश डिसी, मुना निश्चल, सुवास आम्बोटेली, कोपिला थुलुङ आशुतोष, सकुन आँसु, अर्जुन बाराहाली, रमेश स्वप्निल, सम्झना भुजेल, नाकिमा, विपल बोयुङ, मञ्जु मार्मिका, लक्ष्मी अनुपम, विमला केयरलेस(चाम्लिङ भाषा), रिविन्द्र दिखुक्पा बाखाछा(वान्तावा भाषा)का गजल र नियमित स्तम्भहरु समाचारमा साहित्य र पुस्तक परिचयलगायतका सामग्रीहरु समाविष्ट छन् ।

Sunday, August 15, 2010

गद्य विशेष अन्तरक्रिया सम्पन्न

२९ श्रावण: ललितपुर, नख्खिपोटस्थित क्रियटिभ कम्प्युटर सोलुसनको कार्यालयमा प्रभास-केन्द्रको दोस्रो गद्य विशेष अन्तरक्रिया सम्पन्न भएको छ | नाकिमाले सञ्चालन गर्नुभएको उक्त अन्तरक्रियामा मञ्जु मार्मिकाले संवाद, नदीशले गजलसम्बन्धि लेख, विशदले लघुकथा, नाकिमाले पारिजात सम्बन्धि आलेख वाचन गर्नुभएको थियो | तारा थुलुङ 'अथाह'ले भने मुक्तक सुनाउनुभएको थियो | सबैजनाले वाचित रचनाबारे आफ्नो टिप्पणी पनि प्रस्तुत गरेका थिए | कार्यक्रमको अन्तमा समूहका विविध
विषयमा छलफल भएको थियो | आगामी शनिवार कविता अन्तरक्रिया सम्पन्न हुदैछ |

Sunday, August 8, 2010

पारिजात

-रश्मिला कवाङ 'रश्मि'
शिरीषको फूल जस्तै कोमलता छर्ने पारिजात
आत्म-विश्वास राखिकन भावसागर तर्ने पारिजात

नेपाली साहित्यकाशमा चम्के धेरै तारागण
नारी वर्ग उत्थानमा अग्रपङ्ती पर्ने पारिजात

मैले नजन्माएको छोरो जन्माएर समाजमा
पारिजात फूलजस्तै समर्पणमा झर्ने पारिजात
रोगले ग्रस्त जीवन बोकी बढिरहिन् सदा
संसारलाई दृढताको पाठ मनमा भर्ने पारिजात

सङ्घर्षको टुसा रोपी चुनौतिमा रमिरहिन्
मनका अकाङ्क्षा कष्ट सही पूर्ण गर्ने पारिजात

Tuesday, August 3, 2010

उठौँ अब सबै हामी

मुना निश्चल
ऊ म तिमी ए उठौँ अब सबै हामी
भइकन यी राष्ट्रघातीहरुको मलामी

देश व्यापार भो कोही बेच्छन् कोही किन्छन्
असह्य भो कालाबजारीहरुको खिचातानी

बाँच्दैन कोही बाँच्दैन अब पशु सरह बनी
गरी-गरी यी गरिबमाराहरुको गुलामी

एकाएक उठौँ एकपटक बस एकपटक
बनिकन बैरीहरुलाई अन्तिम सुनामी

गीत अन्तरक्रिया सम्पन्न

मिति २०६७-साउन-१५ गते शनिबार प्रभास साहित्यिक समूह अन्तर्गत गीत विभागको आयोजनामा गीत वाचन र अन्तरक्रिया सम्पन्न भयो । सलामबिहानी डट कम, प्रभास सदस्य फारम, आर्थिक, गजल अन्तरक्रियाको विषयमा सामान्य छलफलकासाथ टुङ्गिएको उक्त बसाइमा नाकिमा, नदीश,  मञ्जु मार्मिका, तारा थुलुङ 'अथाह' को उपस्थिति थियो