Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Sunday, September 12, 2010

मेरी दिदी

विशद 
 मेरी दिदी
आफ्ना दुब्ला-चेप्टा हातका औलाहरु खेलाएर
निकै लामो

नाइल नदिजस्तै लामो
एउटा चुल्ठो बाट्थीन
र चुल्ठोको टुप्पोमा कस्ने गर्थीन
एकहाते सेतो रिबन ।


उनी बगरका वालुवामा लुट्पुटिएर
घण्टौसम्म गँगटासँग
डराउने गरेका ती दिनमा
म रुखको फेदमा बस्थे
र द्रौपतिको चिरहरण सम्झेर तस्रन्थे
उनी जङ्गलमा दिनभर दाउरा खोज्दै
हिड्ने गरेका ती दिनमा
म यता कक्षाकोठामा टोलाउथे
र सिताअपहरणको कथा पढेर झस्कन्थे
उनी गँगटाले टोकेपछि
थोरै सेतो रगत वाक्थीन
उनी वन-काँडाले डसेपिछ
केहिक्षण घुक्क-घुक्क रुन्थीन
उनको त्यो रुवाई
त्यो पिडा
थोरै-थोरै गरी जमेर
एउटा लामो चुल्ठो बनेको थियो
जसको टुप्पोमा उनले
जबर्जस्ती कसेकि थिइन
एकहाते सेतो रिबन ।

उनी चिच्याउन त चिच्याउथीन
तर हसियालाई उनले दाउरा काटेरै मात्र
भुत्ते बनाइन
काँडा ताछ्नुपर्छ भन्ने बुझिनन्
उनी कराउन त कराउथीन
तर नाङ्गा पैतालाले
गँगटाहरु कुल्चिनुपर्छ भन्ने जानिनन्
उनको त्यो चित्कार
त्यो क्रन्दन
बिस्तारै बढेर
एउटा लामो चुल्ठो बनेको थियो
जसको टुप्पोमा उनले
बलफ्जस्ती कसेकि थिइन
एकहाते सेतो रिबन ।

आज मैले
वर्षौपछि भेटे उनलाई
नख्खुजेलभित्र
उनले त्यो फोहोरी चुल्ठो काटेर
लाग्थ्यो कुनै सुन्दर सपनाको लागी
आफ्ना कपालहरुलाई स्वतन्त्र छाडेकी थिइन
र अब सदाका लागि
निधारमा कसेकि थिइन
एकहाते रातो रिबन

Monday, August 23, 2010

अमेरिका

-विष्णु नेम्वाङ् सुब्बा
एउटै
आहारा हो
दुबै
कौवा र बकुल्लाको
केवल
फरक त हो रङ्गमा
त्यसैले
महोदय
जर्ज डब्लु बुस सेतो
बाराक हुसेन ओबामा कालो
केवल
फरक यति न हो ।

Monday, August 16, 2010

ऐतिहासिक सरकार

नदीश 
एक चिम्टी आयतित गिदी
एक हुल निर्यातित सपना
एक दस्ता यन्त्रमानव
एक क्षेत्र संचालित निवास
एक थान थोत्रो कुर्सी
एक क्यान्टोन्मेन्ट आक्रोश
एक पाना रित्तो संविधान
एक दरबार चलखेल
एक कन्टेनर राजनीति
एक गण बलत्कारी बन्दुक
एक लस्कर रसायनिक बुद्धिजीवी
एक काराघर बन्दी संभावना
एक भवन डेट एक्स्पायर्ड प्रतिनिधि
एक झुण्ड नालायक नेतृत्व
साँच्चै म सहमत छु तिमीहरुसँग
किनकि,
मलाई पनि निसन्देह भन्न मन लाग्छ
एक ऐतिहासिक सरकार ।

Saturday, July 24, 2010

संवाद

-रमेश स्वप्नील

आमा !
त्यो भयंकर
त्यो डरलाग्दो
कालो बादल
किन हट्दैन ?
किन छेकिदिन्छ त्यसले
उज्यालो किरणहरु ?

छोरा !
सायद बादललाई
उज्यालो मन पर्दैन

उज्यालो भएको धर्ति पनि ।

Monday, July 5, 2010

जनताको संविधान

ध्रुवसत्य
 
म मेरो अजातशत्रुको अनुहार हेर्न आतुर छु ।

 
बाहिर मेरो न्वारान गर्नेहरुको नियत बुझिनसक्नु छ
जसले जस्तो व्याख्या गरे पिन
म जनताको संविधान हुँ
म गर्भमा छु
र मेरो अजातशत्रुलाई चिन्ता छ
कि म जन्मेपिछ
सारा शत्रुलाई सखाप पार्ने छु ।

 
कल्पित चिन्तामा बाँचेको ओ मेरो अजातशत्रु-
जब म सहिदले आर्जेको माटोमा टेक्ने छु
तब म सम्यक् दृष्टिले दुनियालाई देख्ने छु ।

 
यो माटोमा म जन्मेपछि
जो कोही जो कसैको मतियार हुनेछ
कि आत्म-निर्णयको अधिकार हुनेछ
‘जसको जोत् उसैको पोत’ हुनेछ
मालिक को हो-मजदुर को हो
इतिहासको खोज हुनेछ
तर तर म फेिर
मेरो अजातशत्रुलाई खोज्ने छैन
त्यो अजातशत्रू
जो म गर्भमा रहेका बेला पिन
मेरी आमालाई बलात्कार गरिरहन्छ ।

 
म समयको गर्भमा जन्मीसकेको छु
यसैले
मलाई कसैले तुहाउन सक्ने छैन
म हजारौं सहिदको सपना हुँ
त्यसैले
म जन्मेर जसको अनुहारमा हेर्ने छु
ऊ मेरो शत्रु रहने छैन ।

 
म मेरो अजातशत्रुको अनुहार हेर्न आतुर छु ।

 

Thursday, June 17, 2010

सहरमा नयाँ छायाँ


नाघेर सयौँ
दुःखका डाँडाहरु
तरेर हजारौँ
आँसुका नदीहरु
काटेर लाखौं
धैर्यताका घुम्तीहरु
सपनाको चोमोलुङमा बोकेर
एउटा नयाँ छायाँ
सुदूर गाउँबाट
भर्खरै आइपुगेको छ
कल्पनाको यो सहर

टेकेको छ यहाँ उसले
आफ्नो पहिलो पाइला
तर
बाँकी नै छ उसले चिन्न
यो सेतो सहरलाई

यसको छातीमा परेड खेलिरहेका
यी अभ्यस्त काला छायाँहरुलाई ।

Tuesday, June 8, 2010

कविको मृत्यु

- नदीश
एकाविहानै, मुर्दा शहरको एक कुनामा
भेटिए सयौँ बेवारिसे लासहरु
मेरा निसास्सिएका आदिम सपनाहरु
हिँजै मरिसकेछन्

शदियौँदेखि जून उदाएकै हो आकाशमा
उदाइरहेछ आज पनि
र पक्कै उदाउनेछ भोलि

आगनभरि छरिएको जूनभित्र
आशाको खेती गर्थे कविहरु
रापिन्थे उनीहरु दिनभरिको चर्को घाममा
र हरेक साँझ
शीतलताको अघाउँजी बयान गर्थे

आज छरिएको छैन जून
कुनै पनि कविको आगनमा
मानौँ
यतिखेरको जून
विद्रोह गरिरहेछ कविसँग

एकाविहानै मुर्दा शहरको एक कुनामा
भेटिए सयौँ बेवारिसे लासहरु

बेखबर छ शहर !

आशाको खेती गर्ने एक हुल कविहरु
हिँजै मारिएछन्

Thursday, June 3, 2010

यसरी उठने थिइन आमा

- मंजु मार्मिका
पहिले मलाई खुकुरीको धार बनाइयो
हिजो सम्म उध्याउने गरिन्थ्यो
आज कजिएकी छु
यहाँ भन्दा बढी उध्याउन पर्दैन
साँध लगाउन पर्दैन मलाई

कहिले मलाई हँसिया बनाइयो
र धान काट्न घाँस काट्न प्रयोग गरिन्थ्यो
कहिले खुकुरी बनाएर
साँध लगाइन्थ्यो र फत्ते गरिन्थ्यो
गर्न हुने र नहुनेकामहरु
कहिले खुकुरी कहिले हँसिया बन्नुको पिडाले
आज म बल्झिएकी छु

कि त मलाई खुकुरीको धार बन्न दिइयोस
कि त हँसियाको दाँत बन्न दिइयोस
र मेरै काममा लगाइयोस

हो डराउनु पर्दैन म जे भएपनि
मेरा धार या दाँत जे भएपनि
मैले देखेकै छु
मलाई बल्झाउनेहरु
यहीँ कतै लुकेर झुकेका छन्

हिजो मलाइ गोरुजस्तै बनाएर खेतमा
नजोताइएको भए
अगुवा बनाएर खुट्टा
नतानिदिएको भए
मेसिनका पुर्जा बनाएर
परिचालन नगरिएको भए
आज पनि मलाइ मेरै काममा
लगाइएको भए
म यसरी उठने थिइन आमा !

मंसिरको चाडवाड सम्झेर
असारको हिलो छिचोल्दै
जोतेका खेतबारीमा
बेलैमा कमाइ लगाउन पाएको भए
हावा हुरीको प्रवाह नगरी भदौमै बाली
मौलाउन पाएको भए
त्यहीँ कमाइमा रम्थे होला ।
त्यसमै मेरो चित्त बुझ्थ्यो होला ।

म यसरी उठने थिइन आमा !
अहिले म यसरी उठने थिइन ।

Friday, May 28, 2010

चम्किला मानवहरु

- विष्णु नेम्वाङ सुब्बा
लखन थापा
जन्म - १८९१
मृत्यु - १९३३

गंगालाल श्रेष्ठ
जन्म - १९७५
मृत्यु - १९९७

कृष्ण सेन इच्छुकु
जन्म - २०१३
मृत्यु - २०५९

र अझै
थुप्रै युगमानवहरु
जो
मरेर पनि
पटक-पटक जन्मिरहेछन्

जन्म-मृत्यु
पकृतिकै अकाट्य नियम हो रे

अहँ
कदापि मान्दिन म
यो झूटा नियम !

Saturday, May 22, 2010

सपना

- रमेश स्वप्निल
सपना
सपना नै हुन्छ
जबसम्म पूरा हुँदैन ।

डोकोमा दूध दुहुनेहरु
वा
आकाशमा खेती गर्नेहरु
कहिल्यै
सपनाको नजिक पुग्दैनन् ।

कुनै सपनाहरु
आगोको लप्काजस्ता
धारिला र तेजिला हुन्छन्

कुनै सपनाहरु
साँझ नपर्दै झर्ने फूलजस्ता
कोमल र नरम हुन्छन् ।

किन-किन
मलाई त
आगो बोकेको सपना नै मनपर्छ ।

हाम्रो सम्पूर्ण जिन्दगी
लगभग
एउटा सपना हो ।

Wednesday, May 19, 2010

सारस र हामी

-विशद
हवाईजहाज चढेर आउछन्
अथवा खतरा अंकित ट्रकभित्र
लुकेर पनि आउन सक्छन्
सारसहरु मित्र बनेर आउछन्
अथवा गुपचुप रुपमा
जासुस बनेर पनि आउन सक्छन्
र पनि हामी बुद्धुहरु
सधै जपिरहन्छौं
'अतिथी देवो भवः'
थुक्कः हामीहरु !

सारसका पंजाहरुमा
यो देशको भत्किएको नक्सा देख्न पाइन्छ
सारसका ठुँडहरुमा
यो देशको छोटो आयु पढ्न पाइन्छ
र पनि हामी लाटाहरु
साट्छौं आफ्नो माटोको पुख्र्यौली कोट
सारसको भ्रमविद्याको नयाँ पुस्तकसित
थुक्कः हामीहरु !

सारसहरु निष्फिक्री छिर्छन्
सिँहदरबारभित्र
र आफ्ना उत्तराधिकारी छान्छन्
सारसहरु खुल्लमखुल्ला पुग्छन्
सैन्य-पर्खालभित्र
र आफ्ना दासहरु बढाउछन्
र पनि हामी अन्धभक्तहरु
पुज्छौं सारसलाई
र नयाँ ईश्वर बनाउछौं
थुक्कः हामीहरु !

सारसका आदेशमा तेर्सिन्छन्
आफ्नै बन्दुक आफ्नै सगरमाथातिर
सारसका आदेशमा ठोकिन्छन्
आफ्नै मृत्युपत्रमा हस्ताक्षर
र पनि हामी अमानवहरु
बाँच्छौं सारसको पाउमुनी
मर्छौ सारसको पाउ परी
थुक्कः हामीहरु !

यो देश
यो शहर
यो समय
सारसको मुठ्ठीमा परेको छ
र सडकहरु निरन्तर उत्रीरहेछन् प्रतिरोधमा
र पनि हामी शहरका मान्छेहरु
अझै बनेका छैनौ
सडकझैं गतिशील
थुक्कः हामीहरु !

Thursday, May 6, 2010

बलत्कारी बन्दुकहरु

- नाकिमा
केही वर्षअघि
भैरवगणमा
चुसेर कैयौं राता फूलहरुलाई
पुरिदिए शिवपुरी जङ्गलमा
एक ब्यारेक बन्दुकहरुले

पोहोर साल
बेलबारीमा
एउटा आदिवासी फूललाई
किचिमिचि पारी निलिदिए
केही बन्दुकहरुले

यो पटक
सुर्खेतमा
तीन बोट दलित फूलहरुलाई
दलदाल गरी चुँडाई फालिदिएका छन्
फेरि बन्दुकहरुले

कसरी हुनसक्छन् फूलहरु सिकारी ?
किन ख्वाइरहनुभएको छ भात
ती बलत्कारी बन्दुकहरुलाई ?
बेचिसक्नुभो तपाइँले आफ्नो मुटु ?
प्रश्नमाथि प्रश्न गरिरहेछन्
पत्रकारका आँखाहरु

निरुत्तर हुनुहुन्छ
रक्षामन्त्रीज्यू

Wednesday, April 21, 2010

हामीसँगै छ हाम्रो इतिहास

- नदीश
तिमी भारतमा लुम्बिनी बनाऊ
खोज कोही सुद्धोधन र मायादेवी
गरिदेऊ विवाह
जन्मेला कुनै सन्तान
या त गराइदेऊ कृत्रिम गर्भाधान
जन्माइदेऊ कुनै पुत्र
र गरिदेऊ नामाकरण 'गौतम बुद्ध'
हामीलाई कुनै गुनासो छैन
बरु उल्टै सुनाइदिउँला विश्वलाई
हालसालै एउटा अर्को गौतम बुद्ध
भारतमा पनि जन्मिएको छ

तिमी चीनमा सोलुखुम्बु बनाऊ
बनाऊ एउटा राष्ट्रिय निकुन्ज
अनि ठड्याऊ एउटा अग्लो पहाड
छरिदेऊ त्यसमाथि कृत्रिम हिउँ
र चुनिदेऊ कुनै नाम
चोमोलोङ्गमा, माउन्ट एभरेष्ट या सगरमाथा
हामीलाई कुनै चिन्ता छैन
बरु उल्टै भनिदिउँला दुनियाँलाई
हालसालै एउटा अर्को सगरमाथा
चीनमा पनि ठडिएको छ

तिमी निस्फिक्र जन्माऊ तिम्रो गौतम बुद्ध
तिमी निश्चिन्त ठड्याऊ तिम्रो हिमाल
हामी गर्दैनौँ कुनै प्रतिकार
हामीलाई राम्रोसँग थाहा छ
हामीसँगै छ हाम्रो आफ्नो सगरमाथा
हामीसँगै छ हाम्रो आफ्नो लुम्बिनी
हामीसँगै छ हाम्रो आफ्नो इतिहास

Monday, April 19, 2010

ऊ पहाड र म शहर

- शकुन आँशु
उस्को दुखिरहने मन
म सँगै धड्किरहने मुटु
एकैसाथ पोको पारी
कागजी हस्ताक्षरहरुमा
बन्द गरी पवनपंक्षीलाई पठाइदिएछ
मेरो निवाससम्म

उसको आकस्मिक आगमनले
मेरा अपूर्णभैष लाग्ने जीवन
सार्थक तुल्याइदियो
तड्पिएकॊ मन शान्तभैष पाएँ
उस्को यथार्थ जीवन-मृत्यु
संगालेँ र बगाएँ
खुसीका विष्णुमतीहरु
उस्कै समिप बसेर

हिमालपारिको नागरीक ऊ
चौंरी र भेडीगोठ धाउने
काचनजङ्घा र टाकुरा छुने
ठन्डी-ठन्डी पहाडहरुमा
इमेल मोबाइल जाम हुन्छ
त्यसैले उस्ले आफ्ना आवाजहरु
पानामा रेकर्ड गराएर
स्नेह स्पर्श कोरी पठाएको छ

आधुनिक परिबेशको प्रेम
अस्पष्ट भाका थिएन
ऊ आधुनिक मान्छे
म आधुनिक मान्छे
इतिहासले सिकाएको छ
प्रेमिल मनहरुको एकात्मकता र बाहुल्यता

उसले पढेको
र मैले सुनेको
सान्सारिक प्रेमजोडीहरु
रोमियो-जुलियट
मुनामदन
लैला-मजुन र
मधुमालतिको कथा
तर
तर त्यस्ता एकादेशीय
र अलौलिक कथा भएनौँ हामी
हामी त स्वयम् हिमाल पहाड र धरती चिर्ने यथार्थताको
शास्वत अंकित छाप बन्यौँ
हिमाल छातिमा
पहाड काखमा
गगन आँखामा
नचाएर बाँचिरहेछ

हरेक ऋतुहरुमा परिवर्तन छैन
हरपल माघे जाडो
र पनि जाडो नभनिकन
भोक नभनिकन
नाङ्गो शरीर नचाएर
संघर्षै-संघर्षको पेरीफेरीमा रमाइरहन्छ ऊ

तिमी बहादुर छौ महान छौ
र धैर्यवान पनि छौ
तिम्रो मतको पर्याय हुँ म
तिम्रो निर्णयको भागीदारी हुँ म
भविश्यका सुनौला मार्गहरुमा
तिमी अगाडि छौ
भयङ्कर ग्रेटवालमाथि
तिमी उभिनेछौ
र विश्वको ताजमहल तिमीले ठड्याउनेछौ

मैले उसलाई
यसरी नै पठाएँ जवाफिला उपहारहरु
म सुसेल्छु उस्को निम्ति
ऊ बग्छ मेरो निम्ति
दुरसंचार र दुरभास बिनाको
हाम्रो आत्मिक प्रेम
पहाड र म शहर ।

Monday, April 12, 2010

घडी

- दृश्य
घुमीरहेछौ
घडीका तीन सुई
म मोटो
त्यसैले अडिक छु
जनताको हितमाफनफनी
तिमी मझैलो
कहिले यता-कहिले उता
नाचीरहन्छौ
प्याण्डुलम झै
उ साह्रै दुब्लो
बिचरा आफै असक्त छ
त्यसैले बुइ चढ्दै छ
मझैलाहरुको
उकुसमुकुस हुदै
निचोरीदै ।

हामी तीन
मान्न तीन
तीन
तीन एक भयौं
सबैले बुझे
मध्यदिन भयो
रातो लालीमा
माथी चढ्यो र
खुल्ला आकासहरुमा
बिस्कुन झै फिजीदै थ्यो त्यो ।

फेरी
तीन एक भयौं
सबै मस्त सुतिरहे
मध्यरात भयो
तिमीहरु
बिस्तारै सल्बलायौ
घँटिहरुमा एन्टीना झुन्डाउँदै
बिस्तारै पस्यौ
आफ्नै खाटमनीका
अन्धकार गुफाहरुमा
राष्द्रवादी मुकुट टल्काउँदै
आफ्नै ह्रदयभित्रको
धड्कनहरु चोर्नलाई

फेरी घुम्दै
तीन एक भयौं
तिमीहरु मस्त सुतिरहयौ
आकास कालाम्य भयो
राष्ट साघुरीदै आयो
म मसाल बालेर
तिम्रा मसिेतष्क भित्रका
अन्धकार चिर्दै
एन्टीनाहरु जलाउँदै आएँ
अब आकास
एक्काएक चम्किदै छ
राष्द्र दशगजातीर फैलिदै छ ।

Monday, April 5, 2010

एकहुल मान्छेहरु

- भुमरी
मेरा मतलबी आँखा अगािड
एउटा शाश्वत पहाड
जर्जर उकालो बोकेर ठिङ्ग उभिरहेछ
एकहुल मान्छे ढाकर र तोक्मालाई
बेसमारी उकालो धकेलीरहेछन्
थाप्लोको शितहरुले निथ्रुक्क भिज्दै
उकालोसँग निरन्तर भिडिरहेछन्
कदम-कदममा साहस फैलाउँदै
यात्री बनिरहेछन्÷सहयात्री बनिरहेछन्
गन्तव्यलाई पहिलाउँदै
परीलक्ष्य भेटाउन
प्यासी बनेर
हत्तार हत्तार गर्दैछन्
एकहुल मान्छे ।

हाँस्छन्रुन्छन्÷रुन्छन् हाँस्छन्
घरी मौन घरी चर्किन्छन्
चेतन अवचेतन दुई तन बोकेर
मुटुभरि कष्ट तौलदै
नवबिहानीको सु-सङ्केत
पाइला-पाइला अगाडि सार्छन्
आगोसँग मस्त जुवारी खेल्दै
प्राकृत तरङ्ग छरिरहेछन्
बिहानी भेटाउन
आतुर-आतुर छन्
एकहुल मान्छे
मेरा आँखाले नियालिरहेछ
मान्छेभित्रको म मान्छे
यथार्थताको कच्ची धरती टेकेर
उनीहरु पहाडका टाकुराहरु
धमाधम छिनाल्दैछन्
हतारहतारमा खाल्डाहरु पुर्दैछन्
एउटा नयाँ बस्ती बसाली
एकैसाथ घाम झुल्काउन
उछिनपाछिन गर्दैछन्
एकहुल मान्छे ।

Sunday, April 4, 2010

पागल परिवेश

- जीवन चाम्लिङ
आँधीले युद्ध गरेको
परिवर्तनको यो समय पर्खालभित्र
त्यो शहरमा
त्यो गाउँमा
त्यो बस्तीमा
त्यो ह्दयहरुमा
झरनाको मीठो सुसेली जस्तै
काचन हुनुपर्छ विचार र आकांक्षाहरु
पाखाहरुमा फुल्ने लालीगुराँस र
एकलासको सुनाखरीभैष
प्रसन्न हुनुपर्छ
प्रत्येक त्यो रक्तिम बिहानीहरु
तर
सभ्यताको यो युगमा
घाइते संसारभैष
मान्छेको शब्द बेचेर
सत्य मान्छे हुन नसक्दा
बलात्कृत चेलीको
अस्मितामाथि नपरी सहवास गर्दै
राष्ट्रियतालाई जोर लात मार्नमै
खुसी हुन्छन् मान्छेहरु ।

इतिहासले कोल्टे फेरेर
परिबर्तनको अन्तरालमा
मान्छेले पुर्खाको बिडा थाम्नु पर्ने
इतिहासको गाथा बोक्नु पर्ने
बिडम्बना मान्छे मान्छे हुनुको अर्थ बिसर्िएर
किरातीको रितमा जाँड पिएर
बौलाएको जड्याहा जस्तो
कतै सन्तान लुटिएकी आमा जस्तो
खालि बौलाइरहन्छन् मान्छेहरु
यही समयको सन्नटालाई चिरेर
एकलास मध्यरातमा
अँध्यारो युगीन
यी सडकहरुमा
यी गल्लिहरुमा
यी चिहान चौतारीहरुमा
मध्य थकानलाई थाती राखेर
खोजीरहेछ अर्थ पागलपनको ।

Monday, March 22, 2010

इनार

- ध्रुवसत्य
इनारलाई के थाहा
कुनै मुर्ख सिँहले
आफ्नै प्रतिबिम्बको हत्या गर्ने हठ लियो
अथवा आत्माहत्या गर्ने

इनारमा
सिँहले सिँहलाई नै देख्छ त
मान्छेले आफूलाई मान्छेनै देख्छ

र कुनै पनि कथित दलित
इनारको छेउ पुग्यो भने
उसले आफूलाई मान्छेनै देख्नेछ

जोसुकैले जन्मभूमिमा इनार खन्न सक्छ
इनारमा आफ्नो मौलिक अनुहार हेर्ने अधिकार
सबैलाई भएजस्तो
यो सरकारलाई पनि छ

बाहिरी बनावट जस्तो छ
त्येस्तै प्रतिबिम्ब देखिन्छ
यो इनारमा

हो, इनारमा
कहिल्यै पनि टोपी लागाएको मान्छेले
श्रीपेच लगाएको प्रतिबिम्ब देख्न सक्दैन ।

Tuesday, March 9, 2010

मेरा गाउँलेहरु

- मंजु मार्मिका
यहीँ छ जीवन
सँगै बेजोड बस्तीहरु
प्रकाशका निम्ति
ठाँउ खोजिरहेका शक्तिहरु ।

यो मेरै गाउँ हो
दन्केको छ भोकको ज्वाला
त्यै ज्वालामा पिल्सीरहका छन् पेटहरु
पाली रहेछन् गिट्ठा अनि भ्याकुरले जीवन
एक मुठ्ठी माटोको निम्ति
नाउँ खोजिरहेछन् छातीहरु ।

भालेको डाकमा उठ्छन्
मध्यरातमा भोकै सुतछन्
बाढीले बगाएको उर्वर भूमिलाई
छातीमा राखेर लमतन्न छन्
विदेशी ऋणको भारी बोकेर
यिनै बेतिथिको बेवास्ताका लागि
खोजिरहेछन् साथीहरु ।

यही छन् दुःख अभाव
अनि वेदनाका कथाहरु
कतै छन् परिवर्तनका मोहक दृश्यहरु
ब्वाँसाहरु अपाङ्गको बैशाखी
खोसेर सगरमाथा चढिरहेछन्
सम्भावनाका ढोकाहरु बन्द गर्दै
विरताको प्रदर्शन देखाईरहेछन्

तर
थाहा भइसकेको छ गाउँलेहरुलाई
चेलीहरु सीमापारिका
रेडलाइट एरियामा छन्
कान्छाहरुलाई मानव यन्त्र बनाइएको छ
पहाडी भित्ताहरुमा रोपिएका रक्तविजहरु
एकाएक समथर मैदान अनि सडकमा उमि्ररहेछन् ।

र त अन्तिम विकल्प खोजिरहेका छन्
विद्रोहको भाषामा
मेरा गाउँलेहरु र म पनि

Wednesday, February 17, 2010

मलाई हेर्ने आँट नगर

-ममिता मर्मस्पर्शी
मेरो बिहेको मौन-मौन आवाज सुन्दैछु
मलाई हेर्न आउँछ रे
सपना झलझली बुन्दैछु
गनी-गनी वरमाला उन्दैछु
कल्पनामा तिमीलाई नै चुन्दैछु
फाटेकोलाई पनि तुन्दैछु
त्यो वरमाला साँच्चै उन्दैछु
तर सुहाउँदैन तिमीलाई
मैले उनेको वरमाला
किन कि यो हातले घाँस काटेको छ
जुठोभाँडो गरेको छ
चरचरी फाटेको छ
त्यसैले……

यो हातले उनेको मनपर्दैन तिमीलाई
कृत्रिमता छैन यहाँ
फगत प्राकृतिक छ
मुहारमा धुलोको लाली घसेको छ
बिलकुलै हेर्दा पच्दैन तिमीलाई
यो कृत्रिमताको माहोलमा
सबैको दृष्टिकोण आवरणमा जान्छ
त्यसैले……

राम्रो लाग्छ सौन्दर्य
टलक्क झलक्क मनपर्छ
भित्रको विकारहरु आवरणले ढाकेको
ममा त्यस्तो केही छैन
त्यसैले मलाई हेर्ने आँट नगर ।