Tuesday, February 23, 2010

प्रिय मान्छे

- नाकिमा
सधै-सधैको लागि टाढा भएको छ प्रिय मान्छे
सम्झनामा मात्र अब रहको छ प्रिय मान्छे

खोसिएको खुसी खोज्ने सपना थियौ धेरैधेरै
सपना ती अधुरै छाडी गएको छ प्रिय मान्छे

पीरै-पीरको भारी बोक्थ्यो भोगाइको उकालीमा
लाखौं चोट जिन्दगीमा सहेको छ प्रिय मान्छे

एक्कासि आकाश रोयो, डाँडामाथि डुब्यो घाम
हुरीसँगै उतैतिर बहेको छ प्रिय मान्छे

'सुनौला ती सपनाहरु पूरा गरी छाड्नू छोरा'
जानेबेला यस्तो कुरा कहेको छ प्रिय मान्छे

Thursday, February 18, 2010

साँच्चै अब

- कोपिला थुलुङ 'आशुतोष'
साँच्चै अब नयाँ नेपाल देख्न पाइन्छ कि त
आफ्नो कुरा अब आफै लेख्न पाइन्छ कि त

साढेको जुधाई र बाछाको मिचाइमा
लागेको घाउलाई सेक्न पाइन्छ कि त

नाक बेग्लो हुने जात बेग्लो हुने यो
विभेदको पहाडलाई छेक्न पाइन्छ कि त

ओत लाग्ने छाना, पेट भर्ने खानासँगै
नयाँ घरको संघारमा टेक्न पाइन्छ कि त

उठौँ युवा

- तारा थुलुङ 'अथाह'
क्षितिजबाट चेतनालाई डाक्दै उठौँ युवा
देश निर्माणको बाटोतिर लाग्दै उठौँ युवा

प्रतिगामी, भ्रष्टाचारी सारा शक्ति, विकृतिलाई
निमिट्यान्न पार्ने लक्ष्य राख्दै उठौँ युवा

कति गह्रौँ जिम्मेवारी हेर हाम्रो काँधमाथि
हतारिदै, चटारिदै, जाग्दै उठौँ युवा

तुवाँलोको बस्तीभित्र खोज्नुपर्छ नेपाल आमा
घामसित नयाँ किरण माग्दै उठौँ युवा

नयाँ नेपाल बनाउने सपनालाई साकार पार्न
छातिभरि देशको चित्र छाप्दै उठौँ युवा

अझै पनि हाम्रा सामु 'अथाह' छन् बिघ्नवाधा
सबै नाघी चोमोलुङ्गा ताक्दै उठौँ युवा

अब सबै उठ्नुपर्छ

- सरिता राई
अँध्यारोमा जिउने नारी अब सबै उठ्नुपर्छ
घाँस काट्ने हातहरु एकसाथ जुट्नुपर्छ

हेपिएर थिचिएर यो समाजमा बस्छौ कति
एउटै माला बनाउन नारी दिमाग खुट्नुपर्छ

अरुको शिर उच्च राख्न नङग्रामात्र खियाउछौ किन
नन्द-भाउजू सासू-बुहारी एउटै थालमा चुठ्नुपर्छ

खाली हात खाली दिमाग परजिवी हुन्छौ किन
आफ्नो हात आफ्नै दिमाग बुद्धिपूर्वक जुट्नुपर्छ

क्रोक्राहरु हल्लाउदै घररुपी जेलमा किन
उज्यालोमा जिउनलाई अँध्यारो सब फुट्नुपर्छ

Wednesday, February 17, 2010

मलाई हेर्ने आँट नगर

-ममिता मर्मस्पर्शी
मेरो बिहेको मौन-मौन आवाज सुन्दैछु
मलाई हेर्न आउँछ रे
सपना झलझली बुन्दैछु
गनी-गनी वरमाला उन्दैछु
कल्पनामा तिमीलाई नै चुन्दैछु
फाटेकोलाई पनि तुन्दैछु
त्यो वरमाला साँच्चै उन्दैछु
तर सुहाउँदैन तिमीलाई
मैले उनेको वरमाला
किन कि यो हातले घाँस काटेको छ
जुठोभाँडो गरेको छ
चरचरी फाटेको छ
त्यसैले……

यो हातले उनेको मनपर्दैन तिमीलाई
कृत्रिमता छैन यहाँ
फगत प्राकृतिक छ
मुहारमा धुलोको लाली घसेको छ
बिलकुलै हेर्दा पच्दैन तिमीलाई
यो कृत्रिमताको माहोलमा
सबैको दृष्टिकोण आवरणमा जान्छ
त्यसैले……

राम्रो लाग्छ सौन्दर्य
टलक्क झलक्क मनपर्छ
भित्रको विकारहरु आवरणले ढाकेको
ममा त्यस्तो केही छैन
त्यसैले मलाई हेर्ने आँट नगर ।

गणतन्त्र

- सम्झना भुजेल
गाउँदेखि शहरसम्म झर्नुपर्छ गणतन्त्र
नेता, भरिया, किसानीमा पर्नुपर्छ गणतन्त्र

युवा पुस्ता यत्तिकै छ, जोस जाँगर भएकै छ
वृद्धदेखि युवासम्म सर्नुपर्छ गणतन्त्र

यात्रा लामो कठिन तर सफल हुनैपर्छ
बिचमा आउने सुनामीलाई तर्नुपर्छ गणतन्त्र

भावी पुस्ता आउने छ, नयाँ गीत गाउनेछ
ऐतिहासिक विउविजन छर्नुपर्छ गणतन्त्र

कति मन अमिलो छ, मनमा दाग बसेको छ
समायोजन गरी मनलाई भर्नुपर्छ गणतन्त्र

Tuesday, February 16, 2010

लाल सलाम !

- मुना निश्चल
साँझपख फुल्नेलाई
बिहानी भै खुल्नेलाई
लाल सलाम !

काँडा अझै जिउँदै छ
फूलले आँसु पिउँदै छ
लड्दालड्दै झर्नेलाई
हितको लागि मर्नेलाई
लाल सलाम !

घाम अझै ला'छैन
अन्धकार गा'छैन
जूनको ज्योति चोर्नेलाई
अन्याय त्यो फोर्नेलाई
लाल सलाम !

Friday, February 5, 2010

दाजै, साकेला नाचौं

- जीवन चाम्लिङ
क्षितिज पारिको
आदिवासी बस्तीबाट
हुलका हुल घामहरु उदाउँदैछन्
घरको मझेरीतिर प्रभातको उषाहरु
उहिलेदेखि सलबलाइरहेछन्
समयले वैशाखलाई काखी च्यापेर
जेठको उभौली लौरो टेकिरहेछ
आऊ दाजै हामी पनि यो समयको लौरो टेकौं
आऊ दाजै हामी साकेला नाचौं ।

सेतो हिउँको वस्त्र ओढेका
चोमोलुङ्माको काखबाट
असरल्ल रातो गण्डकीहरु
बगेको देखेर
कतै शान्तिको खोजीमा उडेका
प्र्रशात परेवाहरु
उडेका उड्यैछन्
देउरालीका धुपी निलगिरि र गुराँसहरु
अर्धरुवाइमा हाँस्दा-हाँस्दा थाकिसके
तिम्रो ब्यूँझाइएको सर्तमा म देखिरहेछु
घर आँगनमा दृष्टान्तमा नयाँ पवनहरु बगिरहेको
खै भुमिपूजाको खोजमा साल्पा र
चौदण्डीहरु दुख्न थालेको
त्यसैले त दाजै
सुक्नै लागेको समय ब्यूँझाउनुपर्छ
आऊ दाजै हात जोडेर
साकेला नाचौं ।

निष्कर्षतः
यतिबेला समयले
परिवर्तनको बिहान खोजिरहेको छ
पारुहाङ र सुम्निमाको कसम खाएर
हाम्रा अधिकारहर खोस्नेलाई
काली गण्डकी बन्दक राखेर
स्वार्थको तलाउमा छलाङ मार्न खोज्नेलाई
एक झोक्का तीर मार्नुपर्छ
सिमे-भूमेको बली चढाउनुपर्छ
यो माझकिरातको भूमिमा
धनुषकाडको झण्डा फहराउनुपर्छ
त्यसैले त दाजै
निशंकोच हात समाऔं
आऊ हामी साकेला नाचौं ।

Tuesday, February 2, 2010

गाउँ रोयो अरे

- विपल बोयुङ
झोला बोकी हिँड्दा म गाउँ रोयो अरे
जन्मिएर हुर्किएको ठाउँ रोयो अरे

गरिबीले डोर्याएर लादै थियो टाढा
नदी तर्दा धेरै चोटी नाउ रोयो अरे

नजिक आई एउटा खबर छाडी गयो कौवा
गाउँमा मेरो गुन्द्रुकको'नि भाउ रोयो अरे

पुस-माघको जाडो कठै शीत छल्नो छानो बिना
बच्चाहरुको विचल्लीमा माउ रोयो अरे

कयौं हिउँद काट्नु पर्दा एउटै फरियाले
मैले शिर झुकाएको पाउ रोयो अरे

फर्किनेछु बाँचे भने अर्को सालतिर
यस्तो चिठी पढ्दा हजुर वाउ रोयो अरे

रेल भयो देश

- अर्जुन बाराहाली

फोहोरी रणनीति र युद्धको खेल भयो देश
कागलाई झै जनतालाई पाकेको बेल भयो देश

सबै यहाँ स्वार्थी मात्र विकास भन्दा विवाद धेरै
विवादैविवादमा फसेको झेल भयो देश

कपडा झै फेरिए यहाँ वाद र तन्त्रहरु
जुन जोगी आएपनि उस्तै जेल भयो देश

गर्न भन्दा भन्न धेरै मंचबाट भाषण चर्को
शान्त समाज निर्माणमा फेल भयो देश

बन्द हड्ताल हत्या हिंसा नेपालमा जहिले
हाम्रा लागि बीचबाटोमा बिग्रेको रेल भयो देश ।

गणतन्त्र छैन

- हिरा प्रसाद दाहाल 'शीतलव'
गणतन्त्रको घाम उदाएको हेर्छु
तर पंचायती बादलभित्र अलमलिएको देख्छु
गणतन्त्र आएको अखबारमा पढ्छु
तर पंचायती व्यबहार मात्र देख्छु
ए ! साँच्चै
गणतन्त्र त आएको छ रे
हाम्रो नेपालमा
अनि यताउता हेर्छु
दायाँवायाँ छाम्छु
तर देख्दिन गणतन्त्र अनि भेट्दिन ।

गणतन्त्र छैन
नेपालमा गणतन्त्रको आभास
म त आफै नेपालमा तुच्छो पंचायत नै देख्छु
केही बाघ विराला बनेको देख्छु
तर कैयौ धमिराका पखेटा पलाएर
छिचिमिरा बनेर म उडेको देख्छु
अनि
ती बिरालाहरु दुध खाएर सुतेको म देख्छु
अझ ती छिचिमिराहरु उडेर डिस्को र रेष्टुराँमा
मातिरहेका र नाचिरहेको म देख्छु
तर गरिबले अलिनो सिस्नो पनि खान
नपाएको म देख्छु
त्यसैले त म नेपालमा तुच्छो पंचायत नै देख्छु
ए !
घाम जस्ता युवा म त
तिमीहरुलाई गणतन्त्र देख्छु
तिम्रो शिरलाई म सगरमाथा देख्छु
तिम्रो छातीलाई समथर तराई देख्छु
तिम्रो ओठलाई म क्षितिज देख्छु
अनि तिम्रो आवाजमा म परिवर्तन देख्छु
तर
फेरि चुरोटका धुवाँले ध्वाँसा लागेको फोक्सो देख्छु
तिम्रो ओठबाट निस्केको चुरोटको धुवाँलाई
वर्षाकालमा क्षितिजबाट निस्किएको
वादलको मुस्लो झै लाग्छ ।

ए !
युवा म तिम्रो दैनिकी हेर्छु
मेरो आतमाको नयनबाट तिम्रो म एक्सरे गर्छु
चुरोटको धुवाँ अनि भट्टीको अल्कोहलले
तिम्रा कुहिएका आन्द्रा मात्र देख्छु
नब्बेलाख जनता बेरोजगारी देख्छु
बाँकी आधा अस्पतालका बेडमा देख्छु
भ्रष्टचारले सफल पर्वतारोहण गरेको देख्छु
हत्या र हिंसाले आर्शिवाद पाएको देख्छु
नेपालबन्दले आँशु जमकाएको देख्छु
फेसनको नाममा अर्धनग्न देख्छु
नृत्यको नाममा नग्न देख्छु
यहाँ त म विकृति र विसङ्गति मात्र देख्छु
त्यसैले त म यहाँ पंचायती गणतन्त्र देख्छु ।

गणतन्त्र छ तर गणतान्त्रिक व्यावहार छैन
नेता छन् नेतृत्व छैन
मानव छन तर मानवीयता छैन
व्यक्ति छन तर व्यक्तित्व छैन
अधिकार खोज्छन तर उत्तरदायित्व छैन
हत्या र हिंसा छ तर शान्ति छैन
दण्डहिनता छ तर कानुन छैन
इश्वरको बास छ तर आभास छैन
प्रकृति छ तर संरक्षण छैन ।

यस्तै छ यहाँ सोचे जस्तो छैन
त्यसैले त यहाँ पंचायत छ
तर गणतन्त्र छैन ।