Saturday, November 20, 2010

सूचना

प्रभास साहित्यिक समूहको नाम परिवर्तन भई अब उपरान्त समूहको नाम 'अलग अभियान' रहन गएको छ ।  समूह/अभियानको जानकारी लिन अबदेखि हाम्रो नयाँ ब्लग http://www.alagabhiyan.blogspot.com/ मा लगअन गर्नुहोला ।

Thursday, November 18, 2010

गजलको गरिमा

-नदीश

 

अहिले नेपालमा धेरैले लेख्ने विधा गजल, सबैभन्दा धेरै लेखिने विधा गजल र सबैभन्दा पछि परेको विधा पनि गजल । सङ्ख्यात्मक रुपमा हामी समृद्ध छौँ गजलमा, यो यथार्थ हो र गुणात्मक रुपमा हामी अत्यन्तै गरीब छौँ, गजलमा यो एउटा तीतो यथार्थ हो । आफ्ना भावनाहरु पोख्नु र त्यसलाई गजल भन्नु एउटा कुरा र साँच्चीकै गजल लेख्नु अर्को कुरा । 

सामान्यतया शेरहरुमा रदीफ र काफियाको समिश्रणलाई गजल भनिन्छ र यसको गलत व्याख्या गरिन्छ । अन्त्यानुप्रयास मिलाएकै भरमा यदि सुन्दर कविता निर्माण हुन सक्छ भने यो मान्यतालाई पनि सही भन्न सकिएला । हो पक्कै पनि रदीफ र काफिया गजलको आत्मा हो तर यसले मात्रै गजलको मर्मलाई पूरा गर्न सक्दैन । गजलका केही मापदण्डहरु छन् जुन गजलकारले पुरा गर्नु आवश्यक छ ।

संरचनात्मक स्वतन्त्रता अर्थगत अधीनता :

प्रत्येक मिसराहरु व्याकरणीय दृष्टिकोणबाट स्वतन्त्र हुनु जरुरी छ । नेपालका कैयन गजल हस्तीहरुपनि यो मान्यताबाट टाढै देखिन्छन् । एउटै वाक्यजस्ता लाग्ने शेरहरुले गजलको मान्यतालाई उल्लङ्घन गरिरहेको हुन्छ । शेरको माथिल्लो भाग (मिसरा ए उला) एउटा स्वतन्त्र वाक्यजस्तो सुनिनुपर्छ जसले केही कुरा मागिरहेको हुन्छ र त्यसलाई शेरको तल्लो भाग (मिसरा ए सानी)ले पूरा गरिदिनुपर्छ । संरचनात्मक दृष्टिकोणमा स्वतन्त्र वाक्यजस्तो तर अर्थगत रुपमा एक अर्काको अधीनमा हुने गजलको द्वन्द्वात्मक प्रकृतिलाई हामी संरचनात्मक स्वतन्त्रता अर्थगत अधीनता भन्छौँ ।

साङ्गीतिक चेतना वैचारिक गहनता :

गजल मुख्यतयः ग्येय विधा हो । गजल श्रृजनाको क्रममा गजलकारभित्र साङ्गीतिक चेतना हुनु जरुरी छ । कुनैपनि पाठकले पढ्दा शेरहरु बिनाअवरोध बग्नुसक्नुपर्छ । अफ्ठ्यारा शब्दहरुको प्रयोगले गजलमा अबरोध उत्पन्न गर्छ । गजलको पहिलो शेर जुन किसिमको साङ्गीतिक कल्पनाबाट लेखिएको छ त्यसलाई सम्पूर्ण शेरहरुमा निरन्तरता दिनुसक्नुपर्छ फलतः कुनै पनि शेरहरुमा शब्दहरुको कमी या बढी महसुस नहोस् । अर्को कुरा गजलले उठान गर्ने विषयबस्तु हल्का हुनु हुँदैन । सरल शब्दमा सरल विम्व र प्रतीकको प्रयोगबाट गहन अर्थ दिन सक्नुपर्छ गजलले र यो मानेमा गजल कवितासँग मिल्दोजुल्दो हुनुपर्छ ।

उपयुक्त रदीफ र काफियाको छनौट :

काफिया मिलाउने नाममा गजलकारले आफ्नै किसिमका बिनाअर्थका शब्दहरु श्रृजना गर्नु आफ्नै गजलको हत्या गर्नु हो । प्रयोग भइरहने तथा हल्का काफियाबाटपनि गजलकार मुक्त हुनुपर्छ । नयाँ रदीफ र काफियाको प्रयोगले गजलमा मीठासता ल्याउनुको साथै गजलमा नयाँपन आउँछ ।

यसको अलवा गजलले प्रेम प्रणयका कुराहरुलाई मात्रै समेट्नुपर्छ भन्ने रुढीबादी मान्यतालाईपनि तोड्नु आजको आवश्यकता हो । साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ र गजल साहित्यको एउटा महत्वपूर्ण अङ्ग हो । गजलमा खाली कोरा प्रेम-प्रणयका कुरा मात्र ओकल्नुभन्दा परिवर्तनका आवाजहरु पस्केर अझै सुन्दर र शक्तिशाली बनाउन आजैदेखि पाइला चाल्ने कि ?

Wednesday, November 17, 2010

सङ्घर्षका कथाहरु

-रमेश स्वप्निल
नलेख भन्छौ लेखिरहन्छौँ सङ्घर्षका कथाहरु
नचढ भन्छौ चढिरहन्छौँ राता सगरमाथाहरु

थाक्दैनौँ हामी यात्रामा लक्ष नभेटुन्जेल
नहिँड भन्छौ हिँडिरन्छौँ पन्छाउँदै बाधाहरु


छुट्दैनौँ एक-आपसमा गन्तव्य हो परिवर्तन
नजुट भन्छौ जुटिरहन्छौँ अनगिन्ति साथहरु


जेल-नेल हत्कडी तोडेर अघि-
अघि 
नबढ भन्छौ बढिरहन्छौँ बोकेर आस्थाहरु

Monday, November 8, 2010

गदार भयो शहरमा


अहो हेर कत्रो ठूलो हुँकार भयो शहरमा
चारै तिर बेइमानी धिकार छ यो शहरमा

दुर्गन्ध छ फोहोरको घमण्ड छ धनको
थुकी हिड्दा खकारै खकार भयो शहरमा

गाउँघरमा बास छैन धेरैलाई गाँस छैन
धेरै खाइ कसैलाई डकार भयो शहरमा

जीवनको भिख माग्न इश्वरको पुजा गर्छन
श्रमिकको श्रममाथि गदार भयो शहरमा

Saturday, November 6, 2010

रश्मि झुल्केका रातहरु प्रकाशित

सक्रिय युवा साहित्यकार तथा प्रभास साहित्यिक समूहकी साधारण सदस्य रश्मिला कवाङ `रश्मि`को पहिलो कृति `रश्मि झुल्केका रातहरु` (गजल सङ्ग्रह) प्रकाशित भएको छ । ९४ वटा गजलहरु समाविष्ट सो सङ्ग्रहको प्रकाशन पिता आसराम कवाङ र माता रामप्यारी कवाङले गरेका हुन् ।

सङ्ग्रहमा समाविष्ट अधिकांश गजलहरु उत्पीडित वर्ग, लिङ्ग, जाति र क्षेत्रको पक्षमा उभिएका छन् । सुदीप सुवालको अर्थपूर्ण आवरण र मिडिया प्लसको आकर्षक डिजाइनले सङ्ग्रहलाई थप ओजपूर्ण बनाएको छ ।

Sunday, October 31, 2010

छिरिबुङ

-नाकिमा
मेरो जीवनको मुहान
मेरो सपनाको बिहान
ओ छिरिबुङ !

घाउ थियो मनमा, जो बल्झिरहन्थ्यो
जीवन थियो भीरमा, त्यो अल्झिरहन्थ्यो
मुटुको टुक्रा मान्थ्यौ
जिउने आधार ठान्थ्यौ
ओ छिरिबुङ !

खालि रहेछ जन्म, जीवन भरिदियौ
फूल त रहेछ जीवन, आखिर झरिदियौ
तिम्रो स्नेहले डोर्याइरहेछ
तिम्रो बास्नाले पछ्याइरहेछ
ओ छिरिबुङ !

*सुनाखरी फूल

Tuesday, October 26, 2010

बैश बेचियों !

-सुवास आम्बोटेली
यो पल्ट, शहरमा बैश बेचियों
रहरै रहरमा बैश बेचियों

राराको कुवामा अन्जुली भरेर
खाडीको नहरमा बैश बेचियों

जीवनको मधुरस राखेर धितो
आश्चर्य ! जहरमा बैश बेचियों

जीन्दगी उतै छ,हाउगुजी हाउ
अल्लारे ठहरमा बैश बेचियों

यो पल्ट, शहरमा बैश बेचियों
रहरै रहरमा बैश बेचियों

Sunday, October 17, 2010

ज्यूँदैछु

नदीश
आवाज देऊ, ज्यूँदैछु बन्द कोठाभित्र
ढक्ढक्याऊ, ज्यूँदैछु बन्द कोठाभित्र

उज्यालोको आविष्कारमा निदाएछन् आँखा
झक्झक्याऊ, ज्यूँदैछु बन्द कोठाभित्र

छालाहरु उप्क्याइँदैमा लाश बन्दैन क्वै
सुम्सुम्याऊ, ज्यूँदैछु बन्द कोठाभित्र

आँधी यात्रा गर्नेहरु मर्याछैन कैलै
नसुर्ताऊ, ज्यूँदैछु बन्द कोठाभित्र

'नदीश'सँगै पर्खालभित्र कैद भा'छ समय
भत्काइदेऊ, ज्यूँदैछु बन्द कोठाभित्र

Friday, October 15, 2010

झरी पर्यो एकोहोरो

-प्रतिमा पाठक

झरी पर्यो एकोहोरो चुहिएको छाना हेर्छु
के-के कोर्यौ दैव मेरो जिन्दगीको पाना हेर्छु

सिस्नु छ तरकारीमा दाल कहाँ पाउनु हजुर
कराइमा तैरिएको सिन्कीको चाना हेर्छु

सिकसिकाउँदै आई छोरी धानै रोपी पराइको
बर्षौँदेखि पखालिएर रङ उडेको नाना हेर्छु

मेरी प्यारी जहानले मनभरिको प्रेम दिन्छे
भकारी त कैले भर्नु रित्तिएको माना हेर्छु

Monday, October 4, 2010

गीत अन्तरकि्रयासँगै छलफल

१६ असोजः खोटाङबाट आउनुभएका अग्रज संगीतकार भीमसेना राईको विशेष उपस्थितिमा प्रभास गीत विभागले ललितपुरमा नियमित गीत अन्तरकि्रया सम्पन्न गरेको छ । मंजु मार्मिका, नाकिमा, नदिश र विशदले आ-आफ्ना गीत पढेर सुनाएका थिए भने संगीतकार भीमसेना राईले आफ्ना सांगीतिक रचनाहरु गाउनुभएको थियो । उहाँको संगीत र वाचित रचनामाथि सबैले आ-आफ्नो धारणा राखेका थिए ।

प्रभासको पहिलो गजलसंग्रहको तयारीको लागी नदिशको संयोजकत्वमा विशद र तारा थुलुङ अथाह सदस्य रहने एउटा टिमको पनि घोषणा गरिएको थियो । साथै www.salambihani.com  र वार्षिक विशेष गीत अन्तरकि्रयाबारे पनि गम्भीर छलफल चलेको थियो ।

Friday, October 1, 2010

शब्दशिखामा सिर्जना सागर

प्रभास साहित्यिक समूहको मासिक प्रकाशन शब्दशिखाको सिर्जना सागर विशेष १२ औँ अङ्क प्रकाशित भएको छ । यस अङ्कमा सिर्जना सागरका नियमित सहभागीहरुको सिर्जनाहरुका साथै सिर्जना सागर सम्बन्धी सामग्रीहरु समेटिएका छन् ।

Monday, September 27, 2010

२४औँ शृङ्खलामा सिर्जना सागर

सिर्जना सागरको २४औँ शृङ्खला सम्पन्न भएको छ । सो शृङ्खलामा हरि बहादुर कर्माचार्य, शुभराज राई,असीम भुजेल, रुपेश सिलवाल, उदिम किराती, नवराज क्षितिज, नाकिमा, केशव सिलवाल, रविन श्रेष्ठ, देव अन्जान शाह, दृश्य र मुकुन्द प्रसाद दुलालले सिर्जना वाचन गरेका थिए । वाचित सिर्जनाहरुमाथि कवि स्वप्निल स्मृतिले टिप्पणी गर्नुभएको थियो ।

Sunday, September 26, 2010

भनेर गएथ्यो

कपिल अन्जान
क्रान्ति गर्छु भनेर गएथ्यो
एकदिन मर्छु भनेर गएथ्यो

हेर्नु दुःखको सागरबाट
तार्छु र तर्छु भनेर गएथ्यो

अँध्यारोमा बाँचेको धेरै भयो
उज्यालो छर्छु भनेर गएथ्यो

तिम्रो सपना पुरा गर्नुछ
एक्लै लड्छु भनेर गएथ्यो

फर्केन छोरो आजसम्म
नजिक पर्छु भनेर गएथ्यो

Sunday, September 12, 2010

मेरी दिदी

विशद 
 मेरी दिदी
आफ्ना दुब्ला-चेप्टा हातका औलाहरु खेलाएर
निकै लामो

नाइल नदिजस्तै लामो
एउटा चुल्ठो बाट्थीन
र चुल्ठोको टुप्पोमा कस्ने गर्थीन
एकहाते सेतो रिबन ।


उनी बगरका वालुवामा लुट्पुटिएर
घण्टौसम्म गँगटासँग
डराउने गरेका ती दिनमा
म रुखको फेदमा बस्थे
र द्रौपतिको चिरहरण सम्झेर तस्रन्थे
उनी जङ्गलमा दिनभर दाउरा खोज्दै
हिड्ने गरेका ती दिनमा
म यता कक्षाकोठामा टोलाउथे
र सिताअपहरणको कथा पढेर झस्कन्थे
उनी गँगटाले टोकेपछि
थोरै सेतो रगत वाक्थीन
उनी वन-काँडाले डसेपिछ
केहिक्षण घुक्क-घुक्क रुन्थीन
उनको त्यो रुवाई
त्यो पिडा
थोरै-थोरै गरी जमेर
एउटा लामो चुल्ठो बनेको थियो
जसको टुप्पोमा उनले
जबर्जस्ती कसेकि थिइन
एकहाते सेतो रिबन ।

उनी चिच्याउन त चिच्याउथीन
तर हसियालाई उनले दाउरा काटेरै मात्र
भुत्ते बनाइन
काँडा ताछ्नुपर्छ भन्ने बुझिनन्
उनी कराउन त कराउथीन
तर नाङ्गा पैतालाले
गँगटाहरु कुल्चिनुपर्छ भन्ने जानिनन्
उनको त्यो चित्कार
त्यो क्रन्दन
बिस्तारै बढेर
एउटा लामो चुल्ठो बनेको थियो
जसको टुप्पोमा उनले
बलफ्जस्ती कसेकि थिइन
एकहाते सेतो रिबन ।

आज मैले
वर्षौपछि भेटे उनलाई
नख्खुजेलभित्र
उनले त्यो फोहोरी चुल्ठो काटेर
लाग्थ्यो कुनै सुन्दर सपनाको लागी
आफ्ना कपालहरुलाई स्वतन्त्र छाडेकी थिइन
र अब सदाका लागि
निधारमा कसेकि थिइन
एकहाते रातो रिबन

Tuesday, September 7, 2010

हजुरको मुलुकमा

-उ‍दीम किराती


के थिएँ कस्तो भएँ हजुरको मुलुकमा
न त हजुर जस्तो भएँ हजुरको मुलुकमा

मुल्य नै छैन मेरो यी मान्छेको बजारमा
के कारण म सस्तो भएँ हजुरको मुलुकमा

कसैको कुरा सुनिन नुनको सोझो गरिन
बहुलाएपछि यस्तो भएँ हजुरको मुलुकमा

नाच्नै जानिन र आँगन टेढो भनेहुँला
गीतबिना पो उस्तो भएँ हजुरको मुलुकमा

Sunday, September 5, 2010

वार्षिक विशेष गजल अन्तरकि्रया (शेर शल्यकि्रया-२) सम्पन्न

१९ भाद्रः प्रभास-गजल विभागको संयोजकत्वमा वार्षिक विशेष गजल अन्तरकि्रया (शेर शल्यकि्रया-२) भव्यताका साथ सम्पन्न भएको छ । ललितपुर सातदोबाटोस्थित चोमोलुङ्मा प्रतिष्ठानको कार्यालयमा भएको सो कार्यक्रममा प्रभास-केन्द्रबाट नदीश, कपिल अन्जान, तारा थुलुङ 'अथाह’, नाकिमा, मंजु मार्मिका, दृश्य र विशद तथा प्रभासका साधारण सदस्यहरु रमेश स्वप्नील र रश्मिला कवाङ 'रश्मी’ को उपस्थिति थियो । त्यस्तै अतिथिको रुपमा उदिम किराती र रेणुका श्रेष्ठ सहभागी भएका थिए ।

कार्यक्रममा प्रत्यक स्रष्टाका गजलहरुमाथी सबै उपस्थित सदस्यहरुले गम्भीर रुपले आलोचनात्मक र रचनात्मक ढङ्गले आफ्ना धारणाहरु राखेका थिए । वर्गीय पक्षधरता, वैचारिक स्पष्टता, सांगीतिक छनकयुक्त लेखाई, संरचनात्मक पूर्णता, काफिया-रदिफमा कौशलता र प्रयोग इत्यादिलाई आधार मानेर सबैले आफ्ना टिप्पणी राखेका थिए ।

गजल विभाग संयोजक नदीश र सदस्य तारा थुलुङ 'अथाह’ ले पालैपालो संचालन गरेको सो कार्यक्रमको अन्तमा उदिम किरातीलाई साधारण सदस्यको रुपमा मनोनयन गरिएको थियो । उपस्थित सबै स्रष्टाहरुले गजलका विविध पक्षको चिरफार गर्न कार्यक्रम निकै सफल रहेको र कार्यक्रम समग्रमा निकै उपलब्धिमुलक भएको धारणा राखेका थिए ।

Monday, August 30, 2010

बिहान सुरक्षित छ

 
आमा त्यो तिम्रो चिहान सुरक्षित छ
जन्माएको तिमीले बिहान सुरक्षित छ

भाषा बोल्न सिकायौ, लिपि लेख्न सिकायौ
नगर्नू है शङ्का पहिचान सुरक्षित छ

मेटिदैन त्यो रगतले लेखेको इतिहास
परेली नभिजाउनू बलिदान सुरक्षित छ

कसले भन्न सक्छ- मरिसक्यौ तिमी
जब कि तिम्रो निशान सुरक्षित छ

Saturday, August 28, 2010

सिर्जना सागरको २३ औं अंक सम्पन्न, आउदो शनिवार प्रभासको बृहत गजल अन्तरकि्रया हुने

१२ भाद्र । सिर्जनाका माध्यमबाट समाजलाई परिवर्तन गर्ने उद्देश्यानुरुप www.salambihani.com र अखिल नेपाल लेखक संघ, ललितपुरको संयुक्त आयोजनामा नमूना मछिन्द्र उ.मा.वि., लगनखेलमा सिर्जना सागरको २३ औँ श्रृखला सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित स्रष्टाहरुले आफ्ना सिर्जनाहरु प्रस्तुत गरेका थिए । अखिल नेपाल लेखक संघ ललितपुरका अध्यक्ष केशव सिलवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन कवि यल्जी विवशले गर्नुभएको थियो ।  कार्यक्रममा १७ जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको थियो ।

आउदो शनिवार प्रभास-गजल विभागको संयोजकत्वमा वार्षिक गजल अन्तरकि्रया 'शेर शल्यकृया-२' सम्पन्न हुदैछ । उक्त कार्यक्रममा प्रभास-केन्द्रका साथै प्रभास-बाँके, प्रभास-उदयपुरका प्रतिनिधि र प्रभासका साधारण सदस्यहरुको उपस्थिति रहनेछ ।

Monday, August 23, 2010

अमेरिका

-विष्णु नेम्वाङ् सुब्बा
एउटै
आहारा हो
दुबै
कौवा र बकुल्लाको
केवल
फरक त हो रङ्गमा
त्यसैले
महोदय
जर्ज डब्लु बुस सेतो
बाराक हुसेन ओबामा कालो
केवल
फरक यति न हो ।

कविता वाचन तथा अन्तरक्रिया सम्पन्न

५ भाद्र । नियमित कार्यक्रम अन्तरगत प्रभास साहित्यिक समूह, कविता विभागको संयोजनमा सदस्यहरु नाकिमा,  नदीश, दृश्य,  विशद र रमेश स्वप्नीलको उपस्थितिमा ललितपुर, नख्खिपोटस्थित क्रियटिभ कम्प्युटर सोलुसनको कार्यालयमा "कविता वाचन तथा अन्तरक्रिया" को भाद्र (०६७) शृङ्खला सम्पन्न भएको छ । उक्त कार्यक्रममा सबै सहभागीले आफ्ना रचना वाचनका साथै एकअर्काका रचनामाथी रचनात्मक टिप्पणी राखेका थिए । आगामी शनिबार लगनखेलमा 'सिर्जना सागर' को तेइसौं श्रृङ्खला सम्पन्न हुँदैछ ।